पर्वत,५ साउन – गाउँसभामा नीति तथा कार्यक्रम पारित गरेको एक सातामै पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिलालाई घ्यू, कुकुराको भाले र अण्डा उपहार दिएका छ । गाँउपालिकाले सुरक्षित ढंगले सुत्केरी गराउने महिलाहरुलाई प्रोत्साहित गर्न ‘अध्यक्ष कोशेली कार्यक्रम’ घोषणा गरेको थियो । सोही कार्यक्रमअन्तर्गत गाँउपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले महाशिला–५लुंखु आहाले निवासी गुडिया सुनारलाई सुत्केरी उपहार दिएका हुन् । सो अवसरमा नवजात शिशु र आमाको स्वास्थ्य जाँच पनि गरिएको थियो । गाउँपालिका भित्र स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने सबैका घरमा अध्यक्षले कोसेली बोकेर जाने गरी कार्यक्रमलाई कार्यान्वयमा ल्याएको अध्यक्ष पौडेलले बताए ।
गाउँपालिकाले सो कार्यक्रममार्फत २ हजार रुपैंया बराबरको घ्यू, अण्डा र कुखुराको भाले दिएको हो । महाशिलाको लुंखुमा प्राथमिक स्वास्थ्य केन्द्र र कोस्राङ्दीमा स्वास्थ्यचौकी छन् भने अहिले गाउँपालिकाको थप ४ वटा वडामा बर्थिङ सेण्टर स्थापना गरिएको छ ।
गाउँकै स्वास्थ्य चौकीमा यो सुबिधा भएका कारण घरमा सुत्केरी गराउने चलन हटेको छ । महाशिला गाउँपालिकाले स्वास्थ्य संस्थामा जन्मेको बर्थ सर्टिफिकेट र नियमित रुपमा गर्भ जाँच गरेको सिफारिस नभएसम्म बालबालिकाको जन्मदर्ता समेत नगर्ने निर्णय पनि गरेको छ । जन्मदर्ता गर्नका लागि स्वास्थ्य संस्थाको बर्थ सर्टिफिकेट र सिफारिस लिने ब्यबस्था गर्दा घरमा सुत्केरी हुने चलन पुरै हटेर जाने गाउँपालिकाका प्रबत्ता जीवन उच्चै ठकुरीले बताए ।





