बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विद्यार्थीमाथिको भरोसा तिरोहित

विद्यार्थीमाथिको भरोसा तिरोहित


  • ईश्वर गौतम
  • बैशाख २५ २०७६, बुधबार

हिजोका दिनमा कतिपय समयमा राजनीतिक पार्टीले खेल्न नसकेको भूमिका विद्यार्थी आन्दोलनले खेलिरहेको थियो भन्दा आज आश्चर्य लाग्न सक्छ । राणाशासन होस या, ३० वर्षे पञ्चायती ब्यवस्था होस,चाहे राजतन्त्रको अन्त्य गरी लोकतन्त्र ,गणतन्त्रको स्थापना गर्ने सवालमा होस्, राजनितिक पार्टीले खेल्न नसकेको भूमिका विद्यार्थी संगठनले खेलेको इतिहास छ । जुन कुरा अकथनीय छ । त्यही कारणले जनताले राजनीतिक पार्टी भन्दा विद्यार्थी संगठनलाई रुचाएको पाइन्थो ।
राष्ट्रियताको पक्षमा ,आम जनताको पक्षमा र शैक्षिक क्षेत्रमा भएका हरेक बिकृति भित्रिँदा विद्यार्थीहरु नै अग्रपंक्तिमा हुन्थे । जब अन्याय हुन्थ्यो, बिद्यार्थी आन्दोलन चर्किन्थ्यो र वारपारको लडाइँ चल्थ्यो । विद्यार्थी आन्दोलनले कहिल्यै हार खाएन । बिद्यमान शोषण प्रदान समाजमा भएको अन्याय अत्याचार ,सामन्ती पूँजिवादी कुरिति कुसंस्कारका विरुद्ध, गलत चिजको भण्डाफोर गर्न एकट्ठा भै लाग्थे । कट्ट्रबादी थिए । यसैले विद्यार्थी आन्दोलनलाई नै नेपाली जनताले ऋतुव्रत आन्दोलन सम्झन्थे र त्यति नै बिश्वास गर्थे ।
सरकार जुनसुकै पार्टी को होस्, विद्यार्थीहरु सधँै अन्याय, अत्याचार ,शोषण र दमनको विरुद्ध अग्रणी भूमिका निर्वाह गरिरहेका हुन्थे । त्यसैले विद्यार्थी आन्दोलनलाई प्रतिपक्षी आन्दोलनको रुपमा लिइन्थ्यो ।तर विद्यार्थी आन्दोलनको यो चरित्र बहुदलीय प्रणालीको स्थापनासँगै बिस्तारै किनारा लाग्दै गयो । आज ,हिजो निःशुल्क शिक्षाकानिम्ति लडेको संगठन , भ्रष्टाचार र अन्यायकानिम्ति लडेका संगठनहरु आज मातृपार्टीको कठपुतली बनेका छन भन्दा फरक पर्दैन । हिजो प्रतिपक्षीय मानिने विद्यार्थी आन्दोलन आज सत्ता टिकाउने काममा लागेको प्रतित भएको छ ।
जब आफ्नो माउ पार्टी सत्तामा हुन्छ अनि उपेक्षायोग्य निर्णय हुँदा पनि कानमा तेल हालेर बस्ने तर अर्को पार्टीको सत्ता छ भने राम्रै भए पनि अस्विकार गर्ने र सडकमा रोइलो गर्ने प्रवृत्ति हावी भएको छरपस्ट देखिन्छ । यसले गर्दा हिजोका दिनमा जुन विद्यार्थी आन्दोलनको लोकप्रियता थियो त्यो आज स्खलित हुँदै गएको छ । त्यसैले विद्यार्थी आन्दोलन अलोकप्रिय ,अविश्वसनीय र आलोचनाको केन्द्रबिन्दु बनेको छ ।
बुर्जुवा शिक्षा भनेर समान शिक्षा, ब्यबहारिक ,बैज्ञानिक शिक्षाको निम्ति आवाज उठाउने बिद्यार्थी संगठन आज शिक्षालाई ब्यापारीकरण गर्ने र शिक्षालाई कमाई खाने भाँडो ठान्ने पुजिँवादीहरुसँग, शैक्षिक ब्यापारीहरुसँग आर्थिक लेनदेन गरेर टुंग्याउने, नातावाद, कृपावाद र पार्टीवादको आडमा जोगाउन र आफ्नो ब्यक्तिगय स्वार्थसिद्ध गर्न सक्रिय देखिन्छन् । जस्ले विद्यार्थी आन्दोलनको औचित्य माथि नै प्रश्नचिन्ह खडा नहुनेमा शंका गर्न सकिदँैन ।
हिजोको त्यो विज्ञान प्रविधी र स्रोत साधनहरुको अभाव भएको त्यो जटिल परिस्थितिमा पनि हरेक व्यक्ति अध्ययनशिल थिए । तार्किक, बौद्धिक, सैद्धान्तिक दृष्टिकोणले हेर्दा जति खारिएका थिए, त्यो हिसाबले हेर्दा त आजको यो विज्ञान प्रबिधिको प्रयोग र सहज वाताबरण .मा अझै बैचारिक हुन पर्नेमा अहिले झन कमजोर बन्दै गएको छ । विद्यार्थी नेताहरु पदका लागि नेतृत्वको घर चाहार्ने, चाकडी गर्ने तर काम भने सिन्को पनि नभाँच्ने अवस्था छ ।
हिजोका विद्यार्थी नेताहरुमा कामप्रति एकदमै लगाव हुन्थ्यो । विद्यार्थी र जनताका कामलाई दिलोज्यानले सहयोग गर्नुपर्छ भन्ने भावना थियो । इमानदारीता उत्तिकै हुन्थ्यो र पो आम जनता ले मन पराउँथे । अहिलेका विद्यार्थी नेता भने विद्यालय , क्याम्पस, विश्वविद्यालयका विद्यार्थी माझ बसेर उनीहरुका समस्या का सारथी बन्ने ,उनीहरुको असली अगुवा र अभिभावकीय जिम्मेवारी बहन गर्नेभन्दा सिंहदरवार केन्द्र मान्ने, मन्त्री र नेतृत्वका घर चाहार्ने , मन्त्रीका पिए बन्ने , नेताका चाकरी गर्ने धन्दामा ब्यस्त छन् । यसले विद्यार्थी आन्दोलनप्रतिको आम नागरिक र सम्भावित अवसरकानिम्ति वामे सर्दै गरेका देशका बौद्धिक जमात विद्यार्थीवर्गको बिश्वास घट्दो छ । अर्कोतर्फ बिद्यार्थी राजनीति गर्नेहरु पनि यस्ता घीनलाग्दा चरित्र देखेर निराश देखिन्छन् । जस्ले गर्दा राजनीतिमा लाग्ने युवा विद्यार्थीको संख्या पनि न्यून देखिन्छ् । अर्कोतर्फ, विद्यार्थी राजनीतिमा हात हाले भने पनि त्यही नकारात्मक प्रभावमा परी अर्थोपार्जनकालागि मरिमेट्ने बाटो समातेको देखिन्छ । जस्ले गर्दा सिंगा विद्यार्थी आन्दोलनको इतिहास र देशको बिकास निर्माण र भविष्य नै जोखिममा परेको देखिन्छ ।

