शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ब्यबसायीक टिमुरखेती गर्दै अमलाचौरका युवाहरु

ब्यबसायीक टिमुरखेती गर्दै अमलाचौरका युवाहरु


  • ढोरपाटन संवाददाता
  • असार २५ २०७६, बुधबार

बागलुङ,२५ असार –  बागलुङ नगरपालिका–१२ अमलाचौरका युवाले व्यावसायिक टिमुर खेती गर्न थालेका छन् । बाँझो जमीनमा फैलिएको बनमारा फँडानी गरेर उनीहरूले टिमुरको बिरुवा रोपेका हुन् । मसलाका लागि प्रयोग हुने टिमुरको माग बजारमा उच्च रहेकाले व्यावसायिक रुपले खेती गरिएको कृषक राजु शाहीले बताए ।
पहिलो चरणमा झण्डै एक रोपनी जमीनमा टिमुरका बिरुवा लगाईएको छ । थोरै लगानी र कम मेहेनतले राम्रो आम्दानी हुने देखेर उक्त खेती गरिएको उनले जानकारी दिए । विभिन्न पेशा व्यवसायमा रहेका पाँच युवाले समूह बनाएर अमलाचौरको ढाँडबाट बसाई सरेर जानेहरुले छोडेको बाँझो जग्गाको सदुपयोग गर्न थालेका हुन् ।
‘बाँझो जग्गाको सदुपयोग हुने र उत्पादन लागतसमेत कम हुने भएकाले टिमुर खेती थालेका हौँ’ कृषक शाहीले भने, ‘केही वर्ष मेहेनत गर्न सके टिमुरले राम्रो आम्दानी दिन्छ । अहिले लगाईएका बिरुवा हुर्किन थालेपछि आसपासमा रहेको थप जमीनमा टिमुर लगाउने योजना बनाएका छौँ ।’
समुन्द्री सतहबाट १००० देखि २५०० मिटर सम्मको उचाइमा टिमुरको खेती गर्न सकिने कृषि विज्ञहरुले बताउँछन् । अमलाचौरको ढाँड हजार २०० मिटरभन्दा माथि रहेकाले टिमुरको उत्पादन राम्रो हुने अर्का कृषक कृष्ण अँखेलीले बताए । स्याङ्जामा उत्पादन भएका उन्नत जातको टिमुरका बिरुवा गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको हो ।
‘हामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिरुवामा सघाएको छ’ अँखेलीले भने, ‘अर्को वर्ष थप जमीनमा टिमुर खेती विस्तारका लागि आफैँ बिरुवा उत्पादन गर्ने योजना छ ।’ बिरुवा लगाएको चारदेखि पाँच वर्षमा फल दिन थाल्छ । एक याममा एउटै बोटमा १५ देखि २० किलो ग्रामसम्म टिमुर फाउन सकिने अँखेली बताउँछन् । एक किलोग्राम टिमुरको बजार मूल्य रू. दुई हजार ३०० सयदेखि दुई हजार ५०० सम्म रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->