शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ठूला व्यवसायमा संयुक्त लगानीको अभ्यास

ठूला व्यवसायमा संयुक्त लगानीको अभ्यास


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०७६, शुक्रबार

पोखरा, २७ वैशाख – केही वर्षअघि पोखरामा संयुक्त लगानीमा ‘पोखरा टे«ड मल’ खुल्यो । विभिन्न ठाउँमा व्यवसाय गर्दै आएका व्यवसायीहरु मिलेर करिब १अर्ब ६ करोडको संयुक्त लगानीमा टे«ड मल बनेको हो । पोखरा ट्रेड मल प्रालिका प्रवन्ध निर्देशक मीनराज काफ्लेका अनुसार अहिलेको जमानामा सानो पूँजीले कुनै काम नहुने भएकोले संयुक्त लगानीको अवधारणामा टे«ड मल बनेको हो ।  यो त उदाहरण मात्र  हो, यतिबेला  प्रतिष्पर्धी बजारलाई ध्यानमा राख्दै पोखरामा संयुक्त लगानीमा व्यवसाय संचालनको थालनी भएको छ ।बढ्दो लागत, गुणस्तरीय उत्पादन र सुविधा तथा संयुक्त लगानीमा कम जोखिम हुने भएकोले व्यवसायीहरु एकलको सट्टा संयुक्त लगानीप्रति आकर्षित भएका  हुन् ।  पोखराका पुराना सुनचाँदी व्यवसायीहरु मिलेर  युनाइटेड गोल्ड मार्ट प्रालिको नाममा देशैभर सुन र चाँदीको कारोवार गर्ने पसलहरु खुलेको छ भने  स्तरीय होटल, मासु व्यवसाय र सुपर मार्केटमा पनि संयुक्त लगानीको थालनी भएको छ । रियलस्टेट, हाउजिङ मात्र नभएर पछिल्लो समय केवलकारजस्ता परियोजनामा पनि संयुक्त लगानीको अभ्यास थालिएको छ ।‘धेरैको विचार मन्थन गर्दा सही विचार निस्कन्छ,विश्वसनीयता बढ्छ र वित्तिय संस्थाहरु पनि लगानीका लागि उत्साहित हुन्छन्’, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले भने,‘धेरै साथी हुँदा प्रचार पनि बढी र एउटा हात नभए पनि अर्को हात हुने अवस्था रहन्छ ।’बजारमा प्रतिष्पर्धा बढ्दै गएपछि यहाँका परम्परागत व्यवसायीक घरानाहरुले आफन्त र नातेदारलाई नै साझेदार बनाउँदै व्यवसाय बिस्तार गरे पनि नया पुस्ता भने ‘असल साझेदार’सँग साझेदारी गर्दै विभिन्न क्षेत्रमा करोडौँ लगानी गर्न तयार भएका हुन् । पोखरामा पृथ्वी राजमार्गको सुरुवातसँगै भूतपूर्व सैनिक संघको नाममा बस व्यवसायमा संयुक्त लगानीको प्रयासको थालनी भएको थियो । बेलायती र भारतीय सेनाबाट सेवा निवृत्त भएका भूतपूर्व लाहुेरहरुले गरेको सो लगानी कालान्तरमा भने सुचारु हुन सकेन । ओम डेभलपमेण्ट वैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीका अनुसार व्यवसायीहरुले प्रतिष्पर्धी क्षमताको विकास गराउन  यस्तो लगानीले फाइदा पु¥याउने धारणा राखे । वैंकहरुले उत्पादनशील क्षेत्रमा गरिने लगानीलाई सधैँ प्रोत्साहन गरेको जनाउँदै उनले अनुत्पादक क्षेत्रमा गरिने संयुक्त लगानीको प्रतिफल भने डरलाग्दो हुने चेतावनी दिए । रियलस्टेट क्षेत्रमा ठूलो मात्रामा संयुक्त लगानी बढ्न थालेकोतर्फ सचेत हुनुपर्ने उनको भनाई छ ।यता संयुक्त लगानीमा  पोखराको महतगौँडामा संयुक्त लगानीमा हिमालयन मिट प्रालि नामक मासु प्रशोधन केन्द्र संचालन गर्दै आएका तेजबहादुर भट्टराईले संयुक्त लगानीले उत्पादनशीलता बढाउन मद्धत गर्ने भएकोले आफूहरु संयुक्त लगानीतर्फ आकर्षित भएको जनाए । लामो समयदेखि पोल्ट्री व्यवसायमा संलग्न उनकै  अगुवाइमा ३ दजर्न व्यवसायीहरुको सात करोड  लगानीमा सो मासु उत्पादन तथा प्रशोधन केन्द्र स्थापना भएको हो । त्यहाँ अहिले झण्डै ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।‘साना उद्योग वा व्यवसायले भन्दा ठूलाले नै उत्पादन र रोजगारी दुबै बढी दिने हुनाले अब ठूला परियोजनाबारे सोच्नुपर्छ’उनले भने,‘त्यसैले संयुक्त लगानीको आवश्यकता परेको हो ।’ पोखरामा थकालीहरुले सानो रेष्टुुरेण्टदेखि खाना खुवाउने होटलहरुसम्म पनि  संयुक्त लगानीमा संचालन गर्दै आएका छन् । लामो विदेश बसाईपछि पोखरामा मुस्ताङ थकाली किचन नामक रेष्टुरेण्ट खोलेर व्यवसाय गर्दै आएका बसन्त गौचनका अनुसार आपसी समझदारीमा गरिने संयुक्त लगानी सफल हुने सम्भावना बढी हुन्छ । पछिल्लो समय ब्यवसायमा लागत बढेकाले पनि संयुक्त  लगानी खोज्ने प्रक्रिया बढेको हो । पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाका अनुसार जग्गाको भाउ आकासिएकोले पनि ठूलो व्यवसायमा एक्लैले लगानी गर्न नसक्ने अवस्था आएको हो ।‘ यहाँ आफ्नै घर हुनेले सानो व्यवसाय एक्लै गर्न सक्लान् तर अब जग्गा किनेर ठूलो उद्योग चलाउँछु, ठूलो व्यवसाय गर्छु भन्दा चाहिने करोडौँ रुपैयाँ एक्लैले जोगाड गर्न गाह्रो छ’, उनले भने,‘ संयुक्त लगानी भयो भने दायित्व पनि बाँडिने भएकोले लगानीको पनि सुरक्षा हुन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->