म्याग्दी, २२ असार – हिमालपारीको जिल्ला मुस्ताङको लोमानथाङमा अन्तरदेशीय नेपाल–चीन व्यापार मेला सम्पन्न भएको छ ।
दश दिनसम्म संचालन भएको सो व्यापार मेलामा चिनबाट मुस्ताङमा सिमेन्ट, रड, जूस, बिस्कुट, चकलेट, घ्यू, ब्ल्यांकेट र चाउचाउजस्ता सामान आयात भएका छन् भने नेपालबाट भने पश्मिना बाहेक अन्य सामानहरु निर्यात नभएका सरकारी अधिकारीले बताएका छन् ।
नेपाल–चीन सीमा क्षेत्र (कोरला नाका) मा रहेको भन्सारका अधिकृत यादवराज पहाडीका अनुसार मेलामा नेपाली वस्तुको निर्यात नभएपनि राजस्व संकलनमा भने लक्ष्यभन्दा १८ दशमलव ८९ प्रतिशतले बृद्धि भएको छ ।
सरकारले चालू आर्थिक वर्ष २०७५÷०७६ का लागि कुल १२ लाख ५० हजार रुपैयाँ राजस्व संकलन लक्ष्य राखेकोमा मेला सम्पन्न भएसँगै १४ लाख ८६ हजार २२७ रुपैयाँ संकलन भएको भन्सार अधिकृत पहाडीले जानकारी दिए ।
वर्षको दुईपटक लाग्ने उक्त मेलाबाट हुने राजस्व संकलनलाई नै सरकारले कोरला नाकाको वार्षिक राजस्व संकलन लक्ष्यमा राख्ने गरेको छ । चालू आवको गत भदौमा लागेको पहिलो मेलाबाट मुस्ताङ भन्सार कार्यालयले ७ लाख ६० हजार ४७४ रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यसैगरी हालै मात्र सम्पन्न दोस्रो मेलाबाट ७ लाख २५ हजार ७५३ रुपैयाँ संकलन भएको भन्सार अधिकृत पहाडीले जानकारी दिए ।





