बागलुङ, ६ जेठ – उपचारको क्रममा मृत्यु भएका बागलुङ जैमिनी–१० राङखानीका निजि विद्यालयका प्रिन्सिपल मिमवहादुर श्रीसको परिवारलाई बागलुङ समाज पोखराले आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष कुलचन्द्र शर्माले मृतक श्रीसकी कान्छी छोरी नविना श्रीसलाई सोमवार पोखरामा नगद रु. ५२ हजार ५ रुपैयाँ प्रदान गरे । सो रकम समाजको संयोजनमा संकलन गरिएको हो ।
छोरीलाई नगद प्रदान गर्दै शर्माले विपतमा परेका र न्यून आय भएकाहरुलाई समाजले सहयोग उपलब्ध गराउदै आएको वताए । ‘यो हाम्रो सानो सहयोग हो, अध्यक्ष शर्माले नगद प्रदान गर्दै भने, हामीले गुरुका परिवारलाई भविष्यमा पनि सहयोग गर्नेछौ ।’
‘श्रीस स्थानीय नीजि विधालयको प्रिन्सिपल मात्रै नभएर समाजसेवी पनि हुनुहुन्थ्यो, समाजका पदाधिकारी र पत्रकारको विचमा आफन्तहरुलाई साक्षी राखेर अध्यक्ष शर्माले भने, उहाँका छोराछोरीको उच्च शिक्षाका लागि पनि आवश्यक सहयोग गर्नेछौ ।’ समाजले जिल्लावासीलाई आपतविपत पर्दा आर्थिक लगायत विभिन्न सहयोग गर्दै आइरहेको छ ।
राङखानी इङलिस बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल रहेका श्रीसलाई छाला रोग ‘पेमाफिगस भलगरोस’ लागेको थियो । संसारका विरलै मान्छेलाई लाग्ने सो रोगको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराउदै गर्दा श्रीसको गत वैशाख १६ गते निधन भएको थियो । उनका दुई छोरी र एक छोरा रहेका छन । छोरीहरुले भरखरै दश जोड दुईको परिक्षा दिएका छन भने छोरा स्थानीय राङखानी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छन ।





