पर्वत,३१ असार – पर्वत जिल्लाको दक्षिणमा पर्ने फलेबास नगरपालिका वडा नं ११ को कर्नास गाउँका कृषकले करिव डेढ करोड बराबरको काँक्रोको बीऊ बिक्री गरेका छन् । सो गाँउका एक सय घरधुरीले एक दशक भन्दा पहिलेदेखि गाउँमै बिभिन्न किसिमको तरकारी लगाउँदै आएका छन् । उनीहरु तरकारी लगाउने मात्र होइन गुजारा चलाउँदै सफल कृषकको रुपमा स्थापित भएका छन् ।
सुन्दा अचम्म लागेपनि पँहेलपुर पाकेका काक्रोबाट त्यहाँका कृषकले यस वर्षमात्रै गाउँमा डेढ करोड रुपैया भित्र्याएका छन् । काक्रोको बिभिन्न जातमध्ये भक्तपुर लोकल जातको काक्रोको बीऊ बिक्रीबाट एउटा बस्तीमा बर्षमा डेढ करोड भित्रिएपछि उनीहरुले पँहेलै पाक्ने काँक्रोलाई ‘सुन’ जस्तै बहुमूल्य मान्न थालेका हुन ।
गाँउमा रहेको नारायणस्थान बीऊ उत्पादक सहकारी संस्थामा आबद्ध कृषकले ५ टन काँक्रोको बीऊ उत्पादन गरेको संस्थाका संस्थापक सदस्य बाबुराम भुसालले जानकारी दिए । ‘यस वर्ष सहकारीमा आबद्ध कृषकले ५ टन बीऊ बिक्री गरेर डेढ करोड रुपैया गाउँमा भित्र्याउन सफल भएका छौ’ उनले भने,‘ गाउँमा काँक्राको बीऊ बिक्रीबाट भित्रिने रकम सुनजस्तै बहुमुल्य छ ।’ कृषकले काठमाण्डौ कालीमाटीमा रहेका निमाकोल र हार्क जस्ता सहकारी संस्थामा बीउ बिक्री गर्दै आएका छन । एक किलो बीउको ३ हजार रुपैँयाका दरमा कृषकले सहकारीलाई बीउ बिक्री गर्छन् ।
काँक्रोको बीउ उत्पादनमा मुलुककै अग्रणी गाउँ मानिने कर्नासमा उत्पादित बीउको गुणस्तर कायम राख्न सकेका कारण बजारको अभाब नभएको कृषक भुसालले बताए । नेपालमा ७ टन भक्तपुर लोकल जातको काक्रोको बीउको माग छ । मुलुकभरको मागमध्ये एउटै गाउँले ५ टन उत्पादन गर्छ । ‘नेपालभर माग हुने बीऊको दुई तिहाईभन्दा बढी हिस्सा एउटा गाउँले नै पूरा गर्दै आएका छौ’ कृषक भुसालले भने ।
कर्नासमा कृषकहरुले काक्रोको बीऊ उत्पादनबाट घटीमा एक लाखदेखि बढीमा ७ लाख ५० हजार रुपैयासम्म एउटा घरमा भित्रने गरेको छ । माघ महिनामा काँक्रो रोपेपछि जेठमा बिऊ निस्कन्छ । यस वर्ष कृषक टुकप्रसाद पौडेलले २ हजार ५ सय किलो काँक्रोको बीऊ बिक्री गरेर ७ लाख ५० हजार भित्राउन सफल भए । कृषक बाबुराम भुसाल, ताराप्रसाद पौडेललगायतले २ हजार किलो काँक्रोको बीऊ बिक्री गरेर ६ लाख रुपैया कमाई गरेका छन । बाबुराम भुसाल र ताराप्रसाद पौडेल स्थानीय प्राथमिक तहका शिक्षक पनि हुन् ।फुर्सद र बिहान बेलुकाको समय सदुपयोग गर्दा पनि ६ लाख कमाई हुने कृषक भुसालले बताए । सबै लागत कटाउँदा पनि ५ लाख ५० हजार रुपैया नाफा हुने उउनले बताए ।
गाँउमा बीऊ उत्पादनका लागि प्रशस्त संभावना भएकाले कृषकलाई सिंचाई, बीउको ब्यबस्था गर्न सके बर्षेनी लाखौ रुपैया भित्र्याउन सकिने फलेबास नगरपालिका वडा नं ११ की वडा सदस्य माया पाठकले पाठकले अनुमान लगाइन् ।





