बागलुङ, २३ साउन – बाढीले बिद्युत आयोजनाको बाँध बगाएपछि जिल्लाको निसीखोला गाउँपालिका–४ का १ हजार १ सय २० घरमा बिद्युत आपुर्ति बन्द भएको छ । निसीखोला–४ जैथुम्कामा रहेको १ सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत आयोजना बाँध बाढीले बगाएपछि पाँच दिनदेखि बिद्युत उत्पादन बन्द भएको हो । आयोजनाको उत्पादन बन्द भएसँगै सो क्षेत्रका बोहोरागाउँ, थापागाउँ, झिँवाखोला, छापाखानी, धाराखर्क, धुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौर लगायतका ठाउँमा बिद्युत आपुर्ति बन्द छ । आइतबार राती बर्षासँगै आएको बाढीले आयोजनाको बाँध कामै नलाग्ने गरी बगाएको छ । निसी खोलामा रहेको २० मिटर बाँध गहिरो गरी बगाएकाले बिद्युत आपुर्ति बन्द भएको आयोजनाका अध्यक्ष लोकेश्वर पौडेलले बताए ।
बर्षाको समय भएकाले तत्काल मर्मत गर्न सम्भव नरहेको आयोजनाले जनाएको छ । बर्षा रोकिएर खोलामा पानीको बहाव घटेपछि मात्रै बाँध मर्मत गर्न सकिने स्थानीय उपभोक्ता डम्बर बुढा मगरले बताए । ‘तत्कालै बनाउन सकिने अवस्था छैन्, खोलाको पानी कात्र्तिकमा मात्रै घट्छ’ बुढाले भने ‘झण्डै चार महिना अन्धकारमा परिने भईयो ।’ आयोजनाको बाँधसँगै मुख्य प्रशारण लाईनका ८ वटा पोल समेत भाँचिएका छन् । आयोजना बन्द हुँदा त्यस क्षेत्रमा सञ्चालित काठका फर्निचर, कुखुरा फार्म, दुरसञ्चारका टावरहरु समेत प्रभावित भएका छन् । मोबाईलको व्याट्री चार्ज गर्न समेत बिद्युत नभएकाले सम्पर्क टुट्ने अवस्था छ ।





