बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेपालको चर्चित दुई प्रसंग : डेंगु र मन्त्री यादव

नेपालको चर्चित दुई प्रसंग : डेंगु र मन्त्री यादव


  • राजेशचन्द्र राजभण्डारी
  • असोज ६ २०७६, सोमबार

‘एकातिर आधी अर्काेतिर झोलुङ्गो’ भनेझै यतिबेला हाम्रो देशका स्वास्थ मन्त्री उपेन्द्र यादव बिदेश भ्रमणमा ब्यस्त छन् । देशमा डेंगुको महामारी फैलिएको बेला बिभागिय मन्त्रीलाई बिदेश घुम्ने चटारो छ । हो यतिबेला हेपाटाइटिस ‘बी’ नियन्त्रण गर्न सफल भएपछि विश्व स्वास्थ्य संगठनको बधाई कार्यक्रममा भाग लिन स्वास्थ्यमन्त्री उपेन्द्र यादव मन्त्रालयका उच्च अधिकारीसहित डेढ साताअघि नयाँदिल्ली पुगेका थिए । मन्त्री यादव दिल्ली यात्रामा रहँदा डेंगु देशभर फैलिँदै थियो । अहिलेसम्म डेंगु नियन्त्रणको कुनै योजना बनाउन नसकेका मन्त्री यादव स्वदेशमा हुँदा पनि मन्त्रालयमा कमै मात्रामा भेटिन्छन् । ६५ जिल्लामा नेपाली जनता डेंगुको आतंकले छटपटाईरहेका बेला मन्त्री यादवको घुमघाम अझैसम्म जारी छ । संसदमा डेंगु नियन्त्रणतर्फ गइसकेकाले चिन्ता गर्नुपर्ने बताएका उनी बुधबार १६ जना सांसदको घेराबन्दीमा परे । उनीहरूले प्रतिनिधसभाको बैठकमा यादवको काम घुम्ने मात्रै भएको बताउँदै विदेशतिरै घुमिरहन सुझाव दिएपनि त्यसलाई खासै महत्व दिएको देखिएन । मान्छेहरूमा अलिकति लाजशरम भन्ने कुरा हुन्छ भनेको सुनेको थिए । नेपालीहरूमा थोरै भए पनि मानवीयता हुन्छ भन्ने लागेको थियो । देशभरका अस्पतालमा डेंगु आतंकले सताइरहेको बेला एकजना बिभागीय मन्त्री भने बिदेशी भूमिमा मज्जाको सयर गरिरहेका छन् । दया धर्म समेत सबै हराएको अर्को ज्वलन्त उदाहरण पनि हो यो । अहिले देशको शासनको बागडोर शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालेर बसिरहेको बेला मन्त्री महोदयहरू भने आफ्नो किसिमले भ्रमणमा निस्केको खबर सामाजिक संजालमा भाइरल हुँदा पनि न त चिन्ता छ, न त लाज शरम नै छ ।
अहिले सरकारमा भएको मधेसी दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकार छोड्नु पर्ने दबाब नयाँ शक्ति पार्टी र समाजवादीको एकीकरण पछि अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले दिइरहेका छन् । जुन कुरा यादवलाई मन परेको छैन । नेता बाबुरामले नेपालको संविधानलाई कालो संविधान भन्दै यसको संशोधन हुनुपर्ने माग गर्दै आइरहेका छन् । असोज ३ गते संविधान दिवस मनाउनु भन्दा बरू बिदेशतिर टाप कसे तत्कालीन समस्याको समाधान हुने देखे होलान् मन्त्री यादवले । अहिले भइरहेको डेंगु रोगको नियन्त्रण कसरी गर्ने, जिल्ला जिल्लाका स्वास्थ केन्द्रमा औषधी छ कि छैन, नभए कसरी ब्यबस्थापन गर्ने भनेर जिम्मेवारी लिनुपर्ने ब्यक्ति देशमा केही पनि नभए जसरी हिँड्दा समेत प्रधानमन्त्री ओलीले रोक्न सकेका छैनन् । प्रधानमन्त्रीको कमाण्ड प्रभाबकारी नभएको कारणले स्वास्थ मन्त्री एक बर्षमा ९ महिना बिदेश भ्रमणमा हिडिरहेका छन् । नेपालमा रहँदा पनि मन्त्री यादवको उपस्थिति मन्त्रालयमा कमै हुने गर्छ । धेरै समय यादव तराई–मधेसतिरै डुलिरहन्छन् । स्वास्थ्यको काममा उनले खासै ध्यान नदिने कुराको ब्याख्या धेरै गरिरहन पर्छ जस्तो लाग्दैन ।
कास्कीमा उप–निर्वाचन र बामदेव

