नेपालको नक्सा जस्तै नक्सा भएको जिल्ला हो बागलुङ जिल्ला, विश्वका शाहसिक पर्यटकहरु अप्ठेरा भीरहरुमा खेल्ने नाउरहरुको शिकार गर्न आउने शिकारीहरुको रोजाईको जिल्ला हो बागलुङ जिल्ला, लोक गीत र संगीतमा खुलेर रमाउन सक्ने जिल्ला हो बागलुङ जिल्ला, कालीगण्डकी नदी देखि ढोरपाटनको शिरसम्म पोखरा, ढोरपाटन, लुम्बिनी र मुक्तिनाथको बीचमा उदाउँदै गरेको नयाँ पर्यटकीय गन्तव्य हो बागलुङ जिल्ला ।
बागलुङबाट देश तथा विदेशमा विभिन्न पेशा तथा व्यवसायमा स्थापित हुँदै गरेका उद्यमीहरुको संख्या पनि व्यापक रुपमा बढ्दै गईरहेको छ । सबैभन्दा खुशीको कुरा पछिल्लो समय बागलुङबाट बसाई सराई गरी देशका विभिन्न भागमा गएका एवं विदेश पलायन भएका मानिसहरु पुनः बागलुङ प्रति आकर्षिक हुँदैछन् । कुनै समय दुर्गम जिल्लाको रुपमा परिचित यो जिल्लाले विकास निर्माणमा कोल्टे फेर्दैछ । गाउँ गाउँमा जनताहरु विकास निर्माणका अभियानमा होमिएका छन् । यस्तै अभियान मध्यको पछिल्लो अभियान हो पर्यटन प्रवद्र्धन अभियान ।
यतिखेर बागलुङ जिल्लामा पर्यटन सम्बन्धी व्यापक छलफल र बहसहरु शुरु हुन थालेका छन् । केन्द्र सरकार र प्रदेश सरकारको विस्तारै बागलुङ जिल्लाको विकासमा नजर पुग्दैछ । पहाडी क्षेत्रमा पनि के विकास हुँदैन भन्ने मान्यतामा बदलिँदै गएको छ । गाउँ गाउँमा कच्ची मोटरबाटो पुगेको छ र सडक संजालहरु पनि विस्तारै कालोपत्रे हुने क्रममा छन् । हालै मात्र प्रदेश सरकारले बागलुङ जिल्लाका विभिन्न २२ वटा गाउँहरुलाई होम स्टेको रुपमा विकास गर्दैछ । पहिलो चरणको होम स्टे अनुदानबाट ठाउँ ठाउँमा पैदल मार्ग, भ्यू टावर, नमूना पार्क, सामुदायिक भवन लगायतका संरचनाहरु व्यापक रुपमा निर्माण गरिएको छ । आगामी आर्थिक बर्ष २०७६÷७७ को लागि समेत प्रदेश सरकारले होम स्टे प्रवद्र्धनको लािग २५ करोड बिनियोजन गरेसँगै होम स्टेमा आवद्ध स्थानीय जनताहरुमा थप आशा र उत्साह पलाएको छ । यस बाहेक पनि जिल्लाका थप चारवटा पर्यटकीय गन्तव्यहरुको विकासको लागि समेत प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ ।
यही असार १० गते भित्र स्थानीय सरकारहरुले बजेट निर्माण गरिसक्नुपर्नेछ । यसको तयारीको लागि गाउँ गाउँमा छलफलहरु शुरु भएका छन् । स्थानीय सरकारहरुले पर्यटन क्षेत्रको विकासलाई व्यापक महत्व दिँदै गाउँ गाउँमा रहेका पोखरी, ताल, गुफा, पार्क, पदैल मार्ग, मन्दिर लगायतका संरचनाहरुको संरक्षण एवं प्रवद्र्धनमा नेतृत्वदायी भूमिका खेल्दैछन् ।
विश्वकै हिन्दु धर्माबलम्बीहरुका महान गुरु १००८ स्वामी प्रमानन्द सरस्वतीको जन्म थलो एवं प्रभावशाली धर्मगुरु कमल नयन आचार्य (मुक्तिनाथ बाबा) जस्ता धार्मिक गुरुहरुको योगदानले बागलुङ जिल्ला नेपालको धार्मिक पर्यटकीय महत्वको क्षेत्रको रुपमा समेत स्थापित हुँदै गएको छ । मुक्तिनाथ गलेश्वरको यात्रा गरिसकेपछि बागलुङ जिल्लामा रहेका कालिका भगवती मन्दिर, पञ्चकोट, त्रिपुरेश्वर महादेव मन्दिर विहँु, गाजाको दह जस्ता पवित्र धार्मिक स्थलहरुको भ्रमणमा आन्तरिक तथा वाह्य पर्यटकहरु आकर्षित हुँदै गएका छन् ।