ती बिद्यार्थी आन्दोलन का पाना पल्टाएर हेर्दा लाग्छ । बिद्यार्थी आन्दोलन त्यसरी शशक्त्त ,राष्ट्रियता निम्ति , आम जनता का निम्ति नभएरअहिलेजस्तोब्यक्ति गत स्वार्थ , ब्यक्तिबादी पार्टी बादी भैदिएको भए आज हामी निर्धक्क भएर नेपाली हु भन्न पाउने स्थिति नहुने खतरा उत्तिकै हुन्थ्यो ।
हिजो र आजमा यही फरक छ ! हिजो देशका निम्ति, राष्ट्रियताका निम्ति, राष्ट्रको सुरक्षाको लागि, आम नागरिकको लागि, अन्याय र अत्याचारका लागि, न्यायको पक्षमा आन्दोलन हुन्थे भने आज ब्यक्त्तिगत स्वार्थको निम्ति माउ पार्टीको भविष्यको आँकलन गर्दै आन्दोलन हुन्छ÷ देखिन्छ ।
हिजोको गायक प्रवीण गुरुङको घटना काण्ड, नमिता–सुनिता काण्ड ,सांसदलाई पेन्सन दिने निर्णयमा गरिएको आन्दोलनमा विद्यार्थीहरु सडकमा ओर्लिएर सरकारलाई घुँडा टेकाई छाड्थे । तर, अहिलेको निर्मला पन्त हत्या, वाइडबडी काण्ड होस् या पछिल्लो समयमा एनसेलको कर छली होस्, विद्यार्थी संगठन कहिँकतै देखिँदैनन् । जो देखिन्छन्, ती पनि प्रतिपक्षी दल निकटका हुन्छन् । उनीहरु एक– दुई दिन उफ्रन्छन्, तेस्रो दिनबाट जस्ताको तस्तै ! सबै ब्यक्त्तिगत स्वार्थ मै तल्लिन ! यही चालले देश कता जाने हो र त्यो विद्यार्थी आन्दोलनको गौरवशाली इतिहास कहाँ पुग्ने हो ? भन्ने गाह्रो छ ।
त्यसैले फेरि अब युवा विद्यार्थीहरु गलत प्रवृत्तिका बिरुद्ध फेरि जाग्नुपर्ने आवश्यकता देखिएको छ । ब्यक्तिगत स्वार्थ र नकारात्मक कुराहरु जस्ले गरे पनि त्यसको भण्डारफोरगर्दै देशको निम्ति उनीहरु नउठ्ने हो भने विद्यार्थीमाथि इतिहासले सुम्पेको जिम्मेवारीप्रति गद्दारी हुनेछ । अब कुनै पार्टी भएर होइन सच्चा देशभक्त नेपाली नागरिक भएर नलाग्ने हो भने हाम्रो राष्ट्रिय अखण्डता,न्याय,समानता,सुशासन, विकास निर्माण ,समृद्धिका कुरा कागज मै सीमित रहनेछन् ।

