बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

धर्म संस्कृतिको लागि तरबार उठाउने कुरा

धर्म संस्कृतिको लागि तरबार उठाउने कुरा


  • राजेशचन्द्र राजभण्डारी
  • भाद्र २३ २०७६, सोमबार

मुलुकमा इतिहासकै शक्तिशाली सरकार गठन भएको अवस्थामा नेपालको धर्म संस्कृतिप्रति एकपछि अर्को प्रहार गर्ने क्रमले तीव्रता पाएको छ । लगभग ९५ प्रतिशत ओमकार परिवार भएको नेपालमा २०६२÷०६३ सालको जनआन्दोलनपछि देशमा गणतन्त्र घोषणा गरियो । जसलाई नेपाली जनताले सकारात्मक रूपमा लिए । सोही उपक्रममा नेपाली जनताले कल्पना नै नगरेको हिन्दु राष्ट्र भएको देशलाई रातारात धर्म निरपेक्ष घोषणा गरियो । जसलाई नेपाली जनताले न त मन पराएका छन् न त रूचाएका छन् । जुन दिन नेपालमा धर्म निरपेक्ष घोषणा भयो त्यो दिन देखि नेपालमा विदेशी चलखेल ह्वात्तै बढ्यो ।
अहिले ठाउँठाउँमा गाईको हत्या गर्ने क्रम बढेर गएको छ । यतिबेला आफुलाई हिन्दु धर्मको ठेकेदार भनेर दावी गर्ने राप्रपा नेतृत्वको स्थानीय सरकार भएको बेला नेपालगन्जमा गाईकाण्ड मच्चाउने काम भयो । दर्जनौँ गाईहरू भीरबाट फालेर मार्ने काम भयो । यसले सनातन हिन्दु धर्म मान्ने नेपालीलाई निकै चित्त दुखाएको छ । अहिले गौ हत्याको बिरोधमा देशको ठाउँठाउँमा बिरोधसभा भइरहेको छ । हामी गाईको हत्याहुँदा चुपचाप छाँै । देश धर्म निरपेक्ष भयो भन्दैमा जसले जे जे मनलाग्यो त्यसले त्यही गर्ने भनेको अवश्य पनि हैन होला । नेपाल संविधान २०७२ मा धर्म निरपेक्ष भन्नाले सनातन कालदेखि चल्दै आएको धर्म संस्कृतिको संरक्षण वा धार्मिक स्वतन्त्रता भनेर ब्याख्या गरिएको छ । सनातन कालदेखि चल्दै आएको धर्म संस्कृतिमाथि एकपछि अर्को प्रहार हुँदा किन चुपचाप छ नेपाल सरकार ? किन संरक्षण गर्दैन हाम्रो संस्कृतिको ? यतिबेला नेपाली जनताले यो प्रश्नको जवाफ खोजी रहेका छन् ।

राधाकृष्ण मन्दिर सेवा समितिका प्रधान संरक्षक एवम् श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले हाम्रो धर्म संस्कृति माथि प्रहार भए अब चुप लागेर बस्न मिल्दैन, आवश्यक परे तरबार बोकेर बाहिर निस्कनु पर्ने धारणा राखे । जुन स्वभाविक कुरा हो । झट्ट सुन्दा एकजना सन्यासी साधुले तरबार उठाउने कुरा गर्नु अस्वभाविक लाग्न सक्छ तर आफ्नो धर्म संस्कृति केही पनि रहँदैन भने हामी मान्छे भएर बाँच्नुको कुनै अर्थ राख्दैन भन्ने जुन तर्क स्वामीले राख्नुभयो, त्यो स्वभाविक कुरा हो भन्ने लाग्छ । हाम्रो धर्म संस्कृति सबै नासिए के को लागि हामी के भनेर बस्ने ? अब त्यस्तो अबस्थामा घरघरबाट लाठी लिएर आउनु पर्ने सरस्वती महाराजको भनाइमा धेरै कुरा लुकेका छन् । जुन क्षेत्रमा न्याय छैन, देवालय शिवालय नभएको ठाउँमा कोही पनि बस्न योग्य नहुने मान्यता रहेको छ । अहिले धार्मिक संस्कार र संस्कृतिको अभाव हुदै गइरहेको छ । साधुसन्त आउँदा बस्ने खाने ठाउँको समेत अभाव बन्दै गइरहेको भनाइलाई सबैले मनन गर्ने बेला आएको छ । देश धर्म निरपेक्ष भए पछि नेपालको गाउँ गाउँमा हिन्दु धर्मको बिरोध गर्दै विदेशी धर्मको प्रचारप्रसार लाई तीव्रता दिएको देखिन्छ । हिजो पंचायत कालमा आइएनजीओ को नाममा गाउँगाउँमा विकास लगेर गाउँले जनतालाई इसाई धर्मको प्रभाव पार्ने गरेको धेरै उदाहरण हाम्रो सामु ज्यूँदो छ ।२०६२÷०६३ को जनआन्दोलन पछि रातारात युरोपियन युनियनको दवाब र प्रभावमा हिन्दु अधिराज्यलाई हटाएर धर्म निरपेक्ष बनाउने जुन खेल खेलियो, त्यो नै सबैभन्दा ठूलो बिडम्बना हो भन्ने लाग्छ । नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा किन गर्नु परेको थियो ? यो न त नेपाली जनताको माग थियोे, न त जनआन्दोलन कै एजेन्डा नै थियो । विदेशी प्रभुको इसारामा आफ्नो भएको धर्म संस्कृति मेट्ने जुन कसरत गरियो, साँच्चै भन्ने हो भने यो घोषणामा साथ दिने पापीहरू हुन् भनेर नेपाली जनताले उनीहरू लाई धिक्कारी रहेका छन् । आज हिन्दू धर्म जोगाउन साधु– सन्त, जोगी– सन्यासीले हतियार उठाउने कुरा गर्नु परेको छ । हामी समाजका जान्ने बुझ्ने मान्छे हौँ भन्ने रू चुपचाप बसिरहेका छाँै ।

