बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पाठकको ७८ लाख घूसः ४० लाख बैठक कोठामा, ३८ लाख छोरीको हातमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पाठकको ७८ लाख घूसः ४० लाख बैठक कोठामा, ३८ लाख छोरीको हातमा


  • Dhorpatan News
  • चैत्र १२ २०७५, मंगलबार

काठमाडौं, १२ चैत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आफ्नै चेम्बरमा बसेर मुद्दा मिलाउने ‘डिल’ गरेको अभियोग सहित बिशेष अदालतमा उनी बिरुद्ध मंगलबार मुद्दा दर्ता भएको छ। आयुक्त पाठकले घूस दिने भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई आयोगको चेम्बरमा भेटेर अनुसन्धान भइरहेको मुद्दाका बिषयमा छलफल गरेका थिए। पाठक र न्यौपानेबिचमा आयोगमा रहेको मुद्दा मिलाईदिने बिषयमा लेनदेनको छलफल भएको थियो।
न्यौपानेलाई राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र झाले लिएर गएका थिए। मुद्दाका बिषयमा भेटघाट भएको केही दिनमै आयुक्त पाठकले झालाई फोन गरेर एक करोड ६५ लाख रुपैयाँ घूस दिएमा मुद्दा मिलाईदिने बताएका थिए। पाठकले कलेज संचालकहरुले २ करोडसम्म आपसमा बाँडेकाले आफुलाई मागेजति रकम चाहिने बताएका थिए। झाले पाठकसँग भएको कुराकानी न्यौपानेलाई सुनाएका थिए। आयोगले आयुक्त पाठकलाई घूस लिएर जाने झालाई सरकारी साक्षी बनाएको छ। झाले आयोगमा दिएको बयानमा आयुक्त पाठकले भनेको समयमा रकम नपाएपछि प्रहरी लगाएर उठाईदिने भन्दै धम्काएको दाबी गरिएको छ।
झाले आयोगका अनुसन्धान अधिकारीहरुलाई पाठकले धम्काएपछि न्यौपानेले एकपटक ४० लाख र अर्कोपटक ३८ लाख उपलब्ध गरेको बताएका छन्।आयोगले विशेष अदालतमा प्रमाणका रुपमा पेश गरेको झाको बयानमा पाठकले ४० लाख रुपैयाँ उनको शान्तिनगर, बाबुछिरी चोकस्थित घरको बैठककोठासँगैको अध्यारो कोठामा राखेका थिए। अर्को पटक पाठकलाई बुझाएको ३८ लाख रुपैयाँ घरमै रहेकी उनकी कान्छी छोरीले लिएर माथिल्लो तलामा गएकी थिईन। दुबै पटक रामेश्वरमको मिठाई पनि राखेको झाले बयानमा खुलाएका छन्।
‘पाठकले नै मिठाईको डब्बा सुरक्षाकर्मीलाई झुक्याउन राख्नुपर्छ भने सिकाउनु भएको हो,’ झाले बयानमा भनेका छन् ‘कलेजको बिवाद मिलाउन मागेको आधा रकम बुझाएको हो।’ उनका अनुसार बुझाएको रकम हजारका ठेली थिए। आयोगले पाठक र झाबिचको अडियो संवादलाई प्रमाणका रुपमा पेश गरेको छ। पाठकले काम गर्न नसकेपछि आधा रकम मागेन्न। तर उनीसँग सुरुवातबाट भइरहेका कुराकानीका आधारमा प्रमाण जुटाउन भिडियो खिचिएको झाले बयानमा खुलाएका छन्। सबै घटना २०७४ को दशैं–तिहार भन्दा २०–२५ दिन अघिका हुन्। न्यौपानले पेप्सीकोलामा झालाई रकम उपलब्ध गराउथे। पाठकलाई रकम साँझको ६ देखि ७ बजेका बिचमा बुझाईएको थियो।
आयुक्त पाठकले यसरी गरे घूस नलिएको दाबी
