बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बालुवाटारको जग्गा र भूमाफियाहरु

बालुवाटारको जग्गा र भूमाफियाहरु


  • राजेशचन्द राजभण्डारी
  • बैशाख १६ २०७६, सोमबार

इतिहासमा सबैभन्दा शक्तिशाली बामपन्थी सरकारभन्दा पनि अझै शक्तिशाली यदि यो देशमा कोही छ भने त्यो हो– ‘भुमाफिया’ भनेर यहाँ ब्याख्या गरिरहन जरुरी छैन होला जस्तो लाग्छ । नेपालको सबैभन्दा चर्चित घटना तराईमा आएको हुरीबतासको आतंकभन्दा पनि ठूलो घटना बालुवाटारको जग्गा खरिदबिक्री प्रकरण नै भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले बालुवाटारको सरकारी जग्गा खरिद गरेको रहस्य बाहिर आएपछि यो घटना झन्भन्दा झन् चर्चाको शिखरमा पुगेको छ । अहिले एनसेलको लुटकाण्ड, नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी बिमानमा भएको अर्बौं भ्रष्टाचार काण्डलाई पनि बालुवाटार काण्डले उछिनेर नयाँ किर्तिमान कायम गरेको छ । नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर बालुवाटार जग्गा खरिद प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेल दोषी नभएको भन्दै बचाउ गर्ने ठूलो कसरत गरे । मन्त्री बाँस्तोलाले पौडेल त पीडित भएको यो काण्डमा उनको कुनै सहभागिता नभएको ठोकुवा गरे । अचम्म पनि कति अचम्म ! बालुवाटारको सरकारी जग्गा खरिदबिक्री हुन्छ, एकजना जिम्मेवार पार्टीको जिम्मेवार मान्छेले जग्गा खरिद गर्छ अनि भन्छ ‘ऊ निर्दाेष छ कुनै दोष छैन ।’

देशमा गणतन्त्र छ कि लुटतन्त्र ? छुट्टाउन निकै गाह्रो भएको छ । यतिबेला जसले जे–जे मनलाग्यो त्यहीँ–त्यहीँ गर्न पाउने भएपछि मनपरीतन्त्र झन् बढेर गएको छ । छताछुल्ल रूपमा बालुवाटारको जग्गाबारे टिकाटिप्पणी भएपछि फागुन २८ गते मन्त्री परिषदले पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित छानबिन सम्पत्तिको सिफारिसअनुसार बालुवाटारमा पहुँचवाला ब्यक्तिहरूको नाममा रहेको सरकारी जग्गा रोक्काको निर्णय गरी कार्यान्वयन गर्न भूमि ब्यबस्थापन मन्त्रालयलाई निर्देशन दिएपनि नेपाल सरकारको मन्त्रीपरिषदले गरेको निर्णय समेत यतिबेला अलपत्र पर्न गएबाट के कुरा बुझ्न सकिन्छ भने साँच्चै भूमाफियाको शक्ति र पहुँच कहाँ सम्म छ भन्ने कुरा स्पष्ट हुन आउँछ । बालुवाटारको अतिक्रमित ११७ रोपनी सरकारी जग्गा भूमाफियाले धेरै ब्यक्तिलाई बिक्रीबितरण गरिसकेको तथ्य खुलिसक्दा पनि प्रभावकारी काम भने कसैले पनि गर्न सकेको छैन । इतिहासकै शक्तिशाली सरकारलाई यो बालुवाटार जग्गा प्रकरण अगाडि बढाउन बडो सकस भएको छ । सरकारका प्रवक्ता जानाजान सरकारी जग्गा खरिद गर्ने मान्छे पनि अपराधी हो, फटाहा हो भन्नेतर्फ नलागेर उल्टै त्यहीँ जग्गा खरिद गर्ने मान्छेको संरक्षण गर्न लागिपरेको देख्दा मुलुकमा अहिले पनि लुटाहा कै बिगबिगी छ भन्ने प्रुष्टी हुन्छ । अहिलेको सरकार भनेको मात्रै यिनैको दलाली गर्ने, चाकडी चाप्लुसी गर्ने दलालभन्दा अर्को केही पनि हैन भन्ने कुरा बालुवाटार प्रकरण हो भनेर ठोकुवा गर्न सकिन्छ ।

