बागलुङबाट प्रकाशित हुने ढोरपाटन राष्ट्रिय दैनिकले प्रकाशनको १६ बर्षपछि गण्डकी प्रदेशको राजधानी पोखराबाट आफ्नो प्रकाशनको सुरूवात गरेको छ । यसको लागि पत्रिका परिवारलाई धन्यवाद दिन चाहन्छु । पत्रिकाका सम्पादक भाई हरिनारायण गौतमले पत्रिकाको जिम्मेवारी लिएपछि यसलाई अहिलेसम्म ब्यवस्थित रूपमा प्रकाशित गर्दै आएका छन्, यसलाई सामान्य चानचुने कुरा मान्नु हुँदैन ।
देश संघीयतामा प्रवेश गरेपछि अहिले शासन÷प्रशासन ब्यबस्था सबै नयाँ ढंगले अगाडी बढिरहेको छ । यही उपक्रममा मोफसलबाट प्रकाशित हुने प्रेस काउन्सिल नेपालबाट मान्यताप्राप्त ‘क’ वर्गको पत्रिकालाई गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रकाशन गर्नुपर्छ भन्ने सल्लाह –सुझाव भयो । करिब एक वर्षअघिको निर्णयानुसार धौलागिरि अञ्चलबाट प्रकाशित हुने पत्रिकामध्ये ढोरपाटन राष्ट्रिय दैनिकलाई पोखरा केन्द्र बनाएर प्रकाशन गर्न सुरूवात गरियो ।यो सकारात्मक कदम हो ।
हुनत, पोखरामा अहिले दुई दर्जनभन्दा बढी दैनिक÷साप्ताहिक पत्रपत्रिका अहिले प्रकाशित भइरहेका छन् । बागलुङबाट प्रकाशित हुने पत्रिकालाई पोखरामा लगेर स्थापित गर्ने कुरा ठूलो चुनौतिकै काम हो भन्ने थाहा हुँदाहँुदै पनि पोखरामै कार्यालय र पत्रकार राख्ने मात्रै हैन, पोखराका पाठकको हातहातमा ढोरपाटन उपलब्ध गराउने कुरा महत्वपूर्ण छ ।
सबैखाले चुनौतिलाई सामना गर्न तयार भएपछि यही फागुन २९ गतेदेखि ढोरपाटनले आफ्नो नयाँ यात्राको सुरूवात गरेको छ । यो कदमलाई बागलुङका मात्रै नभएर धौलागिरिका सबै पत्रकारले आफ्नो पत्रकारिताको सफल यात्रा भनेर प्रशंसा गरेका छन् । काठमाडौंबाट प्रकाशित हुने कान्तिपुर, नागरिक, अन्नपूर्णपोष्ट राजधानी, नयाँपत्रिकाले प्रदेशस्तरमा कार्यालय राखेर पत्रिका प्रकाशित गर्न सुरूवात गरिरहेको बेला ढोरपाटन राष्ट्रिय दैनिकलाई गण्डकी प्रदेशमा स्थापित गर्ने जुन सोच पत्रिकाको टिमले गरेको छ ,यसलाई स्थापित गर्ने काममा सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्न जरुरी छ ।
हिजो बागलुङ र धौलागिरि कार्यक्षेत्र बनाएको पत्रिका अहिले गण्डकी प्रदेशमा पुगेपछि पत्रिकाको साइज एकातिर बढेर गएको छ भने अर्कोतिर ढोरपाटनले प्रकाशित गर्ने खबरमा समेत परिवर्तन आएको छ । एकाबिहानै चियाको चुस्कीसँगै ढोरपाटन राष्ट्रिय दैनिक पढ्ने अवसर सबैले पाइएको छ । समयको गतिसँगै पत्रिकाले आफूलाई परिवर्तन गर्ने जुन साहस ग¥यो, त्यो नै सबैभन्दा महत्वपूर्ण उपलब्धि हो भन्ने लाग्छ । साँच्चै पत्रिका प्रकाशित गर्नुमात्रै ठूलो कुरा हैन, त्यो पत्रिकाले समाजको प्रतिनिधित्व गर्न सफल भएको छ कि छैन भन्ने महत्वपूर्ण विषय हो । यसैगरी, पत्रिकालाई हेर्ने आम पाठकको दृष्टिकोण कस्तो छ,सकारात्मक छ कि नकारात्मक छ भन्ने कुरा पनि प्रमुख हो भन्ने लाग्छ ।
अहिले गाउँगाउँमा सिँहदरबार पुगेको छ भनेर सरकारले भनिरहेको समयमा जिल्ला बस्ने ब्यबसायीहरूले संघियताले ब्यबसाय चौपट भएको भनेर गुनासो गरिरहेको समयमा ढोरपाटनले अहिले पनि सबै खालको संभावना बाँकी नै छ भन्ने सम्भावना खोजेको छ । हामी सबै मिलेर त्यो संभावनालाई लागु गराउन सक्नुपर्छ भन्ने नयाँ सन्देश पनि दिन खोजेको छ ।
गण्डकी प्रदेश पर्यटनको राजधानी पनि हो दैनिक रूपमा हजारौँं हजारौं पर्यटक भित्रिरहेका छन्, त्यसलाई हामीले कसरी गण्डकी प्रदेशको ११ वटा जिल्लामा पठाउन भूमिका खेल्न सकिन्छ भन्नेतर्फ पनि सोच्न जरुरी छ ।अहिलेको युग भनेको सूचना संचारकै युग हो । अहिले सूचनाबिना कोही पनि मान्छे एकछिन पनि बाँच्न सक्दैन । अहिले मिडियाको कारणले गर्दा देशमा ठूलाठूला परिवर्तन भएका छन् भनिरहनु आवश्यक पनि छैन ।ढोरपाटन राष्ट्रिय दैनिक को नाम नै अहिले जिल्लामा मात्रै हैन, राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको छ ।बागलुङको पश्चिम क्षेत्रमा पर्ने ढोरपाटन साँच्चै भन्ने हो भने बागलुङ जिल्लालाई पर्यटन केन्द्रको रूपमा स्थापित गर्न मद्दत पु¥याउने काम गरेको छ । आज त्यही नामबाट प्रकाशित पत्रिका धेरैको मनमा बस्न समेत सफल भएको छ ।
अहिले पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण हुदै छ । फेवाताल, रूपाताल पोखरामै छन् । बिदेशी पर्यटकको लागि पोखरा सबैभन्दा राम्रो गन्तव्य बनिसकेको छ । अहिले प्रदेशको राजधानी समेत पोखरा नै भएपछि यसको महत्व ह्वात्तै बढेको छ । यस्तोबेला ढोरपाटनले जुन पत्रिकालाई पोखरामा स्थापित गर्न लागि परेको छ, यसले अबश्य पनि सफलता हाँसिल गर्न मद्दत पु¥याउने निश्चित छ । पत्रिकाले गाउँघरका सानातिना खबरदेखि जिल्लाका खबर, राष्ट्रिय खबरलाई समेत प्राथमिकताका साथ प्रकाशित गर्दै आएको ब्यहोरा अवगत नै छ
यो पत्रिकाले जिल्लाका एक दर्जन पत्रकारलाई १६ बर्ष देखि रोजगारी दिँदै आएको छ । पत्रकारिता गरेर पनि यो ठाउँमा जिविकोपार्जन गर्न सकिन्छ भन्ने कुरा पनि यसले प्रुष्टी गरेको छ । ढोरपाटन राष्ट्रिय दैनिकको पोखरा यात्राको सफलताको शुभकामना !





