बागलुङ, २७ बैशाख –पछिल्लो चरणमा लघुवित्त कार्यक्रमका केन्द्रहरुको गुणस्तर कमजोर भईरहेको परिवेशमा जिल्ला स्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले केन्द्रहरुको थप गुणस्तर बृद्धि र सुदृढिकरणलाई मध्येनजर गर्दै बिहीवारदेखी आफ्ना शाखा कार्यालयहरु मार्फत स्वच्छ लघुवित्त, हाम्रो अभियान भन्ने मुल नाराका साथ केन्द्र व्यवस्थापन तालिमको सुरुवात गरेको छ । विगत वर्षहरुमा वार्षिक केन्द्र प्रमुख उपप्रमुख तथा वार्षिक समिक्षा गोष्ठि गर्दे आईरहेको संस्थाले यस वर्ष उक्त मोडलाई परिवर्तन गरी केन्द्र व्यवस्थापन तालिमको माध्यमबाट नवनिर्वाचीत सम्पूर्ण केन्द्रका केन्द्र प्रमुख र उपप्रमुखहरुलाई केन्द्र सञ्चालनमा दक्ष बनाउने उद्देश्य राखेको छ । संस्थाका सुचना अधिकृत सुमन जि.सी.ले शाखा कार्यालय अन्तर्गत रहेका केन्द्रहरुको गुणस्तरका आधारमा राम्रा, कमजोर र अति कमजोर गरी तिन वटा क्याटगोरी छुट्टयाई बैशाख र जेष्ठ महिनामा विभिन्न चरणमा केन्द्र व्यवस्थापन तालिम सञ्चालन गर्ने संस्थाको योजना रहेको बताए । केन्द्र व्यवस्थापन तालिमको सुरुवात संस्थाले शाखा कार्यालय हटिया, कुश्मिसेरा र तानसेनबाट गरेको छ । आज देखि सुरुवात भएको तालिममा मुख्यतया केन्द्र के हो ? केन्द्रलाई व्यवस्थापन कसरी गर्ने, केन्द्रमा गर्नुपर्ने मुख्य कार्यहरु, केन्द्रमा हुनुपर्ने गुण र विशेषताहरु, केन्द्र व्यवस्थापनको महत्व, केन्द्र मुल्याङ्कन, मुल्याङ्कनका आधार र अंक, केन्द्रका पदाधिकारीको काम कर्तव्य र अधिकार र संस्थाद्धारा प्रदान गरिने सेवा सुविधाहरुको विषयमा जोड दिईने संस्थाका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले बताए ।
संस्थाले पहिलो चरणको तालिममा सम्पूर्ण शाखा कार्यालयहरुमा मुख्य कार्यालयबाट प्रतिनीधि तोकेको छ । जसमा प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारी, प्रवन्धक संगिता शर्मा पौडेल, सिनीयर आन्तरीक लेखा परक्षिक मुक्तिप्रसाद शर्मा, बचत तथा ऋण अधिकृत प्रेमवहादुर थापा र लेखा अधिकृत प्रतिभा शर्मा रहने छन् साथै तालिममा बाह्य सहजकर्ताको रुपमा एक शाखाको प्रवन्धकलाई अर्को शाखामा तोकिएको संस्थाले जनाएको छ ।
साविक चारतारे युवा क्लव सिवाईसी नेपालको मुख्य प्रवद्र्धनमा स्थापीत सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडमा हाल ३८ हजार सदस्य रहेका छन् । संस्थाले आफ्ना २१ वटा शाखा कार्यालयहरु मार्फत सदस्यहरुबाट संकलीत बचत ६२ करोड, सदस्यहरुको आय आर्जनका क्षेत्रमा लगानी गरेको बाँकी ऋण ९४ करोड र कुल सम्पत्ती (वासलात) १ अर्व १५ करोडको रहेको सुचना अधिकृत जि.सी. ले बताए ।





