शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अन्तरसरकारी वित्त परिषदको निर्णय कार्यान्वयन गर्न निर्देशन

अन्तरसरकारी वित्त परिषदको निर्णय कार्यान्वयन गर्न निर्देशन

दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक


  • Dhorpatan News
  • चैत्र २५ २०७५, सोमबार

काठमाडौं, २५ चैत – अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालय र मातहतका निकायबाट सम्पादन हुने कार्यलाई यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा खतिवडाले यस्तो निर्देशन दिएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि वित्तीय संघीयता प्रभावकारी कार्यान्वयन गर्न समेत निर्देशन दिए । अन्तरप्रदेश परिषद एवम् अन्तरसरकारी वित्त परिषदको निर्णय कार्यान्वयन गर्न खतिवडाको निर्देशन छ ।
बजेट कार्यान्वयनलाई उपलब्धीमूलक बनाउन तर्जुमा गर्नुपर्ने र संशोधन गर्नुपर्ने बाँकी कानून शीघ्र तर्जुमा गर्ने, राजस्व परिचालनमा बिलिङ कार्यान्वयन र बजार अनुगमनलाई थप तिव्रता दिनुपर्ने खतिवडाको भनाई छ । उनले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना बमोजिमका कार्यहरुको समयमा कार्यान्वयन गर्न जिम्मेवार भई कार्यसम्पादन गर्न निर्देशन दिए ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्प कँडेल र नेपाल राप्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालकोसमेत उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. कँडेलले आर्थिक वर्षको बाँकी अवधिमा लक्ष्य अनुरुप कार्य सम्पादन गर्न जोड दिँदै अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगकोबीचमा आगामी बजेट तर्जुमामा प्रभावकारी सहकार्य गर्नुपर्ने बताए ।
बैठकमा अर्थ सचिव डा. राजन खनाल, राजस्व सचिव लालशंकर घिमिरे र महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमसमेतको उपस्थिति थियो । कार्यक्रममा महाशाखा प्रमुख, विभागीय प्रमुख, नियामक निकायमका प्रमुख र आयोजना प्रमुखहरुले आ-आफ्नो निकायको प्रगति अवस्था र कार्यान्वयनको क्रममा देखा परेका समस्याको बारेमा संक्षिप्त प्रस्तुति गर्नुका साथै चालु आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेखित कार्यक्रमको बाँकी अवधिमा कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
बैठकमा एक बर्षको अवधिमा अर्थ मन्त्रालय र अन्तर्गत भएका उपलब्धीका बारेमा प्रस्तुत गरिएको थियो । यस विषयमा प्रस्तुती गर्दै मन्त्रालय प्रवक्ता उत्तर कुमार खत्रीले अर्थ मन्त्रालयले विगत एक वर्षमा कानून निर्माण, वित्तीय संघीयता कार्यान्वयन, वित्तीय क्षेत्र व्यवस्थापन र राजस्व प्रशासनमा सुधारलगायतमा ठोस प्रगति हासिल गरेको जानकारी दिए । कार्यक्रममा समग्र बजेट खर्च स्थिति, अर्थ मन्त्रालयको खर्च स्थिति, वार्षिक लक्ष्य र प्रगति विवरण, आयोजना र कार्यक्रम कार्यान्वयनमा देखिएको केही तथ्य र प्रगतिबारे संक्षिप्त प्रस्तुति भएको थियो । अर्थ मन्त्रालय र मातहतका निकायले चालु आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेखित कार्यक्रमको कार्ययोजना बमोजिमको प्रथम आठ महिनामा प्रगति अवस्थाको विवरणसमेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->