बागलुङ २८ शनिबार – गाउँगाउँमा सहकारीमार्फत मात्र बित्तिय कारोवार गरेका स्थानीयलाई लक्षित गरेर ग्लोबल आईएमई बैंकले बागलुङको बलेवामा शाखारहित बैंकिङ सेवा थालेको छ ।
शुक्रबार बैंकले आफ्नो १ सय ३५ औं शाखा रहित बैंकिङ सेवा सुभारम्भ गरेको हो । बागलुङ नगरपालिका वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्रीले सेवा संचालनको श्ुभारम्भ गरे । उनले कारोवारका लागि पोष्ट मेसिन र प्रमाणपत्र बलेवाका लागि खटिएका बैंकका प्रतिनिधि नारायण श्रेष्ठलाई हस्तान्तरण गरे ।
कार्यक्रम सुभारम्भ गर्दै खत्रीले बित्तिय सेवा थालनी हुनु राम्रो भएपनि शाखा सहितको सेवा संचालन गर्न बैंकलाई आग्रह पनि गरे । उनले करोडौं रुपैयाँको कारोबार हुने ठाउँ भएकोले शाखा रहित कारोवारले नपुग्ने भन्दै शाखाकै माग गरेका हुन् । दैनिक करोडौं कारोवार भैरहने बलेवामा कुनैपनि बैंकको शाखा छैन ।
सहकारीमार्फत कारोवार गरिरहेका स्थानीयलाई सेवा दिने र बैंकमार्फत कारोवार गर्ने अबसर स्वरुप कारोबार थालिएको शाखा प्रबन्धक नारायण पौडेलले बताए । यो शाखाबाट सेवा ग्राहीले दैनिक १ लाख रुपैया“ बचत गर्न र ५० हजार रुपैया“ झिक्न पाउने व्यवस्था छ । केही समयको परीक्षण पछि यहा“ काउण्टर स्थापना गरेर चाहेजती झिक्न र राख्न पाउने व्यवस्था गरिने बैंकको योजना उनले सुनाए । आवस्यक परेमा शाखा खोल्ने तयारी समेत गरिने उनले आश्वासन पनि दिए ।
बैदेशिक रोजगारीमा यहा“का धेरै युवाहरु गएकोले रेमिट्यान्सको कारोवार बढी छ । आईएमईले रेमिट्यान्सको सेवा पनि संचालन गरेको छ । रेमिट्यान्समार्फत बलेवामा मात्र पनि दैनिक लाखौं रकम आउने गरेको स्थानीयले बताए ।
सुभारम्भ कार्यक्रममा शाखा प्रबन्धक नारायण पौडेल, वडा सदस्य सुरेन्द्र आचार्य, बैंकका कुश्मा शाखा प्रबन्धक गोबिन्द आचार्य लगायतले बोलेका थिए । शाखा प्रबन्धक नारायण शर्माको अध्यक्षता र बैंककै खगराज आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सेवा शुरु भएकै दिन स्थानीयले धमाधम खाता खोल्न आएको श्रेष्ठले बताए ।





