पोखरा, ६ जेठ – माटोको शहर ! सुन्दै अचम्म लाग्न सक्छ । तर विश्वमा नै माटोको शहरका नामले चिनिएको उपल्लो मुस्ताङमा पहिलोपटक लोमान्थाङ महोत्सवको आयोजना गरिएको छ । पराम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक पर्व तिजी मेलाको सन्दर्भ पारेर लोमान्थाङ गाउपालिकाले जेठ १६ देखि १९ सम्म महोत्सवको आयोजना गरेको छ । गण्डकी प्रदेश सरकारले सुरु गरेको आन्तरिक भ्रमण बर्ष २०१९ लाई सफल पार्ने उदेश्य सहित सो महोत्सव आयोजना गरिएको हो ।
ऐतिहासिक र साँस्कृतिक रुपमा परिचित माटोको शहरमा प्रथम लोमान्थाङ गाउपालिका महोत्सव आयोजना गरिएको गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले वताए । ‘प्रदेश सरकारको आन्तरिक पर्यटन बर्षलाई सफल पार्न र नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुराउन महोत्सव सञ्चालन गर्न लागिएको हो’ सांसद विष्टले भने–‘उपल्लो मुस्ताङलाई टुरिज्म सर्किटको रुपमा विकास गर्न पनि महोत्सव सहयोगी हुनेछ ।’ महोत्सव झोङ गुफामा सञ्चालन हुनेछ ।
‘गुफामै वसौं, गुफामै खाउ, गुफामै रमाउ’ यसले नै त्यहाँ पुग्ने पर्यटकलाई आकर्षण गर्नेछ । केभ रेष्टुरेन्ट, याकमा सवार, कोरला नाका भ्रमण, स्थानीय मौलिक संस्कृति, भेषभुषा, सांस्कृतिक कार्यक्रम, खेलकुदमा तिर, घोडादौड, बोरा दौड, मुसा बिरालो, भलिवल, ठेला प्रतियोगिता, म्हने नाँच थप आकर्षण हुने लोमान्थाङ गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा महोत्सव मुल आयोजक समितिका सचिव शुशिल कुमार अर्यालले वताए । स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण, पालिकाभित्रका पर्यटकीय गन्तब्यको प्रचारप्रसार, पर्यटन मार्फत स्थानीयको आर्थिक उपार्जन गर्ने महोत्सवले उदेश्य राखेको छ ।
‘कृषि, खेलकुद, संस्कृति, गुफा अनि दरबार – प्रथम लोमान्थाङ गाउपालिका महोत्सव पर्यटनको आधार’ मुल नारा तय गरिएको छ । महोत्सवमा कृषि, हस्तकला, स्थानीय उत्पादन र खाना लगायतका १७ वटा स्टल रहने अर्यालले वताए । महोत्सव सफल पार्न गाउपालिकाका अध्यक्ष सुवर्ण कुमार विष्टको संयोजकत्वमा २५ सदस्यीय मुल आयोजक समिति र विभिन्न आठ वटा उपसमिति गठन गरिएको छ । जेठ १६ गते उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले उदघाटन र १९ गते राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले समापन गर्ने कार्यक्रम रहेको आईतवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सांसद विष्टले जानकारी दिए । लोमान्थाङ गाउपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र इलाका संरक्षण कार्यालयको संयुक्त आयोजनामा वडा नं.१ स्थित झोङ गुफामा महोत्सव आयोजना हुनेछ ।





