बागलुङ, ३ असार – आर्थिक वर्ष सकिनै लाग्दा बागलुङ जिल्लाका सबै स्थानीय तहमा कामको चटारो छ । पालिकाका कार्यालयहरुमा योजनाको फरफारक गर्ने र भुक्तानी लिनेहरुको भीड लागिरहेको छ । तर, जिल्लाकै जैमिनी नगरपालिकामा भने नत कुनै कामको चटारो छ, नत भिडभाड ।
जैमिनी नगरपालिकाबाट स्विकृत भई सञ्चालित योजनाहरुको फरफारक गरी अन्तिम भुक्तानी लिने समय असार १ गतेदेखि सकिएको छ । कार्यपालिकाको बैठकले जेठ मसान्तसम्म मात्र योजनाको भुक्तानी गर्ने निर्णय गरे अनुसार भुक्तानी प्रकृया रोकिएको हो । जेठ मसान्तमा शनिबार परेकाले आइतबारसम्म भुक्तानी गरेर योजना फरफारक र भुक्तानीको काम बन्द गरिएको कार्यालयले जनाएको छ । असार मसान्तका बेला मात्रै काम गर्ने र योजनाको भुक्तानी लिने परिपाटीको अन्त्य गर्न भन्दै नगरपालिकाले जेठ मसान्तसम्मको समय तोकेर सबै काम सक्न उपभोक्ता समितिलाई आग्रह गरेको थियो ।
वैशाख दोस्रो सातासम्म योजना सम्झौता र जेठ मसान्त सम्म फरफारक गर्न भनेको प्रमुख प्रसासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए । ‘असारे बिकास भनेर आलोचना हुने गरेको छ, हामी त्यो आलोचना हुन दिन्नौँ’, शर्माले भन,े ‘अनियमितता नियन्त्रण गर्नका लागि हामीले लिएको यो कदमले सहयोग गर्नेछ ।’ उपभोक्ता समितिमा रहेर काम गर्ने सबै किसान भएकाले पनि जेठ मसान्तको समय सिमा तोकिएको हो । ‘असारमा खेतीपातिको चटारो हुन्छ, उपभोक्ताले श्रमदान गरेर योजनाका काम गर्न सक्दैनन्’, शर्माले भन,े ‘जनसहभागिता बढाउनका लागि पनि हामीले समय सीमा तोकेका हौं ।’
जेठ मसान्तसम्म काम सकेर आएका उपभोक्ता समितिले भुक्तानी पाएको र काम नभएका सबै योजना फ्रिज हुने उनले बताए । निःसर्त र ससर्त गरेर नगरपालिकाले झण्डै ६ सय ५० योजना बनाएको थियो । तिमध्ये केन्द्र सरकार र प्रदेश सरकारसँगको साझेदारीका कार्यक्रम पनि थिए । नगरका निःसर्त ५ सय ४६ योजनामध्ये ९५ प्रतिशत योजनाले काम सकेर जेठ मसान्त भित्रै भुक्तानी लिएको नगरपालिकाका शाखा अधिकृत प्रेमप्रसाद सापकोटाले बताए । ४० योजनाले मात्रै फरफारक गरेनन् । ‘५० हजार देखि १० लाख रुपैयाँसम्म बजेट रहेका योजना रोकिएका छन्’, सापकोटाले भने, ‘रोकीएकामध्ये केहीले सम्झौता गरेर पेस्की लगेका छन भने केही योजना सम्झौता नै भएका छैनन् ।’ आर्थिक वर्षको अन्त्य हुनुभन्दा एक महिना पहिलेको समयसीमा तोक्दा पनि सोचेभन्दा धेरै योजनाको काम भएको सापकोटाले दावी गरे । जेठमा फरफारक र भुक्तानीको काम सकेको नगरपालिकाले असार महिनालाई नयाँ बजेटको महिनाको रुपमा सदुपयोग गर्ने जनाएको छ ।
‘यो महिनाभरी हामीले अनुगमन गर्छौैँ’,प्रमुख प्रसाशकीय अधिकृत शर्माले भने ‘अनुगमा देखिएका समस्या र भेटिएका उपलव्धीको मुल्यांकन गरेर नयाँ आर्थिक वर्षको बजेट बनाउने योजना छ ।’ नगरले योजनको रकम भुक्तानीमा कडाई गरेको बिषयमा उपभोक्ता भने असन्तुष्ट बनेका छन् । ‘जेठ मसान्तपछि भुक्तानी नै नदिने भन्नु गलत हो’, चेम्बर अफ कमर्स जैमिनीका अध्यक्ष बिष्णु आचार्यले भने, ‘त्यसको साटो छिटो गर्नेलाई पुरस्कृत र ढिला गर्नेलाई दण्ड जरीवानाको व्यवस्था गर्नु पर्छ ।’ अन्य सरकारी निकायले असार मसान्तसम्म काम सकिँदा पनि भुक्तानी दिने भएकाले तारतम्य नमिलेको उनको भनाई थियो ।