साँच्चै भन्ने हो भने हामी चाहिने कुरामा समय निकाल्दैनौँ । नचाहिने काम धन्दामा जुलुस धर्ना हड्ताल गरेर हिँड्ने गरेका छाँै । अहिलेको शिक्षा न त ब्यबहारिक छ न त बैज्ञानिक नै छ । अहिले मात्रै मान्छेलाई मेसिन बनाउनेभन्दा अर्को थोक केही गरेको छैन । तपाईं हामी आफ्नो छोराछोरी निजी महंगो स्कुलमा भर्ना भएर एक दुईवटा टुटे फुटेको अंग्रेजी बोल्न जाने के के न भयो भन्ने ठान्ने गरेका छौँ । संस्कृत बिषय पढ्ने मान्छेलाई समाजले तल्लो स्तरको ठान्ने गरेको छ जनयुद्धको नाममा हिजो संस्कृतका पुस्तक जलाउने काम भयो । संस्कृत विषयलाई जबर्जस्ती हटाउने काम भयो । नैतिक शिक्षा सामुदायिक विद्यालयबाट समेत हटाउने काम भयो । त्यहीँ भएर पनि अहिलेका बालबच्चामा अनुशासन छैन, नैतिकता छैन । यो विषयमा गम्भीर भएर सोच्ने बेला आएको छ ।
अहिले पनि बेलाबेलामा आन्दोलन अझै सफल नभएको भन्दै नेकपाका अध्यक्ष प्रचण्डले हतियार बोक्ने कुरा गर्छन् । धर्म,संस्कृति, परम्परा केही पनि बचेन भने हामी मान्छे भएर बान्च्नुको सार्थकता नरहने भन्दै त्यसलाई जोगाउन हतियार उठाउनु पर्ने अवस्था आउन सक्छ । त्यस्तो बेलामा मठ मन्दिरमा शंखघन्ट बजाएर बस्ने हैन, हातमा लाठी लिएर भए पनि बाहिर निस्कनु पर्ने जुन अभिव्यक्ति दिएका छन्, यसलाई सबैले मनन गर्न जरुरी छ ।अहिले विदेशी डलर पानी झैँ बगाएर गरीब सीधासाधा जनतालाई धर्म परिवर्तनको लागि उकास्ने काम गरिरहेका छन् ।
अहिले समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले दलित समुदायलाई हिन्दु धर्म छोड्नु भनेर उकास्ने काम गरिरहेका छन् । यसले के सन्देश दिन्छ भन्ने कुरा स्पष्ट भएको छ । एकजना देशको जिम्मेवार नेता, देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले आफ्नो धर्म संस्कृतिको संरक्षण गर्ने कि नचाहिँदो काम कुरा गरेर जनता उकास्ने ? हो, अहिले जसरी जोगी सन्यासीले धर्म संस्कृतिको रक्षा गर्न हतियार उठाउने दिन आउन सक्ने भनेर भनिरहेका छन् । अहिले इतिहास कै शक्तिशाली सरकार भएको बेलामा त्यस्ता अबस्था सृजना नहुने वातावरण बनाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->