शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हलगोरुको ठाउँमा ट्याक्टर र मिनीटिलर

हलगोरुको ठाउँमा ट्याक्टर र मिनीटिलर


  • ढोरपाटन संवाददाता
  • असार २९ २०७६, आइतबार

म्याग्दी, २९असार – प्रविधिको बढ्दो प्रयोगसंगै हिमाली जिल्ला म्याग्दीमा रोपाइँको रौनक पनि फेरिएको छ । नेपालीहरुको मुख्य बाली धान रोप्न खेत जोत्नका लागि परम्परागतरुमा प्रयोग हुँदै आएका हलगोरुको ठाउँमा अव खेतका गह्रा र फोहोटामा पनि ट्याक्टर र मिनिटिलर प्रयोग हुन थालेका छन् । गाउँमा हलगोरु पाल्ने चलन हराउँदै गएको छ भने हलो, जुवा लगाएतका परम्परागत कृषि सामाग्री निर्माण गर्ने रैथाने सीप पनि विस्थापित भएको छ ।
कृषिमा प्रविधिको प्रयोग बढ्दै जाँदा कृषकलाई सुविधा पुगेको छ । कृषकहरु निर्वाहमुखी कृषि प्रणालीबाट विस्तारै व्यावसायिक कृषितर्फ आकर्षित हुँदै गएका छन् भने परम्परागत तरिकाले खेती लगाउँदा व्यहोर्नु पर्ने धेरै किसिमका झन्झटहरुबाट पनि मुक्ति मिलेको कृषकहरुले बताएका छन् । ‘पहिला पहिला खेत जोत्नका लागि हलि र गोरु खोज्नु पर्ने, गोरुलाई घाँसको व्यवस्था गर्नु पर्ने, दिनभरी गोरुको पछिपछि हिलोमा ओहोरदोहोर गर्नुपर्ने लगाएतका धेरै झन्झट हुने गर्थे’ मिनिटिलरबाट खेत जोतेर रोपाइँ गर्दै गरेका बेनी नगरपालिका ४ सिंगाका कृषक नारायण पौडेलले भने ‘अहिले पानीको मात्रै जोहो गर्न सक्यो भने हाइसन्चो हुन्छ । मिनिटिलर वा ट्याक्टर लगायो एकै छिनमा मेलो सकिन्छ ।’ कृषकहरुका अनुसार गोरुले जोत्दा ६/७ दिन लाग्ने मेलो (खेत) मिनिटिलर वा ट्याक्टरबाट एकै दिनमा सकिने, लागत र झन्झट पनि कम लाग्ने हुँदा परम्परागत हलगोरुको साटो यान्त्रिक पद्यतितर्फ आकर्षण बढेको हो । ‘रोपाहार र बाउँसेको व्यवस्था हुने हो भने हलोले ६/७ दिन लाग्ने खेत मिनिटिलरबाट एक दिनमा नै रोपेर सकिन्छ’ बेनी नगरपालिका वडा नं २ का कृषक भीमवहादुर रिजालले भने ।

वैदेशिक रोजगारीका कारण गाउँमा कृषि मजदुर र जनशक्तिको अभाव हुन थालेको बेला मिनिटिलर र ट्याक्टर उपयोगी माध्यम भएका स्थानीय कृषकहरुले बताएका छन् । अहिले म्याग्दीका सबै गाउँहरुमा मिनिटिरले प्रयोग व्यापक रुपमा हुन थालेको छ । हलगोरु नारेर खेती गर्ने चलन हराउँदै गएको छ । कृषिमा आएको यान्त्रिक प्रयोगका कारण गोरु पाल्ने, बाह्रै महिना घाँसपात गर्ने र हेरालु राख्नु पर्ने झन्झट पनि हटेको कृषकहरुको भनाइ रहेको छ । प्रविधिको प्रयोग गरेर खेती गर्न थालिएपछि म्याग्दीमा वर्षैदेखि बाँझो रहेको जमिनमा पनि पछिल्लो समय खनजोत गरी खेती गर्न थालिएको छ । आग्र्यानिक कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको मंगला गाउँपालिकाले कृषिमा यान्त्रीकरण र व्यावसायीकरण गर्दै बाँझो जमिनलाई पनि हराभरा बनाउने अभियान थालेको छ । ‘अब कृषि क्षेत्रमा पहिलाको जस्तो झन्झट छैन, प्रविधिको प्रयोग गरेर गाउँमा बाँझो रहेको जग्गाको सदुपयोग गरी आग्र्यानिक खेतीमा जोड दिएका छौं’ मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

म्याग्दीका ६ वटै स्थानीय तहले कृषिमा प्रविधिको प्रयोगलाई विशेष महत्व दिँदै मिनिटिलरदेखि लिएर विभिन्न किसिमका कृषि उपकरणहरु कृषकलाई निशुल्क वा अनुदानमा वितरण गरेका छन् । म्याग्दीको ३ हजार ८ सय ९२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइरालाले गत साल म्याग्दीमा १३ हजार ९ सय ७८ मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए । म्याग्दीमा गौरी, जर्नेली, गुडुरा, जेठोबूढो, मार्सि, ताकमारे, भट्टे पहेंले लगाएतका रैथाने र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल १०, लुम्ले २ लगाएतका उन्नत जातका धान खेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->