विश्वकै प्रसिद्ध पर्यटकीय स्थलहरु मध्यको एक रमणीय पर्यटकीय स्थल ढोरपाटन क्षेत्र विश्व प्रसिद्ध पर्यटकीय स्थल हुँदा हुँदै पनि यसको व्यापक प्रचार प्रसार र यस ठाउँसम्म देशका विभिन्न भागहरुबाट यात्रा गर्नको लागि सहज यातायातको अझै व्यवस्था हुन सकेको छैन । बागलुङ जिल्लाको पर्यटन प्रवद्र्धन र तीव्र आर्थिक विकासको लागि यस क्षेत्रका पर्यटन अभियन्ताहरु, सम्पूर्ण बागलुङे जनताहरु,सम्पूर्ण माननीय एवं स्थानीय जनप्रतिनिधिहरु, समाजसेवीहरु एवं प्रदेश र केन्द्र सरकारको निम्न कुराहरुमा तत्कालै ध्यान जानु आवश्यक छ ।
(१) झण्डै दुई दशक भन्दा बढी समय देखि निरन्तर निर्माणको क्रममा रहेको मध्यपहाडी लोकमार्ग अन्र्तगतको बागलुङ बजार देखि विहुँ घोडावाँधेसम्मको सडकखण्ड अझैपनि कालोपत्रे हुन सकेको छैन । हरेक स्थानीय तहहरुको केन्द्रसम्म छिटो भन्दा छिटो सडक कालोपत्रे गर्ने सरकारको प्रतिवद्धतामा राष्ट्रिय महत्व बोकेको मध्यपहाडी लोकमार्गखण्डको अति रणनीतिक महत्वको सडक कालोपत्रे हुन नसक्नु सारा बागलुङ एवं पश्चिम नेपालका जनताहरुको लागि दुर्भाग्यको विषय बनेको छ । यस सडकलाई छिटो भन्दा छिटो निर्माण गर्नको लागि यस क्षेत्रका माननीयहरु, स्थानीय सरकारहरु र प्रदेश सरकारले केन्द्र सरकारलाई प्रयाप्त बजेट बिनियोजन गरेर नयाँ ठेकेदारलाई काम सम्पन्न गर्ने जिम्मेवारी दिएर भएपनि यो सडकलाई अबिलम्ब कालोपत्रे गर्नु जरुरी छ ।
(२) ठूलो संख्यामा विशेष गरी यूवाहरुमा ढोरपाटन पुग्नु गौरवको विषय बनेको छ । विश्वप्रसिद्ध पर्यटकीय स्थल ढोरपाटन र नेपाल सरकारले केही बर्ष अगाडि घोषणा गरेको नमूना शहर वुर्तिबाङ भएर जाने बुर्तिबाङ ढोरपाटन सडक निर्माण कछुवाको गतिमा अगाडि बढिरहेको छ । यस सडकलाई छिटो भन्दा छिटो कालोपत्रे गर्नको लागि यस क्षेत्रका माननीयहरु, स्थानीय सरकारहरु एवं सामाजिक अगुवाहरुले विशेष जनदवाव अभियान नै संचालन गर्नुपर्ने अवस्था आईसकेको छ ।
(३) बागलुङ जिल्लाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण अर्थ राख्ने थामनेटा गाजादह सडकको ट्रयाक खोल्दा म्याग्दीको बेनी तातोपानी देखि गुल्मीको शान्तिपुर सम्म नै नयाँ पर्यटकीय सडकमार्ग संचालनमा आउन सक्ने अवस्थामा पुगिसकेको छ । यसको लागि प्रयाप्त बजेट बिनियोजन गरेर अगाडि बढ्दा बागलुङ जिल्लाको समग्र विकासमा यो सडकखण्ड कोषेढुंगा सावित हुनेमा दुईमत छैन । यस क्षेत्रका सम्पूर्ण माननीयहरु, स्थानीय सरकारहरु एवं समाजसेवीहरुको यो सडकखण्ड संचालनको लागि विशेष पहलको आवश्यकता छ ।
