पर्वत,७ साउन- जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतद्धारा आर्थिक वर्ष ०७५÷०७६ मा भण्डै ५३ लाख रुपैया राजश्व संकलन गरेको छ । जिल्लामा संचालित सवारीसाधान कारवाहिबाट ५२ लाख ७६ हजार रुपैया राजश्व संकलन गरेको हो ।
आर्थिक वर्ष ०७५÷७६ मा कुल ९ हजार वटा सवारी साधन कारवाहिमा परेका छन् । जस मध्ये बस १ हजार १ सय ६३, ट्रक÷ट्रिपर १ हजार ५ सय ८०, जीप तथा कार ३ हजार ५ सय ५२, ट्याक्टर १ हजार २४ र मोटरसाईकल १ हजार ६ सय ८१ वटा कारवाहिमा परेका छन् । कारवाहिमा परेका बसबाट ६ लाख ५३ हजार ५ सय, ट्रकबाट रु.८ लाख ९५ हजार, जीप र कारवाट २० लाख ६ हजार ५ सय, ट्याक्टरबाट रु.६ लाख १ हजार ५ सय र मोटरसाईकलबाट ११ लाख ७ हजार पाँच सय रुपैया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामबहादुर भट्टले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा ८ हजार १ सय ३६ वटा सवारीसाधन कारवाहिबाट रु. ४८ लाख ५० हजार ५ सय रुपैया राजश्व संकलन भएको थियो । गत वर्ष भन्दा ४ लाख २५ हजार पाँच सय रुपैयाँ बढि राजश्व संकलन भएको हो । चालु आर्थिक वर्षमा राजश्व दर समेत बृद्धि भएका कारण र सडकमा सवारीहरुको चाप पनि बढेका कारण राजश्व संकलनमा उल्लेख्य बृद्धि भएको भट्टले जानकारी दिए ।
खासगरी कागजपत्र नबोकेका, लाईसन्स नभएका, क्षमताभन्दा बढि यात्रु तथा मालसामान ढुवानी गर्ने र पटक पटक ट्राफिक नियम उल्लंघन गर्दै आएका सवारीसाधनहरु कारवाहिमा पर्ने गरेको उनले बताए । उनका अनुसार गत आर्थिक वर्षमा जिल्लामा १५ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी १५ जना व्यक्तिको मृत्यु भएको थियो भने ३४ जना गम्भीर घाईते र ४० जना सामान्य घाईते भएका थिए । जिल्लामा भर्खरै सरुवा भएर आएका ट्राफिक प्रमुख भट्टले सवारी दुर्घटनालाई न्यूनिकरण गर्नका लागि विभिन्न जनचेतनामुलक कार्यहरु संचालन गर्ने, पोखरा–बागलुङ सडकमा आकस्मिक चेकजाँच, मापसे जाँचलाई कडाईका साथ लागु गर्ने र ग्रामीण क्षेत्रमा समेत चल्ने सवारीसाधनहरुमा निगरानी बढाउने बताए ।





