मनाङ, २५ भदौ – हिमालपारीको जिल्ला मनाङमा अव नियमित उडान हुने भएको छ । आन्तरिक पर्यटन बर्ष २०१९ र नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर मनाङको हुम्डे विमानस्थलमा नियमित उडान गर्न थालिएको हो । हुम्डे विमानस्थलको पक्की धावनमार्ग बनेको झण्डै पाँच वर्षपछि नियमित उडान सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । गण्डकी प्रदेश सरकारको समन्वयमा समिट एयरले उडान भर्ने तयारी गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले मनाङको हुम्डे विमानस्थलमा औपचारिकरुपमै हवाई सेवा सञ्चालन गर्न लागिएको जानकारी दिए।
मनाङमा पहिलो उडान भदौ २७ गते गर्ने तयारी भएको छ, मन्त्री लम्सालले भने, मौसमले साथ दियो भने त्यो दिन एउटा उडान हुन्छ ।’ असोज १० गतेबाट भने नियमित उडान गर्ने तयारी गरिएको छ ।’ परीक्षण उडानका लागि समिट एयरले भदौ २७ गते अनुमति लिइसकेको नागरिक उड्यन प्राधिकरण पोखरा शाखा प्रमुख भोला गुरागाईले जानकारी दिए । समिट एयरका पोखरा स्टेसन म्यानेजर पोषणमणि त्रिपाठीले भदौ २७ गते पहिलो उडानका लागि सम्पूर्ण तयारी गरिसकेको बताए । विमानस्थल निरीक्षणपछि फ्लाइटको समय निर्धारण गरिएको हो । यात्रुको माग हेरेर नियमित उडानका लागि योजना बनाउन सकिने गुरागाईले जानकारी दिए ।

लामोसमयसम्म मनाङको हवाई सेवा अवरुद्ध हुँदा हिमालपारिका नागरिकले भोग्नु परेको समस्याको अन्त्य गर्न नियमित उडान गर्न लागिएको हो । त्यहाँ नियमित उडान हुनासाथ पर्यटकीय गतिविधिमा समेत बढोत्तरी हुने मन्त्री लम्सालले वताए । यसले आन्तरिक पर्यटन बर्ष र नेपाल भ्रमण बर्षलाई सहयोग पुग्नेछ ।
‘मनाङस्थित हुम्डे विमानस्थलको अवस्था ठिक छ । अहिले पनि त्यहाँ १ जना कर्मचारी कार्यरत छन् । १ जना थप गरी हवाइजहाज कन्ट्रोलर पठाउँदै छौं,’ मन्त्री लम्सालले भने, ‘टेस्ट फ्लाइट सम्पन्न भएपछि नियमित उडानका लागि सेडुअल स्वीकृत गराउने काम हुन्छ ।’ नियमित उडान भर्न प्राधिकरणले नै चाहेकाले पनि सम्भावना बढेको उनले सुनाए ।
अक्टोबरदेखि पर्यटकीय गतिविधि बढ्ने हुँदा तत्कालका लागि परीक्षण उडानमा तयारी थाल्न मनाङका प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङले सवै निकायहरुमा समन्वय बढाएका थिए । मनाङमा नियमित उडान सम्भव भएकाले पनि सिजन सुरुवातमै हवाई सम्पर्क स्थापित गराउन पहल गरेको उनले बताए । ५ वर्षअघि ६ सय मिटरको कच्ची विमानस्थल ९ सय मिटर लम्बाइ र २० मिटर चौडाइमा पिच गरी विस्तार गरिएको भएपनि उडान हुन सकेको थिएन । त्यसअघि ट्विनअटर विमानले मात्रै उडान भर्दै आएको थियो ।

सन् २०१४ सेप्टेम्बरमा जर्मनीमा निर्मित तारा एयरको डोर्नियर डो–२२८ एयरक्राफ्टले सफल परीक्षण उडान गरेको थियो । तर नियमित उडान भर्न सकेन । उक्त विमानस्थल समुद्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा छ । विसं २०३९ असोजबाट निगमले पोखरा–मनाङ–पोखरा उडान भर्न सुरु गरेको थियो । नियमति विमानस्थल सञ्चालनमा आए विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्यटकको उपस्थिति बढ्ने अनुमान गरिएको छ ।
पोखराबाट देका सातै प्रदेशमा नियमित उडानका लागि सम्भावना देखिएकाले नागरिक उड्डयन प्राधिकरणसँग अनुमति समेत लिइसकिएको मन्त्रीको लम्सालको दावी छ । विस्तृत अध्ययन गरेर सबै प्रदेशका मुख्य सहरमा पोखराको सिधा हवाई सम्पर्क स्थापित गराउन मन्त्रालयले काम गरिरहेको छ ।





