पोखरा,२२ भदौ – सिभिल बैंकले नेपालमै पहिलोपल्ट ‘एन्यूटी डिपोजिट निक्षेप’ योजना ल्याएको छ । वचत र मुद्दतीको समायोजन गरी नयाँ निक्षेप योजना बैंका सेवाग्राहीसामु ल्याइएको बैंकले जनाएको छ । ‘एन्यूटी डिपोजिट निक्षेप’ योजनामा सेवाग्राहीले आफूलाई भविष्यमा आवश्यक पर्ने रकम वचतकर्ताले निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्ने र तोकिएको निश्चित अवधि पूरा भएपछि उक्त वचत रकम एकमुष्ट पाउन सक्ने बैंकले पोखरामा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी जानकारी दिएको छ । यो योजना आइतवार देशभर सार्वजनिक गरेको बैंकले जनाएको छ । यो योजना नेपालमै पहिलोपल्ट ल्याइएको बैंकको दावी छ । 
‘एन्यूटी डिपोजिट निक्षेप’ योजना अन्तर्गत खोलिएको खाताको व्याजदर खाताको अवधिभर स्थिर रहने सिभिल बैंक गण्डकी प्रदेश कार्यालयका प्रमुख समिर केसीले जानकारी दिए । न्यूनतम एक हजार रुपैंयाँमा शुरु गर्न सकिने यस योजना अन्तर्गत एकल र संस्थागत दुबै खालका खाता खोल्न सकिने उनले जानकारी दिए ।
एक वर्षदेखि सात वर्षको अवधिमा आफ्नो मासिक आम्दानीबाट वचत गर्न सक्ने रकमलाई थोरै थोरै गरी भविष्यको योजनाहरुलाई साकार पार्न यो योजनाले सहयोग गर्ने केसीले बताए ।
ग्राहकको इच्छा अनुसार एक वा त्यो भन्दा बढी खाता खोल्न सकिने यो योजनाबाट वचतकर्ताले आवश्यक मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा–व्याज एकमुष्ट रकमको लाभ लिन सक्ने बैंकको दावी छ ।
आवश्यक परे ‘एन्यूटी डिपोजिट निक्षेप’ को वचत रकम तीन महिनापछि खाता बन्द गर्न पनि मिल्ने र मौज्दात रकमको ६० प्रतिशत ऋण निकाल्न मिल्ने सुविधा समेत रहेको सिभिल बैंकले जानकारी दिएको छ । सिभिल बैंकले अहिले देशमा ९६ शाखाहरुमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।





