शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वैशाखमा नै पोखरामा केबलकार चढ्ने तयारी हुँदै

वैशाखमा नै पोखरामा केबलकार चढ्ने तयारी हुँदै


  • Dhorpatan News
  • फाल्गुन १४ २०७५, मंगलबार

कास्की, १४ फागुन – पोखरामा निर्माण भईरहेको केवलकार वैशाख भित्रमा प्राविधिक परीक्षणको हुनेभएको छ। वैशाख भित्र तारको लठ्ठा हालिसकेर गण्डोला जडान गरि प्राविधिक/इन्जिनियरिङ परीक्षण गरिने निर्माण कम्पनीले जानकारी दिएको छ। तीन चार महिनाको परीक्षणपछि दशैंमा सर्वसाधारणले केवलकार चढेर सराङकोटमा पुग्न सक्ने केवलकार निर्माता अन्नपूर्ण केवलकार प्रा.लि.का निर्देशक तीर्थराज त्रिपाठी बताए। २०७४ साल माघदेखि काम थालेकोमा अहिलेसम्म ७० प्रतिशत काम सकिएको उनले बताए। ‘भवन निर्माण अन्तिम चरणमा छ। मुख्य स्टेशनको काम भईरहेको छ। १८ टावर मध्ये १५ वटा टावर जडान भइसेका छन् भने अन्य ३ वटाको पनि बेसमेन तयार भईसकेको छ,’ उनले भने, ‘अहिले जापानीज प्राविधिकले तार जोड्नका लागि आवश्यक काम गरिरहेका छन्।’
जापानस्थित निपोन कम्पनीका सामान केवलकारमा प्रयोग भएका छन्। सोही कम्पनीबाट आएका तीन जना प्राविधिकले जडान कार्य गरिरहेका छन्। अन्नपूर्ण केवलकार पोखरा महानगरपालिका १८ सेदी देखि सराङकोटसम्म दुई दशमलव ४ किलोमिटरको दुरीको छ। केवलकार निर्माणको सिभिलको काम भने चितवन कोई प्रालिले गरेको छ। सराङकोटको टावर १ हजार ५ सय १५ मिटरको उचाईमा रोकिने छ। तल्लो स्टेशन समुद्री सतहदेखि ८ सय ७० मिटरको उचाईमा छ। त्यो उचाई केवल ८ मिनेटको यात्रामा पुरा हुनेछ।
१८ वटा गण्डोला (डिब्बा) ले सर्वसाधारणलाई ओसार्ने छ। १७ वटा डिब्बाले यात्रु बोक्ने छ। एउटा डिब्बा भने सामान ओसार्न प्रयोग गरिने त्रिपाठीले जानकारी दिए। प्रत्येक डिब्बा आठ जना यात्रुको क्षमताको हुने उनले सुनाए। टावर ५ मिटरदेखि १५० मिटर दुरीको फरकमा राखिने छ। प्रतिघण्टा पाँच सय यात्रु आउजाउ गर्न सक्नेछन्। केवलकारको लागत करिब १ अर्ब ३१ करोड रुपैयाँ लाग्ने प्रालिका निर्देशक त्रिपाठीले जानकारी गराए। केवलकारले सनराईज बैंक तथा नेपाल राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानीमा निर्माण गरेको हो। केवलकार निर्माणले पोखराको पर्यटनमा नयाँ आयाम थपिने उनको दाबी छ। आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकारबाटै मनोरम दृष्यावलोकन गर्न सहज हुने छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->