बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

धौलागिरि सहकारी पोखराको अडिट नै फेल !

धौलागिरि सहकारी पोखराको अडिट नै फेल !


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०७६, सोमबार

पोखरा, ६ जेठ – संचालकहरुको मनोमानिका कारण पोखरामा रहेको धौलागिरि बचत तथा ऋण सहकारी संस्था संकटग्रस्त अवस्थामा पुगेको छ । संस्थाका अध्यक्ष तथा बोर्ड सदस्यहरुले आफूखुसी नजिकका मान्छेहरुलाईे बिना धितो ऋण प्रवाह गर्ने तथा संस्थाको पैसा आफ्नो हितमा खर्च गर्दा सर्वसाधारणको सेयर समेत असुरक्षित बन्न पुगेको छ ।
आर्थिक अनियमितताकै कारण संस्थाको आर्थिक वर्ष २०७४÷०७५ को लेखा परीक्षण नै हुन सकेको छैन । यसैगरी सहकारीले कर कार्यालयबाट आर्थिक वर्ष २०७३÷०७४ को करचुक्ताको प्रमाणपत्र समेत पाउन सकेको छैन । आर्थिक वर्ष सकिएको तीन महिनाभित्र लेखा परिक्षण गराइसक्नु पर्ने नियम भए पनि आर्थिक अनियमितताका कारण संस्थाले अहिलेसम्म पनि लेखा परीक्षण गर्न नसकेको हो । सहकारीमा अहिले करिब १५ सय जति सेयर सदस्य रहेका छन् भने चालु पूँजी ६ लाख जति रहेको छ । सहकारीले सदस्यहरुबाट करिब १३ करोड निक्षेप संकलन गरेको छ ।
सहकारीले करिब ९ करोडजति लगानी गरेको छ तर कतिपय व्यक्तिलाई बिना धितो ऋण दिँदा समस्या देखिएको छ’, स्रोतले भन्यो,‘ बोर्डका सदस्यहरुको मिलेमतोले सर्वसाधारणको पैसा डुब्ने सम्भावना देखिएको छ ।’ अहिले सहकारीका अध्यक्ष तोकबहादुर गुरुङ रहेका छन् । अध्यक्ष गुरुङसहित संस्थापक अध्यक्ष थमप्रसाद सेरचन, उपाध्यक्ष देवीजंग गुरुङसहितको मिलेमतोमा आफ्ना नजिकका मान्छेहरुलाई बिना धितो ऋण दिने र कतिपय अवस्थामा कमिसन खाने गरेको स्रोतको दावी छ ।
सहकारीका संस्थापक थमप्रसाद सेरचन स्वयंलेक केही व्यक्तिलाई बिना धितो ऋण दिइएको स्वीकारे । ‘एक दुई लाख रुपैयाँ त जसले पनि बिना धितोमै दिन्छ’, उनले टेलिफोनमा भने,‘हामीले सबै लगानी बोर्डको निर्णपछि गरेका छौँ, हामीकहाँ अनियमितता छैन ।’ उनले सहकारीको व्यवस्थापन हेर्ने श्यामसुन्दर श्रेष्ठका कारण लेखा परीक्षण हुन नसकेको दावी गर्दै अहिले श्रेष्ठले जागिर छाडेकाले छिट्टै लेखा परीक्षण गरिने बताए । लामो सयमसम्म लेखा परीक्षण नभएपछि सेयर सदस्यहरुले नै के कारणले लेखा परीक्षण भएन भन्दै संचालक समितिसँग जवाफ मागे पनि समिति भने अहिलेसम्म मौन रहेको छ । धौलागिरिमा देखिएको समस्याबारे यहाँको सहकारी मन्त्रालय पनि जानकार रहेको छ । सहकारी बोर्डले संचालक समितिसँग यसबारे जानकारी पनि मागेको स्रोतले बतायो ।
सहकारीले पोखराको नयाँबजारमा आफ्नो भवन खरिद गरेको छ । तर, भवन सहकारीको नाममा भने छैन । कित्ता नम्बर ४८ मा ७४.८० बर्गमिटरमा रहेको घर अध्यक्ष तोकबहादुर गुरुङको नाममा रहेको छ । सहकारीले २०७० साल चैत ४ गते घर किनेको भए पनि अहिलेसम्म व्यक्तिको नाममा घर राखिनु शंकास्पद भएको स्रोतले जिकिर ग¥यो । सहकारी ऐनले संस्थामा भएको कारोवार फरफारक नगरेमा वा तिर्न बुझाउन पर्ने ऋणको रकमको भार नघटाएमा÷नबुझाएमा संचालक समितिमा बस्न अयोग्य मानिन्छ । सहकारीका संचालक समितिमा बस्नेहरुले ऋण लिन पनि पाउँदैनन् । तर, अहिले संचालक समितिमा भएकाहरुले नै ऋण लिएको र समितिमा बस्न आफूले लिएको ऋण अर्को व्यक्तिको नाममा सारेको समेत पाइएको छ । यसैगरी सहकारीका एक ऋणीबाट पैसा उठाउने नाममा सहकारीबाट ५० लाख रुपैयाँ झिकिएको र त्यो पैसा अर्कै जग्गा किन्न प्रयोग गरिएको पनि स्रोतले बतायो ।
ऋणी केशव पौडेलको पैसा उठाउने भन्दै संचालक समितिले मिति २०७४ साल भदौ १७ गते निर्णय गराएर उपाध्यक्ष देवीजंग गुरुङको नाममा एडभान्स रकम निकालियो । ओम बैंकबाट पैसा निकाल्ने बेलामा चेक भने ताराबहादुर बिकको नाममा काटियो । ताराबहादुर बिकसँग सहकारीको कुनै साइनो नै छैन । ऋणीले धितो राखेको जग्गा लिलाम प्रक्रियामा लैजानुपर्नेमा सहकारीका संचालकहरुले ऋण उठाउने नाममा पैसा निकालेर चितवनमा ताराबहादुरसँग जग्गा किन्ने निर्णय गराए । बिना धितो ताराबहादुरलाई दिइएको पैसा उठाउन सहकारीको तर्फबाट मुद्दा समेत गरियो ।
‘हामीले ऋण उठाउन नै यसो गरेको हो, अहिले ताराबहादुरबाट पैसा उठिसकेको छ’, सहकारीका संस्थापक थमप्रसाद सेरचनले भने,‘हाम्रोमा कुनै अनियमितता छैन ।’ सहकारीका बोर्ड सदस्यहरुले महंगो होटलमा बैठक राख्ने, बैठक भत्ता खाने र होटलको बिल पनि सहकारीमार्फत नै तिर्दै सर्वसाधारणको पैसा जोखिममा पारेको पनि स्रोतको दावी छ । तर, अध्यक्ष तोकबहादुर गुरुङ भने सहकारीमा कुनै अनियमितता नभएको दावी गर्छन् । ‘यो हाम्रो सहकारीको कुरा हो, तपाईँलाई किन चाहियो हाम्रो कुरा ?’, उनले टेलिफोनमा भने,‘ हामीमाथि दुस्मन लागेका हु्न्, हामी ठीक छौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->