बागलुङ, २७ असार – बागलुङको ताराखोलामा निर्माण हुन गइरहेको मध्य ताराखोला जलविधुत आयोजनामा प्रभु बैंकले एकल लगानी गर्ने भएको छ । मध्य ताराखोला हाइड्रोपावर प्रा.लि. र प्रभु बैंक बीच शुक्रवार लगानी सम्झौता भएको छ । लगानी सम्झौतामा कम्पनीको तर्फबाट अध्यक्ष शिव गिरी र वैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्त्ताक्षर गरेका छन् ।
मध्य ताराखोला हाइड्रोपावर प्रा.लि.द्धारा प्रवद्र्धित मध्यताराखोला साना जलविद्युत आयोजना १.७ मेघावाट (१७०० किवा) डेढ बर्षभित्रमा समपन्न गर्ने गरी वैंकको केन्द्रिय कार्यालय काठमाण्डौंमा आज दिउसो लगानी संम्झौता भएको कम्पनीका सञ्चालक सदस्य हरिनारायण गौतमले वताए । सम्झौतामा कुल लगानीको ८० प्रतिशत वैंकले र २० प्रतिशत प्रवद्र्धक कम्पनीको स्वपुँजी लगानी हुने उल्लेख छ ।
सो जलविधुत आयोजना समपन्न गर्न रु.३४ करोड लगानी हुने अनुमान गरिएको छ । त्यसमध्ये २७ करोड २० लाख बैंकले लगानी गर्नेछ भने रु. ६ करोड ८० लाख स्वपुँजी लगानी हुनेछ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले आयोजनालाई तोकिएको समयमा नै पारदर्शी रुपमा समपन्न गर्न प्रवद्र्धकलाई आग्रह गरे । स्थानीयको सहयोग हुने र प्रवद्र्धकले प्रतिवद्धताका साथ काम गरेमा लगानीमैत्री वातावरण वन्ने शेरचनले वताए ।
कम्पनीका अध्यक्ष गिरीले आयोजना तोकिएको समय भित्रै सम्पन्न हुने र सवै प्रक्रिया पारदर्शी रुपमा गरिने वताए । कम्पनीका प्रवन्ध संचालक अनिल खड्काले लगानी सम्झौता भएकाले अव कामलाई तिव्रताका साथ अगाडि बढाइने वताए । स्थानीयवासी धनवहादुर विक ‘हिमाल’ले आयोजना निर्माण हुनु गौरवको विषय भएको वताउदै स्थानीयवासीको अवरोध होईन, साथ र सहयोग हुने प्रतिवद्धता जनाए ।
इन्जिनियर अनुप खनालले आयोजनाको क्याचमेन एरिया वन क्षेत्र भएकोले हिउदमा पानीको ठुलोे समस्या नहुने र एउटै क्षेत्रमा एकपछि अर्को आयोजना भएकोले प्रशानिक खर्च, प्रशारण लाइन खर्च आदिमा मितव्ययी हुने बताउदै यसलाई क्षमतावृद्धि गरी २.२ मेघावाट बनाईने जानकारी दिए । यो आयोजना बागलुङको ताराखोला गाउपालिका वडा नं ५ निर्माण हुदैछ । यहाँबाट उत्पादित हुने विधुत नेपाल विधुत प्राधिकरणको हरिचौर सवस्टेशन मार्फत राष्ट्रिय प्रशासरण लाईनमा जोडिने छ ।





