बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नदीको बहाव बढ्दा अबरुद्ध भयो स्टिमर

नदीको बहाव बढ्दा अबरुद्ध भयो स्टिमर


  • संजय रेग्मी
  • साउन १४ २०७६, मंगलबार
stimar

पर्वत,१४ साउन-  पानीको बहाव बढेपछि दुर्घटनाको खतराले कालीगण्डकी नदीमा सञ्चालित स्टिमर सेवा बन्द गरिएको छ । पानीको बहाब बढेको समयमा स्टिमर सेवा सुचारु गराउँदा स्टिमर दुर्घटना हुन सक्ने उच्च जोखिम भएकाले आउँदो असोज महिनासम्मका लागि बन्द गरिएको हो ।
‘अहिले बर्षाको कारण कालीगण्डकी नदीको सतहमा उतारचढाव आएको छ। यो अवस्थामा स्टिमर चलाउनु निकै जोखिमपूर्ण भएका कारण अबको दुई महिनाको लागि बन्द गरेका हौँ।’ स्टिमर व्यवसायी रवि भट्टराईले बताए । नदीमा पानीको सतह घट्ने हिउँदको बेलामा व्यवसायी तथा स्थानीय नागरिकहरूले सस्तो मूल्यमा सामान ढुवानी गर्ने गरेको भए पनि अब भने खच्चर र भरिया मार्फत सामान ढुवानी गर्नुपर्ने बाध्यता भएको छ। स्टिमर सेवा मार्फत पाल्पाको मिर्मीबाट सस्तो मूल्यमा सामान उपभोग गर्दै आएका पर्वत र स्याङजा जिल्लाको नागरिकले अबको दुई महिना महँगो मूल्य तिर्न बाध्य हुनेछन । पर्वत, स्याङजा र गुल्मीका बासिन्दाहरू आवाजावत गर्न र सामान ढुवानी गर्न स्टिमरको प्रयोग गर्ने गरेका छन । सेवा अवरुद्ध हुँदा पर्वत र स्याङजा जिल्लाका ग्रामीण क्षेत्रका बासिदाहरु यातायातको सुविधाबाट वञ्चित भएका छन । यसअघि गुल्मी जिल्लाको तल्लो भागका बासिन्दाहरू पनि स्टिमर सेवाको भर पर्ने गरेको भए पनि कालीगण्डकी करीडोर सञ्चालनमा आएपछि गुल्मीका बासिन्दालाई भने स्टिमर सेवा प्रभावहीन बनेको छ ।
स्टिमर सेवा अवरुद्ध हुँदा झन्डै आधा घण्टामा सकिने यात्रा चार घण्टाको पैदल यात्रा गर्नुपर्ने भएको छ । कतिपय व्यवसायीले वालिङबाट हुवास हुँदै सामान ल्याउने गरेका छन् भने गुल्मीको अर्बेनीसम्म कालीगण्डकी कोरिडोरमा सवारीका साधन चल्ने भएकाले त्यहाँबाट भरियालाई बोकाएर पनि सामान ल्याउन थालेका छन । कालीगण्डकी ए जलविद्युत आयोजनाले बाँधेको बाँधमा बनेको जलाशयमा दैनिक रूपमा ११ ओटा स्टिमर सञ्चालन हुँदै आएका छन । एउटा स्टिमरमा एकै पटकमा डेढ सय जनासम्मले यात्रा गर्न मिल्छ । दक्षिण पर्वतको विहादी गाउँपालिका ६ मा रहेको शालिग्रामदेखि स्याङजाको मिर्मीसम्म झन्डै ८ किलोमिटर लम्बाइको दुरीमा स्टिमरहरु चल्दै आएका छन । त्यस क्षेत्रका बासिनदाहरुले सेतीबेणीबाट जलयात्रा सुरु गरी मिर्मीमा पुगेर बस मार्फत गन्तव्यमा पुग्दै आएका छन । स्टिमर सेवामा २५ जनाले प्रत्यक्ष रूपमा र अन्य दर्जनौँ व्यक्तिहरूले अप्रत्यक्ष रूपमा रोजगारी पाउँदै आएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->