शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘उज्यालो गाउँपालिका’ बन्ने भयो ताराखोला

‘उज्यालो गाउँपालिका’ बन्ने भयो ताराखोला

ताराखोला साना जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०७६, सोमबार

बागलुङ, १६ वैशाख-जिल्लामा निर्माण भइरहेको ताराखोला साना जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । ताराखोला गाउँपालिकास्थित ३८० किलोवाटको आयोजनाबाट छिट्टै नियमित विद्युत् उत्पादन शुरु हुनेछ । विद्युतीकरणका लागि तार विस्तार, मिटर जडान लगायतका काम भइरहेको ताराखोला जलविद्युत् लिमिटेडले जनाएको छ ।
‘विद्युत्गृहको परीक्षण सफल भयो’, आयोजनाका इञ्जिनीयर दिलबहादुर थापाले भने, ‘अब वितरणको काम बाँकी छ ।’ सिभिल र इलेक्ट्रोमेकानिकलतर्फको काम पूरा भएपछि आयोजनाबाट शनिबार परीक्षण उत्पादन गरिएको थियो । रु १८ करोडको लागतमा बन्ने आयोजनाले ‘उज्यालो गाउँपालिका’ को लक्ष्य पूरा हुने जनाइएको छ । आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु नौ करोड १२ लाख अनुदान उपलब्ध गराएको छ । यस्तै गाउँपालिकाका एक हजार ६९१ जनाले शेयर हालेका छन् । लागत थप बढ्नसक्ने अनुमान गरिएको छ । गाउँपालिकाका पाँच वटै वडाका दुई हजार २०० घरधुरीमा विद्युत् पु¥याउने आयोजनाको शुरुको लक्ष्य थियो । वडा नं १ को अमरभूमिमा केन्द्रीय विद्युत् पुगेपछि उपभोक्ता घटेर एक हजार ७०० पुगेका छन् । प्रत्येक घरधुरीबाट न्यूनतम रु १५ हजारका दरले शेयर उठाइएको छ । ‘सक्नेले बढी पनि हाल्नुभएको छ’, आयोजनाका अध्यक्ष हिमाल विकले भने, ‘गाउँपालिका बाहिरबाट कसैको शेयर छैन ।’ परीक्षण उत्पादन सफल भए पनि घरघरमा विद्युतीकरण गर्न अझै केही महीना लाग्ने उनको भनाइ छ । ग्राहकको घरमा ‘स्मार्ट मिटर’ जडान गर्ने आयोजना व्यवस्थापनको तयारी छ । पहिले सामुदायिक ढाँचाको आयोजना पछि कम्पनीमार्फत अघि बढेको थियो । विसं २०६८ मा निर्माण शुरु भए पनि लगानी, कामदार अभाव, ढिलासुस्तीजस्ता कारणले आयोजना पछि धकेलिएको हो । कामै रोकिएर आयोजना अलपत्र परेपछि व्यवस्थापनसमेत फेरिएको थियो । केन्द्रबाट अनुदान स्वीकृत भएपछि कामले गति लिएको इञ्जिनीयर थापाले बताए ।
पहिलो किस्ता अनुदान रु एक करोड ८२ लाख र दोस्रो किस्ता रु एक करोड ८९ लाख आयोजनाले पाइसकेको छ । कामको प्रगतिका आधारमा बाँकी रकम उपलब्ध हुने जनाइएको छ । स्थानीय धप्ल्याङ, करिमेला, मपेस र ठूलो खोलाको पानीलाई पाइपलाइनमार्फत वडा नं ५ कै धस्मरमा रहेको विद्युत्गृहमा ल्याइएको छ । विद्युत आयोजनाबाट हिउँदमा ३८० किलोवाट विद्युत् उत्पादन हुने भए पनि वर्षायाममा ५०० किलोवाटसम्म विद्युत् उत्पादन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->