काठमाडौं, १४ चैत-प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकास र समृद्धि हासिल गर्नका लागि आन्तरिक र बाह्य दुवै प्रकारको स्रोत परिचालन गरिने वताएका छन । नेपाल आठौं अन्तर्राष्ट्रिय व्यापार मेला–२०७५ लाई विहिवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । प्रधानमन्त्री ओलीले सरकार राष्ट्र निर्माणको महाअभियानमा रहेको बताउदै भने, ‘सरकार राष्ट्रिय आकांक्षा पुरा गर्न बहुआयामिक विकासमा लाग्दछ, यसका लागि आन्तरिक र बाह्य दुवै प्रकारका स्रोतको परिचालन गरिनेछ ।’
प्रधानमन्त्री ओलीले स्वदेशी लगानीलाई प्रोत्साहित गर्दै विदेशी लगानीलाई समेत आकर्षित गरिने बताए । ‘सरकारले आयोजना गरेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा म भन्न चाहन्छु हामी स्वदेशी उद्यमी र लगानीकर्तालाई उच्च प्राथमिकतामा राख्छौं । विदेशी लगानीकर्तालाई नेपालमा स्वागत गर्न ऐन कानुन सजिलो बनाउछौं ।’ प्रधानमन्त्री ओलीले भने, लगानी प्रवद्र्धन गर्न सरकारको तर्फबाट कुन कुन ऐन कानुन संसोधन गर्नुपर्दछ तपाईंहरुको सुझाव आओस । सरकारले त्यस्ता कानुनहरुको संसोधन गर्दछ ।’
प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल सुनौलो भूमी भएको बताउदै भने, ‘विदेशी लगानीका लागि नेपाल उपयुक्त छ, यहाँ प्रतिष्पर्धा कम छ । त्यसैले पनि लगानी गर्न आउनेहरुलाई यहाँ सहज छ ।’
प्रधानमन्त्री ओलीले विगतमा मुलक वर्वाद पारिएको सवाइ सुनेर मात्र देश विकास नहुने बताए । “विगतका सवाइ सुनेर र वर्तमान अवस्था हेरेर मात्र देश विकास हुदैन, देश विकासका लागि भविष्यसम्मको स्पष्ट दृष्टिकोण राखेर अघि बढ्नु पर्दछ ।’




