पोखरा,१७ जेठ – गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७६÷०७७ को लागि ३४ अर्ब बढिको बजेट ल्याउने भएको छ । जुन चालु आर्थिक वर्ष ०७५÷७६ को भन्दा १० अर्बले बढि हो ।सरकारले चालु आर्थिक वर्षमा २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको थियो । मध्यमकालीन खर्च संरचना चालु आर्थिक वर्षको बजेटसँगै आगामी वर्षको बजेट पनि प्रक्षेपण गरिएको थियो ।खर्च संरचनाको आधारमा आगामी आर्थिक वर्ष ०७६÷७७ को बजेट भने ३४ अर्ब १९ करोड ३५ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । प्रदेशका अर्थमन्त्री किरण गुरुङले पनि आगामी वर्ष सरकारले ३५ अर्बको हाराहारीमा बजेट ल्याउने जानकारी दिए ।‘हामी अहिले प्रिबजेट तयारीमा नै छौँ, मध्यमकालीन खर्च संरचनाका आधारमा गरिएको प्रक्षेपण अनुसार कै बजेट आउँछ’ उनले भने ।गुरुङका अनुसार संघ सरकारले आगामी आर्थिक वर्षको लागि राजस्व बाँडफाँटतर्फ ७ अर्ब ७० करोड रुपैयाँको सिलिङ पठाएको छ भने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड रुपैयाँ अनुमानित विवरण पठाएको छ । चालु आर्थिक वर्षमा राजस्व बाँडफाँटतर्फ ६ अर्ब ५७ करोड र वित्तीय समानीकरण अनुदान ६ अर्ब ७७ करोड रुपैयाँ थियो ।यो संरचना अनुसार यी तीन आर्थिक वर्षमा संघीय सरकारले दिने वित्तीय समानीकरण, सशर्त, विशेष र समपुरक अनुदानबाट क्रमशः २१ अर्ब १२ करोड र २६ अर्ब ४९ करोड रुपैयाँ आउने प्रक्षेपण गरेको छ ।मध्यमकालीन खर्च संरचनाको आधारमा सरकारले आर्थिक वर्ष ०७६÷७७ मा २ अर्ब ३२ करोड रुपैयाँ संकलन गर्ने प्रक्षेपण गरिएको छ ।यस्तै, आगामी आर्थिक वर्षमा कुल बजेटमध्ये चालु खर्च ८ अर्ब २१ करोड ९८ लाख रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ७६ करोड २१ लाख रुपैयाँ विनियोजन हुने प्रक्षेपण गरिएको छ । सरकारले बाँकी १ अर्ब १ करोड रुपैयाँ आन्तरिक ऋणबाट उठाउनेछ ।बजेटको स्रोत भने २१ अर्ब १२ करोड संघीय अनुदान, राजस्व बाँडफाँड ८ अर्ब १५ करोड, आन्तरिक राजस्व २ अर्ब ३२ करोड, वैदेशिक अनुदान १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । यस्तै, सरकारले त्रिवर्षीय खर्च पि–१, पि–२ र पि–३ प्राथमिकताका योजनाहरुको आधारमा बजेट विनियोजन गर्नेछ ।





