जैमिनी नगरपालिका–१ कुश्मीशेरा, खौरका सूर्य पौडेल डोकोभरी केरा बोकेर हिँडेको अवस्थामा देखिए । गाउँमा फलेको केरा बोकेर पौडेल बागलुङ कुश्मीशेरा सडकखण्डमा हरेक दिन ओहोरदोहोर गर्ने गरेका छन् । उनले दिनमा हजारौँ रुपैयाँको केराको कारोवार गर्दै आएका छन् ।
दर्जनमा हिसाव हुने गाउँघरबाट सूर्यले किसानको बारीबाट नै केरा उठाएर डोको भर्छन भने आफ्नोे बारीको केरा पनि सूर्यको दैनिाकी धान्ने अर्को स्रोत हो । प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा नजिकै रहेको उनको सानो किराना पसलमा नुन, तेल, चिनी, चियापत्तिभन्दा केराको कारोवार बढी हुन्छ । उनले बिक्री गर्ने केरा कहिल्यै आयात गर्नु परेन । बरु, उनले आफ्नो सम्पर्कमा रहेका किसानको बारीमा फलेका केरा सेरा बजारभन्दा बाहिर निर्यात गर्ने गरेका छन् ।
पौडेलको घर साविकको कुश्मीशेरा गाविसको वडा नम्बर २ मा पर्छ । वरिपरि बारीमात्रै रहेको गाउँ अहिले केराको बगान जस्तै देखिन्छ । उनको ३ मुरी कोदो फल्ने बारीमा केराको बगान छ । बर्षातको समयमा मात्रै कोदो र मकै फल्ने बारीलाई सदुपयोग गरेर पौडेलले बर्षमा झण्डै तीन लाख मूल्य बराबरको केरा बिक्री गर्दै आएका छन् ।
‘मकै र कोदोको मुल्य हिसाव गर्दा बर्षमा १८ हजार कमाई हुन्थ्यो, लगाउने गोड्ने दुःख त कति हो कति’ पौडेलले भने ‘समयमा पानी र मल दिएपछि राम्रो फल्ने केराले अहिले मेरो दैनिकी नै बदलिएको छ ।’ सुख्खा रातो माटो रहेको खौर, किसेकको डाँडामा बर्षातको समयमा मात्रै खेती हुने गरेको थियो । पछिल्लो समय उक्त गाउँका किसानहरुले परम्परागत खेतीलाई परिवर्तन गरेर केरा खेती गरेका छन् । सूर्यको जस्तै खौरका ऋषिराम शर्माले चार रोपनी बारीमा केरा खेती गरेका छन् । सुरुको पहिलो बर्ष एक बर्षमा उत्पादन दिएको केराले अहिले भने हिउँद बर्खा दुबै सिजनमा राम्रो फसल दिएकाले आफू सन्तुष्ट रहेको शर्माले बताए । शर्माले केराका लागि आवश्यक मलको जोहो गर्न गाई भैँसी पालेका छन् । खानेपानीका लागि प्रयोग भैरहेको पानीलाई बचत गरेर केरामा सिंचाईं गर्छन् ।
किसेकका अग्नीधर शर्मा पेशाले शिक्षक हुन् । उनको चार रोपनी घरबारीमा केरा खेती छ । केरा भित्र उनले कफिको खेती गरेका छन् । तीन मुरी कोदो र चार मुरी मकै फल्ने बारीमा लगाएको कफी र केराबाट शर्माले बार्षिक पाँच लाखभन्दा धेरै आम्दानी गर्ने गरेको बताए । कोदो मकै लगायका परम्म्परागत खेती गर्दा मेहनत धेरै र उत्पादन कम हुने भएकाले खौर र किसेकका किसानहरु केरा खेतीमा आकर्षित भएका हुन् । केही बर्ष पहिलेसम्म रातो डाँडो देखिने उक्त गाउँ पछिल्लो समय केराको बगानले हरियाली देखिने गरेको छ । खौर किसेकमा रहेका किसानले मात्रै होईन हरेक पेशा व्यवसायमा रहेका व्यक्तिहरुले धेरै थोरै आफ्नो जमिनमा केरा खेती गर्दै आएका छन् ।
