बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

डोको बुनेरै बित्यो जिन्दगी

डोको बुनेरै बित्यो जिन्दगी


  • धुर्वसागर शर्मा
  • फाल्गुन १९ २०७५, आइतबार

म्याग्दी, १९ फागुन – म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीका ७० वर्षिय दलबहादुर विकले आफू जान्ने भएदेखि अहिलेसम्मको उमेर डोको बुनेरै विताए । जीवनका अनेकौं घामपानी भोगेका विक अहिले डाँडामाथिको घाम जस्तै कति बेला अस्ताउने हो पत्तै छैन तर, उनको जाँगर र जोँस भने १६–१७ वर्षे लक्का जवानको जस्तो देखिन्छ ।
घरको पीडिँमा बसेर नाति नातिनीहरु खेलाउँदै छोरा बुहारीको कमाइ खाने बेलामा १०–१२ ओटा डोकाको भारी बोकेर बजारमा ग्राहाक खोज्दै हिड्न बाध्य छन् विक । ‘के गर्नु हजुर ! छोरा बुहारीले हेरेनन्, सम्पत्ति छैन,बसेर खान पुग्दैन,त्यसैले यो उमेरमा पनि डोको बुनेर बेच्न हिँडेको छु’ विकले भने ।
विकले एक वटा डोको रु दुई सय पचास देखि तीन सय पचास सम्ममा बिक्रि गर्दछन । ‘अहिले पहिलेको जस्तो डोकाको विक्रि छैन,पहिला घरमै ग्राहकहरु खोज्न आउँथे, अहिले डोको बेच्न भारी नै बोकेर गाउँगाउँ चाहार्नुपर्छ’ विकले बताए ।
बिकले आफ्नो हातमा सीप र काम गर्नसक्ने अवस्था रहुन्जेलसम्म ढोको बुनेर नै जीविका चलाउने बताउछन । ‘अहिलेसम्म यसैबाट जीविका चलाएको छु, अव कति नै बाँचुला र ? बाँचुन्जेलसम्म जीउ सन्चै भयो भने डोको बुनेर नै गुजारा चलाउँछु’ विकले थपे ।
हातमा सीप छ, घामपानीमा निस्कन नपर्ने, बुढेसकालमा दिन बिताउने बाटो पनि यही डोको बुन्ने पेसा नै बनेको बिकको भनाइ छ । डोको बुनेर आएको पैसाले दैनिक घरखर्च चलाउने र आफ्नी श्रीमतीको औषधी उपचारमा खर्च गर्दछन । ‘छोरा बुहारीले नहेरे पछि यही डोको बुनेर श्रीमती र म पालिएका छौं ’ विकले भने ।
बाध्यताले गर्दा जीवनको अन्तिम समय सम्म पनि डोको बुनेर बेच्नुपर्ने अवस्था छ । ग्रामिण क्षेत्रमा डोको बुन्ने जनशक्ति नहुँदा बुनेका डोका भने गाउँगाउँसम्म पुर्याउन सक्ने हो भने विक्रिको कुनै समस्या छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->