काठमाडौं, २ असार – रौतहटको गौरमा रहेको माई ज्वेलर्सले छ महिनाको अवधिमा एक सय ५६ किलोभन्दा बढी अवैध सुन बिक्री गरेको खुलेको छ । रौतहटको गौर नगरपालिका–५ बस्ने अनुकेश कुमार साह र सोही स्थानका विजय कुमार साहले चोरीपैठारी गरी ल्याएको एक सय ५६ किलो ६८७ ग्राम ३५० मिलिग्राम र उनीहरुको साथबाट बरामद भएको नौ सय ९९ ग्राम आठ सय २० ग्राम सुन बिक्री गरेको पाइएको छ ।
राजस्व अनुसन्धान विभागले उनीहरुविरुद्ध ८३ करोड १० लाख ४७ हजार ७२० रुपैयाँ बराबरको कारोबार गरी राजस्व चुहावट गरेको भन्दै दोब्बर माग दाबीसहित रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गरेको जनाएको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीले सोमबार पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । उनका अनुसार वैशाख २० गते बिहान पक्राउ परेका साहद्वयको साथबाट बरामद गरिएको मोबाइलमा रहेको कारोबारको डाटाका आधारमा छ महिनाको अवधिमा कम्तिमा पनि एक सय ५६ किलो अवैध सुनको कारोबार भएको खुलेको छ ।
उनीहरुको मोबाइलमा रहेको डाटा हेर्दा उनीहरुले एक सय ७५ थान सुन बिक्री वितरण गरेको पाइएको छ । “विजय कुमार साहको नाममा दर्ता रहेको छेमा ज्वेलर्स गौर–९ रौतहटलाई आर्थिक वर्ष २०७४–७५ मा एक किलो र आर्थिक वर्ष २०७५–७६ मा तीन किलोग्राम सुन मात्र बिक्रीवितरणको अनुमति प्राप्त भएकोमा उक्त अनुमति प्राप्त सुन प्रतिवादीहरुले लिई बिक्री वितरण गरिसकेको देखिन्छ,” विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “पक्राउ प्रतिवादी अनुकेश कुमार साहको साथबाट बरामदित मोबाइलबाट छेमा माई ज्वेलर्सको सुनचाँदीको कारोबारको हिसाब किताब डाउनलोड गरिएको एक सय ७५ थान हिसाब विवरणहरुलाई एफोर साइजको पेपरमा प्रतिपाना ४ थान विवरणहरु राखी ४४ पाना प्रिन्ट आउट गरिएको छ । उक्त हिसाबहरु २०७५–७–२४ देखि २०७६–०१–१६ सम्मको छेमा माई ज्वेलर्सको सुन बिक्री व्यवहारको हिसाब भन्ने देखिन्छ ।”
उनीहरुले अवैध रुपमा बिना अनुमति यति ठूलो कारोबार राजस्व नतिरी चुहावट गरी कानुनविपरीतको कारोबार गरेको पाइएपछि राजस्व चुहावट ऐनको दफा ३ र ४ बमोजिम कसुर अपराधमा मुद्दा दायर गरिएको छ । राजस्व चुहावट ऐन बमोजिम जनही दोब्बरसम्म माग दाबी गर्दै मुद्दा दायर गरिएको मैनालीले जानकारी दिए ।