‘पहिले रातो डाँडो देखिने हाम्रो गाउँ हरियाली बनेको छ’ जैमिनी १ कुश्मीशेराका वडा सदस्य रुद्रनाथ शर्माले भने ‘केही बर्ष पहिलेदेखिनै हाम्रा दाजुभाईले केरा खेती गर्दै आएका छन्, प्रतिफल राम्रो पाएकाले सबैमा सन्तुष्टि पनि छ ।’ खौर किसेकमा रहेका १५ देखि २० परिवारले घर खर्च चलाउने गतिलो माध्यम केरा खेती बनेको छ । ‘केराबाट भएको आम्दानीले हामिले घर खर्च मात्रै चलाएका छैनौं, छोरा छारी पढाउने खर्च पुगेको छ’, स्थानीय किसान थानेश्वर पौडेलले भने । रामरेखे लोकल र चिनियाँ चम्पा जातको अग्लो केरा उनीहरुको बारीमा छ । अन्य जातभन्दा यो दुई जातको केरा धरै बर्षसम्म निरन्तर उत्पादन लिन सकिने भएकाले किसानहरुको आकर्षण दुई जातका केरामा बढी रहेको जैमिनी नगरपालिकाका कृषि प्रबिधिक रबिन्द्र शर्माले बताए ।
बारीमै आउँछन व्यापारी
खौर र किसेकमा उत्पादन भएको केराका लागि बजारको समस्या नभएको किसानहरु बताउँछन् । स्थानीय कुश्मीशेरा बजार र जिल्ला सदरमुकामसम्म त्यहाँको केरा बिक्री हुने गरेको छ । छिमेकी जिल्ला पर्वत सदरमुकाममा समेत केरा बिक्री हुने गरेको किसान गंगाराम पौडेलले बताए । केरा खरिद गर्नका लागि व्यापारीहरु उनिहरुकै बारीमा आउने गरेका छन् । काँचो केराको चार रुपैयाँ प्रतिगोटा र पाकेको केराको पाँच रुपैयाँ प्रतिगोटामा बारीबाटै बिक्री हुने गरेको पौडेलले जानकारी दिए ।
‘बारीमै नगद गनेर जान्छन्, बजारको समस्या छैन्’ पौडेलले भने ‘प्राय एउटै व्यापारी पटकपटक केरा खरिदको लागि आउने गरेका छन् ।’ स्थानीय जातको केरा भएकाले उक्त केराको बजारमा माग समेट बढी छ । अर्गानिक उत्पादन र स्वादिलो भएकाले केराको माग उच्च रहेको स्थानियबासी प्रेम पौडेलले बताए ।
रिस गर्दैनन्, देखासिकी
खौर र किसेका किसानहरुले एक आपसमा मिलेर केराको उत्पादन गरिरहेका छन् । सिंचाईको लागि पानीको चरम समस्या रहेको उक्त ठाउँमा खानेपानीका लागि ल्याईएको पानीलाई बचाएर सिंचाई गर्दै आएका छन् । बर्षाको समयमा पानी प्राप्त हुने भएपनि हिउँदको समयमा केराका लागि आवश्यक पानीको अभाव हुने गरेको छ । घरायसी कामका लागि प्रयोग भएको पानीलाई केरा बारीमा पु¥याएर उनीहरुले सिंचाईको जोहो गर्दै आएका छन् । सबैले लगाएको केरा एकै किसिमको भएपनि राम्रो बिरुवा कसैको बारीमा उत्पादन भए अर्काको बारीमा त्यसको परिक्षणका लागि बिरुवा सार्ने गरेका छन् ।





