काठमाडाैं, ८ असाेज – कृषि विकास बैंकको एक करोड ४९ लाख रुपैयाँ लुटिएको छ । ह्याकरको एक गिरोहले कृषि विकास बैंक लहान शाखाबाट सो रकम ह्याक गरी लुटेको हो ।
प्रहरीका अनुसार एउटा गिरोहले कृषि विकास बैंक लहान शाखाबाट काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी सो बराबरको रकम लुटेको हो।
सिरहा प्रहरी स्रोतका अनुसार असोज ५ गते सो रकम सिरहा शाखाबाट केन्द्रीय बैंक हुँदै गिरोहले लुटेको देखिएको छ। सो रकम कसरी सिरहा शाखा हुँदै केन्द्रीय बैंकबाट बाहिरियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
स्रोतका अनुसार काठमाडौंबाट रकम निकाल्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। ‘बैंकको सिस्टम ह्याक गरेर गिरोहले रकम निकालेको बुझ्नमा आएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘संलग्न तीन जनालाई काठमाडौंबाट नियन्त्रणमा लिइसकिएको छ।’
बैंकको सिस्टम ह्याक गरेर पैसा लुट्ने ती व्यक्तिको पहिचान भइरहेको भन्दै पक्राउ परेका व्यक्तिबारे प्रहरीले खुलाएको छैन। ‘घटनाबारे अनुसन्धान भइरहेको छ र मान्छे नियन्त्रणमा रहेकाले अहिले सबै खुलाउन मिल्दैन,’ प्रहरी स्रोतले भन्यो।
बैंकको सिस्टम ह्याक कसरी भयो भन्ने विषयमा कृषि विकास बैंक केन्द्रीय कार्यालयले विज्ञको टोली खटाएर अनुसन्धान गरिरहेको छ।
प्रहरीले मंगलबार दिउँसो ह्याकरको सो टोलीलाई काठमाडौंबाट पक्राउ गरेको भए पनि यसबारे विस्तृतमा खुलाइएको छैन। प्रहरीले यो प्रकरणमा अनुसन्धान भइरहेको भन्दै घटनाबारे प्रहरीले विस्तृतमा बताएको छैन।