(४) बागलुङ जिल्लामा प्रष्ट रुपमा चारवटा भौगोलिक क्षेत्रहरु रहेका छन् । बागलुङ उपत्यका, दक्षिण बागलुङ, गल्कोट उपत्यका र ढोरपाटन आसपास क्षेत्र । बागलुङ जिल्लाको पर्यटन विकासको लागि यी सबै क्षेत्रहरुको व्यापक गतिमा सन्तुलित विकास आजको प्रमुख आवश्यकता हो । यसमा समेत सबैको ध्यानाकर्षण हुनु जरुरी छ ।
(५) यातायात, विद्युत, संचार जस्ता क्षेत्रहरुको व्यापक पहुँच गाउँ गाउँमा पुग्दै गर्दा यस क्षेत्रको विकासमा स्थानीय सरकारहरुले रचनात्मक ढंगबाट विकासका अभियानहरु तीव्र गतिमा चलाउनु आवश्यक छ । बुर्तिबाङ, डुम्रे जस्ता क्षेत्रहरुलाई शहरको रुपमा विकास गर्ने अवधारणा आईसकेको अवस्थामा बागलुङदेखि गल्कोटसम्मको क्षेत्रलाई समेटेर नमूना शहर बनाउने अभियान समेत चाल्न सकिने अवस्था छ । यसै गरी वुर्तिबाङ मात्र नभएर बुर्तिबङदेखि खर्बाङसम्मको क्षेत्रलाई नै नमूना शहरको रुपमा विकास गर्नुपर्छ । यस्ता बहसहरु जिल्लामा भएको देखिँदैन । यो खालका बहसहरु सम्बन्धित स्थानीय सरकारहरुले गर्नुपर्छ ।
(६) मुस्ताङ गएर फर्केका मध्य एकतिहाई मात्र पर्यटकलाई बागलुङ तर्फ आकर्षित गर्ने हो भने बागलुङ देखि ढोरपाटनसम्मको सडक अबिलम्ब कालोपत्रे गर्नु जरुरी छ । यति मात्र हैन बागलुङ बजार देखि ढोरपाटन क्षेत्रसम्म होटल तथा रिसोर्ट क्षेत्रहरुमा व्यापक लगानी गर्ने परिस्थिति निर्माण गर्न स्थानीय सरकारहरु एवं यस क्षेत्रका जनताहरु जाग्नु जरुरी छ ।
त्यसैले बागलुङ जिल्लाको पर्यटन क्षेत्र मात्र नभएर समग्र क्षेत्रको तीव्र आर्थिक विकासको लागि देश तथा विदेशमा रहेका सम्पूर्ण स्थानीय जनताहरुले बागलुङ बजार देखि ढोरपाटनसम्मको सबै सडकखण्ड छिटो भन्दा छिटो कालोपत्रे गर्न नेपाल सरकारलाई दबाव दिनु आवश्यक छ । समयमा नै जनताहरु सचेत नहुने हो भने ठेकेदारहरुको बहाना बनाएर यो सडकखण्ड अझै पनि केही बर्ष कालोपत्रे नहुने संभावना पनि त्यत्तिकै छ । त्यसैले नेपाल सरकारले थप बजेट बिनियोजन गरेर भएपनि बागलुङ बजार देखि ढोरपाटनसम्मको सडक अबिलम्ब कालोपत्रे गर्नुपर्छ ।
यस सडकलाई कालोपत्रे गर्ने अभियानमा संघीय सांसदहरुको विशेष भूमिकाको आवश्यकता छ र जिल्ला स्तरमा यो सकडको कामलाई तीव्र गतिमा अगाडि बढाउनको लागि जिल्ला समन्वय समितिको अगुवाईमा सम्पूर्ण स्थानीय सरकार र जनताहरुको बीचमा व्यापक बहस चलाई केन्द्र सरकारलाई निरन्तर जनदबाब दिनु आवश्यक छ । यस सडकखण्डलाई राष्ट्रिय बहसमा ल्याउनको लागि पत्रकार महासंघ बागलुङ एवं सम्पूर्ण संचारकर्मीहरुको समेत सकरात्मक भूमिका रहनेछ भन्ने हामीले विश्वास लिएका छौं ।
तीव्र गतिमा विकास हुन सक्ने संभावना रहेको बागलुङ जिल्लालाई नेपालकै नमूना विकसित जिल्लाको रुपमा रुपान्तरण गर्ने अभियानमा यस क्षेत्रका सम्पूर्ण जनताहरु सदैव चनाखो रही विकास निर्माणको लागि व्यापक रुपमा खट्दा बागलुङ जिल्ला नेपालकै एक नमूना जिल्लाको रुपमा विकास गर्न हामी सफल हुनेछौं ।




