तनँहु, १६ फागुन – मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले २२ किलो मिटर प्रसारण लाइनको निर्माण सम्पन्न गरी सोमबारबाट सञ्चालन ९चार्ज० मा ल्याइएको जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रसारण लाइन सञ्चालनमा आएपछि समग्र प्रसारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने बताए । ‘मध्यमस्र्याङदी–मस्र्याङ्दी प्रसारण लाइन ओभरलोड हुँदा लमजुङस्थित निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट बर्खामा उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नसकी खेर जाने सम्भावना थियो अब मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी लाइन सञ्चालनमा आएपछि विद्युत् खेर जाने सम्भावनाको अन्त्य भएको छ, उनले भने ।
मस्र्याङ्दी–काठमाडौँ र मस्र्याङ्दी–भरतपुर प्रसारण लाइनमा फल्ट आउँदा प्राधिकरणका मध्यमस्र्याङ्दी, मस्र्याङ्दीसहित निजी क्षेत्रका आयोजनाको विद्युत् प्रवाह गर्न नसक्ने अवस्था थियो । अब त्यो अन्त्य भएको छ, अब ती आयोजनाको विद्युत् दमौली सब–स्टेसनमार्फत भरतपुर र पोखरातर्फ पठाउन सकिने भएको छ । निजी क्षेत्रले लमजुङमा निर्माण गरेका आयोजनाको करिब ६६ मेगावाट विद्युत् र प्राधिकरणको स्वामित्वमा रहेका मध्यमस्र्याङ्दी ७० मेगावाट तथा तल्लो मस्र्याङ्दी ६९ मेगावाट गरी २०५ मेगावाट विद्युत् मध्यमस्र्याङ्दी–मस्र्याङ्दी प्रसारण लाइन हुँदै काठमाडौँ र चितवको भरतपुरतर्फ प्रवाह हुँदै आएको छ । मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी लाइन सञ्चालनमा आएपछि ती केन्द्रबाट उत्पादित विद्युत्लाई पोखरा र भारतपुरतर्फ पठाउन सकिने आयोजना प्रमुख शुभारम्भ विक्रम शाहले बताए ।
उनका अनुसार दमौली सब–स्टेसनबाट दमौली–लेखनाथ र दमौली–भरतपुर प्रसारण लाइनमार्फत क्रमशः पोखरा र दमौली–भरतपुरतर्फ विद्युत् पठाउन सकिने छ । यही आयोजनाअन्तर्गत तनहुँको मार्कीचोकमा निर्माण भइरहेको १३२÷३३ केभी सब–स्टेसन केही दिनमै सञ्चालनमा ल्याउने तयारी छ । मस्र्याङ्दी, दमौली र मध्यमस्र्याङ्दी सब–स्टेसनमा वे पनि थपिएको र मध्यमस्र्याङ्दीमा थपिएको यसबाट लमजुङको दोर्दी कोरिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत् पनि राष्ट्रिय प्रणालीमा जोड्न सकिने छ ।