कास्की जिल्लामा यहीँ मंसिर १४ गते तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन गइरहेको छ । जति–जति निर्वाचन नजिक आयो अहिले कसलाई उमेदवार बनाउने भनेर चर्चा परिचर्चा शुरू भएको छ । रबिन्द्र अधिकारीको मृत्यु हुनासाथ कास्की जिल्लामा हुने उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता बामदेब गौतम उमेदवार बन्ने निश्चित भनेर मिडियामा खबर छापिएको सबैलाई थाहा भएको कुरा हो । एकातिर रबिन्द्र अधिकारीको मृत्युु भएको घाउ ताजै भएको बेला एकथरी मान्छेहरूले नेता बामदेवको चर्चा चलाएर उनलाई सिद्धाउने खेल खेले भन्ने कुरा त्यहीँ बेला नै राजनीति बिश्लेषण गर्नेहरूले नगरेका हैनन् । जतिजति निर्वाचन नजिक आउँदै छ उमेदवार छनौट गर्ने बेला नजिकै आउँदा नेता गौतम आफु कास्कीको उनिर्वाचनमा नउठ्ने निर्णय गरे । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठकमा गौतमले आफु बिपक्षी भन्दा ३२ हजार मतले अगाडि हुँदा त निर्वाचन हार्न पुगेभने कास्कीमा कसरी जित्न सक्छु भन्ने तर्क पेश गरेर निर्वाचनबाट पछि हट्ने जुन निर्णय गरे त्यसलाई सकारात्मक मान्नुपर्छ ।
३२ हजार मत बढी हुँदाहुँदै पनि निर्वाचन जित्न नसकेको नजिर पेश गर्दै बामदेव निर्वाचनको रेशबाट बाहिरका छन् । पटकपटक बामदेवलाई निर्वाचनको सपना देखाइन्छ उनले पनि त्यो आशा गरेको देखिन्छ । साँच्चै भन्ने हो भने नेपालीमा एउटा भनाई छ– ‘अभागीलाई खाने बेलामा हुरी बतास लाग्छ’ भनेजस्तै भएको छ । दुई ठुला पार्टीलाई एकजुट बनाउन महत्वपूर्ण भुमिका खेलेका नेतालाई जसरी भए पनि सांसद बनाउने अनि महत्वपूर्ण मन्त्री दिने, उस्तै परे प्रधानमन्त्री नै बनाउने योजना केही नेताको भए पनि त्यो सबै सपनामा सिमित हुन पुगेको छ । यतिबेला निर्वाचन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को लागि निर्वाचन जति सहज हुनुपर्ने हो त्यति देखिदैन । अहिलेसम्म नेपालमा भएको उप–निर्वाचनमा जुन नेताको मृत्यु हुन्छ उसैको श्रीमतीलाई उमेदवार बनाउँदा सहानुभूतिको मत पाउने गरेको मात्रै छैन चुनाव नै जितेको इतिहास हाम्रो सामुन्ने छ । अब कास्कीको यसपटकको निर्वाचनमा पनि रबिन्द्र अधिकारीकै धर्मपत्नी बिद्या अधिकारीलाई उठाउनुको बिकल्प देखिदैन । नेपालमा अहिलेसम्म भएको इतिहासलाई कायमै राख्ने हो भने यो नै सबैभन्दा राम्रो अवसर पनि हो । किनभने नेपाली समाज र संस्कृति अहिले पनि एकजना नारी जनताको घर–घरमा रूदै भोट माग्न जाँदा जो कसैको पनि मन पग्लन्छ । अहिले हामीले गर्दै आएको राजनीति पनि यहीँ हो, यसलाई हामीले अहिलेसम्म चिर्न सकेका छैनौं । बामदेव गौतमले जुन निर्णय गर्नुभयो त्यो एकदमै सान्दर्भिक छ । अब अर्को निर्वाचन नहुँदासम्म बामदेव गौतम चुपचाप बस्नु नै सबैभन्दा बुद्धिमानी हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->