बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतबाट अमेरिकामा मात्रै १० टन लप्सी निर्यात

पर्वतबाट अमेरिकामा मात्रै १० टन लप्सी निर्यात


  • Dhorpatan News
  • फाल्गुन २१ २०७५, मंगलबार

कुश्मा, २१ फागुन – लप्सी उत्पादनको पकेट क्षेत्र मानिएको पर्वतबाट यो वर्ष अमेरिकामा मात्रै १० टन लप्सी निर्यात भएको छ। लप्सी संकलन, प्रशोधन र व्यापारको काम गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगले प्रशोधन गरेर तयारी अवस्थामा रहेको १० टन लप्सी अमेरिका पठाएको हो। फलेवास नगरपालिकाको मुडिकुवामा रहेको उद्योगले जिल्लाका विभिन्न ठाउँमा पुगेर कृषकहरूको लप्सी खरिद गरेर प्रशोधन गर्दै आएको छ।
उद्योगबाट उत्पादित माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डी लगायतका परिकार निर्यात गरिएको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिए। यो वर्ष उद्योगले कुल १३० टन लप्सी संकलन गरेकोमा अहिलेसम्म ६० टन लप्सी प्रशोधनपछि बजारमा गएको छ भने ७० टन लप्सी प्रशोधनको क्रममा छ। गत वर्षको यही समयसम्म ४० टन मात्र लप्सी प्रशोधन गरेको उद्योगले यस वर्ष अघिल्लो वर्षको तुलनामा २० टन बढी प्रशोधन गरिसकेको छ। उद्योगले पर्वत र बागलुङ जिल्लाबाट लप्सी संकलन गरेर प्रशोधनपछि देशका विभिन्न जिल्लासहित विदेशमा पनि निर्यात गर्दै आएको छ।
‘अहिलेसम्म प्रशोधन गरिएको लप्सी स्थानीय बजार र विदेशमा अमेरिका पुगिसकेको छ’, भुसालले भने, ‘कोरियाबाट पनि माग आएको छ, अब प्रशोधन गरिएकोलाई कोरिया पठाउने हो।’ उनका अनुसार यो वर्ष प्रशोधित लप्सीको बिक्रीबाट कम्तीमा पनि २० लाख रुपैयाँभन्दा बढी कमाइ हुने अपेक्षा गरिएको छ।
२०५८ सालमा स्थापना भएको उद्योगमा बर्सेनि नाफा बढ्दै गएको छ। उद्योग स्थापना भएपछि बसाइँसराइँ र अन्य कारणले पनि बाँझो रहेका जिल्लाका पाखाबारी तथा खाली जमिनमा लप्सी लगाउने होड चलिरहेको छ। केही वर्षअघिसम्म बोटबाटै झरेर कुहिने गरेको लप्सीले आजभोलि मूल्य पाउन थालेपछि कृषकहरुलाई राहत भएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->