गलकोट,२० जेठ – ताराखोला गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु भएको छ ।प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत कामका लागी पारिश्रमिकमा आधारित अल्पकालिन रोजगार कार्यक्रमको सोमवार उदघाटन गरिएको हो । कार्यक्रम उदघाटन पछि बोल्दै ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले कुनै पनि काम सानो ठुलो नहुने बताए। उनले विदेशमा गएर काम गर्नुभन्दा स्वदेशमै सीप सिकेर काम गर्न सके स्वदेशमै रोजगारी पाउन सहज हुने बताए । घर्तीले अल्पकालीन रुपमा भएपनि संचालित यस कार्यक्रमले बेरोजगारहरुलाई आयआर्जनमा सहयोग संगै बिकास निर्माण कार्यमा समेत महत्त्वपूर्ण भुमिका खेल्ने घर्तीको भनाई छ।
गाउँपालिकाको कार्यालयमा गरिएको औपचारिक कार्यक्रम पछि श्रमिकहरु सहित ताराखोला २ को अर्गलमा सडक मर्मतको कार्य क्षेत्रमा पुगेर बाटो खनेर कार्यक्रमको उदघाटन गरिएको थियो। तोकिएको समय भित्र बेरोजगारको सुचीमा सुचिकृत रहेका ९५ जना पहिलो चरणमा रोजगारमा खटिएको ताराखोला गाउँपालिकाका रोजगार संयोजक शलोनी थापाले जानकारी दिइन।
पहिलो चरण मा रोजगारमा खटिने श्रमिकहरुले मंगलवारदेखि स्थानीयस्तरका टोल टोलमा टोलि प्रमुखको नेतृत्वमा २२ दिनसम्म सडक मर्मतको काम गर्ने गाउँपालिकाले जनाएको छ । यसरी काममा खटिएका श्रमिकले दैनिक रु ७ सयको दरले पारिश्रमिक पाउने रोजगार संयोजक सलोनी थापाले बताइन। रोजगारीमा खटिने श्रमिकहरुलाई पोशाक र निर्माण सामाग्री समेत बितरण गरिएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुन रोका,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा लगाएतले मन्तव्य राखेका थिए।
कार्यक्रम ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता, रोजगार संयोजक शलोनी थापाको संचालन र वडा न १ का वडा अध्यक्ष यामबहादुर श्रीसको स्वागतमा सम्पन्न भएको थियो ।





