गलकोट,२३ जेठ -बागलुङ उधोग वाणिज्य संघ गलकोट इकाईले प्रथम गलकोट महोत्सव २०७५ को आयव्यय एक कार्यक्रमका विच विहिवार सार्वजनिक गरेको छ ।
गत कार्तिक ९ गते देखि १८ गतेसम्म गलकोट हटियामा सम्पन्न महोत्सवको आयव्यय सार्वजनिक कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेल व्यवसायीक तथा पेशागत सामाजिक संस्थाले संस्थागत उदेश्यको साथै सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्ने बताए । गैरेले शुशासनको लागि आर्थिक पारदर्शिता र मितव्ययीता आवश्यक भएको भन्दै सामाजिक संस्थालाई जनताको विश्वासी संस्थाको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली काग्रेश गलकोट नगर संयोजक नारायणध्वज मल्ल र राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टंक बहादुर केसीले मन्तव्य राखेका थिए।
कार्यक्रममा बागलुङ उधोग वाणिज्य संघ गलकोट ईकाईका कोषाध्यक्ष दिलिप श्रेष्ठले महोत्सवको आयव्यय सार्वजनिक गर्दै ६२ लाख ७६ हजार ७१ रुपैया आम्दानी भएको ५२ लाख ९८ हजार ७ सय ३५ रुपैया खर्च भएको र ९ लाख ७७ हजार ३ सय ३६ रुपैया संस्थामा बचत भएको जानकारी दिए । बचत रकम गलकोट क्षेत्रको मु्ख्य बजार हटियामा सिसि क्यामेरा तथा कवड हल निर्माणका लागि खर्च गरिने ईकाई अध्यक्ष विरेन्द्र श्रेष्ठले बताए । जनप्रतिनिधि राजनैतिक दलका प्रतिनिधी सञ्चारकर्मी सुरक्षाकर्मी लगायतको सहभागिता रहेको कार्यक्रम बागलुङ उधोग वाणिज्य संघ गलकोट इकाइका अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष ढालिन्द्र प्रसाद गौतमको स्वागत र महासचिव हेमन्त भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।