निष्कर्षमा , नेपाली विद्यार्थी आन्दोलनले एउटा गौरवशाली इतिहास रचेको थियो । जस्ले राणा शासन का विरुद्ध लड्यो, पञ्चायती व्यवस्थाका विरुद्ध लड्यो,लोकतन्त्र , गणतन्त्र स्थापनाको लागि लड्यो र मुलुक यो अवस्थासम्म ल्याइपु¥यायो, ऊ नै अहिले पथभ्रष्ट भएको छ । अब विद्यार्थीहरु मुलुकको विकासको लागि कम्मर कसेर लाग्न जरुरी देखिन्छ । अब जनताका अधिकारलाई स्थापित गर्न लाग्न सकिएन र तमाम बिकृतिहरु टुलुटुलु हेरेर बस्ने हो भने विद्यार्थीमाथिको भरोसा तिरोहित हुनेछ । ब्यक्तिगत स्वार्थ, पद, प्रतिष्ठा, छोरा नातिका लागि दानापानी जम्मा गर्ने , अर्थोपार्जन थुपार्नतर्फ लागे विद्यार्थी आन्दोलनको गौरवशाली इतिहास हराउनेछ । राष्ट्रियता, राष्ट्रिय अखण्डतामाथि नै प्रहार हुने , मुलुक दुर्घटनातर्फ जाने र विद्यार्थी आन्दोलन अनि सङ्गठनको औचित्यमाथि नै प्रश्न खडा हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->