आयोगमा दिएको बयानमा पाठकले आफु बिरुद्ध लागेका सबै आरोप अस्वीकार गरेका छन्। उनलाई आयोगले सार्वजनिक भएको उनी र ध्वजमान मोक्तानबिचको भिडियो संवादका आधारमा प्रश्न सोधेको थियो। पाठकले आफुलाई ध्वजमानले धम्काएको दाबी समेत आयोगको बयानमा गरेका छन्। उनले रकम बरामद नभएको र न्यौपानेको आयोगमा दर्ता मुद्दाले समेत थप प्रष्ट हुनेभएकाले आफु बिरुद्ध भ्रष्टाचार निवारण ऐन आर्कषित नहुने दाबी गरेका छन्।
शुभनारायणको बेग्लै अनुसन्धान
आयोगले घूस प्रकरणमा ७८ लाख बाहेक १५ लाख रुपैयाँ लिने पूर्वाञ्चल विश्व बिद्यालयका डिन शुभनारायण पाठकलाई अर्को मुद्दामा अनुसन्धान थालेको छ। उनी बिरुद्ध सरकारी ओहदामा बसेर सम्बन्धन बेच्ने प्रयास गरेको घटनामा अनुसन्धान हुनेछ। ‘शुभनारायण बिरुद्ध अर्को उजुरी उपर अनुसन्धान भइरहेको छ,’ आयोग प्रवक्ता सहसचिव प्रदिपकुमार कोइरालाल भने ‘आयोगले पहिलो चरणमा भेटिएका सबुत–प्रमाणका आधारमा मुद्दा बुझाएको हो।’
यस्तै यही प्रकरणमा पाठकले उपयोग गरेका सरकारी अधिकारी र गुण्डासम्मको अनुसन्धान समेत भइरहेको आयोगको भनाई छ। आयोगले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल,  एसएसपी धिरजप्रताप सिंह, कृष्णभक्त न्यौपाने, कालू गुरुङ र राजेन्द्र भन्ने राजु गोर्खालीका सम्बन्धमा समेत पछि सबुत प्रमाणले देखिएका अनुसन्धान हुने बाटो राखेको छ।
आयोगको आयुक्त पाठक बिरुद्ध ७९ पृष्ठ लामो अभियोगपत्र तयार गरेको छ। अभियोगपत्रमा पाठकविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारवाही माग गरिएको छ। भ्रष्टाचार निवारण ऐनको दफा ३ मा घूस लिने व्यक्तिलाई बिगो बमोजिम जरिवाना हुने उल्लेख छ। उक्त दफामा ५० लाखदेखि १ करोडसम्म घूस लिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुने भनिएको छ।
सोही ऐनको दफा २४ मा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक निकायका पदाधिकारीले घूस लिएको पुष्टि भए यी दुवै सजाय हुने भनिएको छ। यो घूस प्रकण प्रमाणित भए पाठकको हकमा दुवै व्यवस्था आकर्षित हुन्छन्।दुवै व्यवस्थाअनुसार उनलाइ ९ देखि १२ वर्षसम्म कैद हुनेछ। अख्तियारले दर्ता गरेको अभियोग पत्रमा ७८ लाख रूपैयाँ बिगो माग दाबी गरेको छ। ऐनअनुसार कसुर प्रमाणित भए उनले ७८ लाख रूपैयाँ जरिवाना तिर्नु पर्नेछ। सोही बराबरको उनको सम्पत्ति जफत हुनेछ।
पाठकले घूस लिएको समाचार २०७५ फागुन १ गते नेपालखबरले सबैभन्दा पहिला प्रकाशित गरेको थियो। घूस लिएको स्वीकारेको भिडियो फागुन ३ मा सार्वजनिक गरेको थियो। सोही दिन उनले पदबाट राजिनामा दिएका थिए। अख्तियारले ३ थान डिभिडी, ३ थान पेन ड्राइभमा भिडियो तथा अडियो राखेर अदालतमा बुझाएको छ। अख्तियारकै आयुक्त रहिसकेका पाठकविरुद्ध अनुसन्धान थाल्नुअघि आयोगले महान्यायाधिवक्ता कार्यालयको राय लिएर सहसचिव शेरजंग कार्की नेतृत्वमा कमल प्रसाद मिश्र र एसपी प्रविन पोखरेल रहेको तीन सदस्यीय अनुसन्धान टोली बनाएर छानबिन गरेको थियो। कलेज अध्यक्ष न्यौपाने अख्तियारको बयानकै क्रममा फरार छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->