बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दरमखोलाका माछाको मूल्य सात हजार

दरमखोलाका माछाको मूल्य सात हजार


  • बालकृष्ण सुबेदी
  • जेष्ठ १७ २०७६, शुक्रबार
????????????????????????????????????

गलकोट,१७ जेठ –  बागलुङको गलकोट क्षेत्र भएर बग्ने दरमखोलामा पाइने ‘असला’ माछा विदेशीको रोजाईमा परेपछि मूल्य बढेर केजीको सात हजार बढी पुगेको छ । ‘अर्गा्निक असला’ माछा पाइने दरमखोलामा बढेको प्रदुषण, करेन्ट प्रयोग गरी माछा मार्ने परिपाटीका कारण माछा कम हुँदै गएपनि त्यहाँका माछा विदेश निर्यात हुने भएपछि माछाको मूल्य बढेको व्यवसायीहरु बताउँछन् ।
अन्यत्र पाइने माछा भन्दा बढी स्वादिष्ट हुने भएपछि दरमखोलाका माछा जापान, अमेरिका, बेलायत लगायत युरोपका विभन्नि मुलुकहरुमा निर्यात हुने गरेका छन् । विदेशमा व्यवसायीक रुपमा माछा निर्यात नभएपनि ‘कोशेली’को रुपमा माछा पठाउने प्रचलन बढेको गलकोट होटल व्यवसायी संघका अध्यक्ष कौशिला घर्तीले बताइन। विदेश पठाउनका लागि पहिलेनै अर्डर लिएर माछा मार्ने गरेका स्थानीय जलारीहरुले माछा सुकाएर विदेश पठाउने गरेका छन् ।
खोलामा माछा कम पाइने र पाइएका माछापनि सिधै विदेश जाने भएपछि दरमखोलाको असला माछा खानकै लागि गलकोट आउनेहरुलाई पु¥याउँदै धौ–धौ हुने गरेको घर्तीले बताइन । ‘पहिले पहिले दरमखोलामा माछा जतिपनि पाइन्थ्यो, गलकोटको चिनारीकै रुपमा रहेको असला माछा खानका लागि टाढा टाढाबाट मानिसहरु आउँथे, त्यसैले हाटेल व्यवसाय राम्रोसँग फस्टाएको थियो, अहिले माछा विदेश पठाउने परिपाटीका कारण महंगो मूल्य तिरेर माछा खान आउनेहरुलाई पनि पु¥याउन सकेका छैनौं ।’ घर्तीले भनिन ।
आलो माछा प्रति किलोग्राम आठ सयदेखि एक हजार रुपैयाँसम्म पर्ने गरेकोमा सुकेको माछाको मूल्य सात हजार भन्दा बढी पुगेको स्थानीय जलारी नविन काउचाले बताए। आफू लगायत अहिलेपनि दरमखोलामा २०–२५ जना युवाहरुले माछा मारेरै जीविकोपार्जन गर्ने गरेको काउचाले बताए। आफूले मारेका माछा मध्य अधिकांश विदेशमा र केही सिमित मात्र गलकोट क्षेत्रका होटल व्यवसायीहरुलाई बिक्री गर्ने गरेको जलारीहरु बताउँछन् ।
गलकोट क्षेत्रबाट जापान, अमेरिका, बेलायत लगायत युरोपका विभिन्न मुलुकमा धेरै युवाहरु रोजगारीका लागि गएकाले पनि सुकेको माछा त्यहाँ पठाउने गरेको जलारीहरुको भनाई छ । ‘अहिले जापान लगायतका मूलुकमा गलकोटे युवाहरुका सयौं होटल तथा रेष्टुरेन्टहरु छन्, यहाँ महंगोमा खरिद गरेर लैजाने माछा त्यहाँको रेष्टुरेन्टमा बिक्री गर्ने गरेका छन् ।’ जलारी काउचाले भने ।
मध्यपहाडी लोकमार्ग अन्र्तगत बुर्तिवाङदेखि बागलुङ बजारसम्म नियमित रुपमा यातायात सञ्चालन भएपछि खोलाको माछा स्वदेशी बजारमा पनि बढी मात्रामा जाने गरेको होटल व्यवसायीको भनाई छ । ‘सडक नचल्दा आलो माछा बिक्री गर्ने बजार गलकोट क्षेत्रका बजार मात्र थिए, अहिले सडक सञ्चालनमा आएपछि पुर्व पश्चिमका मानिसहरुले पनि माछा खरिद गरेर लैजाने गरेका छन् ।’ स्थानीय होटल व्यवसायी पुष्प शेरचनले भने ।
व्यवसायीहरुले माछाका लागि प्रख्यात मानिएको दरमखोलामा माछा कम पाइनु गलकोट क्षेत्रका लागि दुःखको कुरा भएको उल्लेख गर्दे खोलामा अनियमित तरिकाले करेन्ट तथा विषादी प्रयोगलाई रोक्नका लागि स्थानीय प्रशासनले पनि पहल गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->