काठमाडौं, १५ चैत – नेपाल र चीनको ग्वान्सु प्रान्तका व्यवसायीहरूबीच विभिन्न ८ वटा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सहमती पत्रमा हस्ताक्षर भएको छ। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन आएको चिनियाँ व्यवसायी, लगानीकर्ता र उद्यमीहरुको उल्लेख्य सहभागितामा शुक्रबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ र ग्वान्सु प्रान्तका व्यवसायीहरुबीच विभिन्न ८ वटा क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने सहमति पत्रमा हस्ताक्षर गरिएको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट चीनको ग्वान्सु प्रान्तको वाणिज्य विभागका उपमहानिर्देशक ह्वाङ यिङलिङले हस्ताक्षर गरेको सहमति पत्रमा दुई मुलुकका व्यवसायीबीच कृषि, फेशन, सौन्दर्य, खाद्य उद्योग, जडिवूटी, औषधि, खेलकूद सामग्री, गहना लगायतका क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिएको छ।
कार्यक्रममा महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, महासंघको कार्यकारिणी समितिका सदस्यहरू, चिनियाँ वाणिज्य मन्त्रालय र महासंघ सचिवालयका उच्च अधिकृतहरूको पनि सहभागिता रहेको थियो। हाल काठमाडौंको भुकृटीमण्डपमा जारी नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा ९० वटा स्टल मार्फत ९२ चिनियाँ कम्पनीहरूले भाग लिइरहेका छन्। सोही मेला र नेपाल लगानी सम्मेलनमा भाग लिन आएका चिनियाँ लगानीकर्ताहरुले नेपालका व्यवसायीहरुसँगको भेटवार्तामा नेपालमा लगानी र व्यापारको सम्भाव्यताका विषयमा चासोपूर्वक छलफल गरेका थिए।