सरकारले बालुवाटारको जग्गा रोक्का राख्न दिएको निर्देशन नमान्ने भुमि सुधार कार्यालयका कर्मचारीलाई कार्वाही गर्ने हिम्मत गर्दैन । प्रधानमन्त्री केपी ओली भाषणमा एक रूपैयाँ पनि भ्रष्टाचार गर्न दिन्न भन्ने कुरा त फगत हावादारी गफभन्दा अर्कोथोक केही पनि हैन । अहिले आफ्नो वरिपरिको सरकारी जग्गा बिक्रीवितरण खुलेआम भइरहँदा न त कार्वाही गराउन सक्छन् न त दरो कदम नै चाल्न सक्छन् । साँच्चै माफिया कति शक्तिशाली छ । देशमा जुनसुकै दलको सरकार भए पनि केही फरक पर्दैन, मात्रै आफ्नो स्वार्थ अनुकूल चल्ने कठपुतली भए पुग्छ ।

अलिअलि चन्दा पार्टीलाई दिएको भरमा केही नेतालाई सहयोग गरेकै भरमा आफ्नो गोरखधन्दा मजाले चलाइरहेका छन् । अहिले बामपन्थी शक्तिशाली सरकारले त केही लछारपछार लगाउन नसक्ने दलाललाई ९÷९ महिनामा फेरिने सरकारले हिजो केही गर्ने हिम्मत कसरी गर्न सक्थ्यो, आफै अनुमान लगाउन सकिन्छ । गायक पशुपति शर्माले गाएको चर्चित ‘लुट्न सके लुट कान्छा नेपाल मै छ छुट अरू देशमा पाइदैन नेपाल मै हो छुट’ भनेको गीत यस्तै यस्तै बेथितिलाई संगालेर बनाइएको हो भन्ने कुरा थाहा पाएपछि यसलाई हटाउन ठूलो कसरत गरिएको कुरा छर्लङ्ग छ ।

जसरी पनि पैसा कमाउने र धनी हुने । जसरी पनि शक्तिशाली हुने भूमाफिया सरकारलाई आफ्नो अनुकूल चलाउन सक्ने हैसियतमा पुगिसकेका छन् । आज भइरहेको चलखेल यहीँ नै हो । पशुपतिनाथको जग्गा अतिक्रमण, त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण, फेवातालको जग्गा अतिक्रमण गरेर घर तथा भवन बनाउने काम खुल्लम खुल्ला भइरहेको छ मात्रै सरकार रमिते बनिरहेको छ । मानौँ अहिले देशमा बनेको सरकारको काम भनेको यिनै दलालको खुसामत गर्ने हो अनि अर्को पटक चुनाव लड्नको लागि पैसा जुटाउने हो भन्ने नै देखिन्छ ।

सामाजिक संजाल हेर्ने हो भने जताततै यहीँ बालुवाटार कै जग्गाको चर्चा चलिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव पौडेलले बिज्ञप्ती प्रकाशित गरेपछि झन् बढी तरङ्ग आएको छ । बुटवलको जग्गा बिक्रीबितरण गरेर छोराको नाममा बालुवाटारमा जग्गा खरिद गरेको हो भनेर स्पष्टीकरण दिन खोजेका छन् । यो कुरालाई नेपाली जनताले सहजै मान्ने देखिदैन किनभने अहिले नेता पौडेलले भनेको कुरामा बिश्वास गर्ने आधार देखिदैन । बालुवाटारको जग्गा बेच्न सक्ने भूमाफिया भन्दा पनि त्यो जग्गा किनेर घर बनाएर बस्न योजना बनाउने महासचिव पौडेलले अझै महान हुन् भनेर भन्दा सबै सहमत हुन्छन् जस्तो लाग्छ । साँच्चै देशमा संविधान छ यदि सरकार छ भने बालुवाटार बेच्ने दलालहरूलाई काठमाडौंको बीच सडकमा ल्याएर गोली ठोकेर मार्नुपर्छ अनि मात्रै यस्तो नचाहिने साहस गर्न सक्दैनन् । चोरीको सामान बेच्ने र किन्ने दुबै अपराधी होभने यो जग्गा बेच्ने र किन्ने दुई पक्षनै महाअपराधी हुन् । उनीहरुलाई ठेगान लगाउने कि संरक्षण गर्ने अब छिनोफानो गर्ने समय आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->