नेपाल सरकारले आयोजना गरेको ४० औं विश्व पर्यटन दिवसको मुल राष्ट्रिय समारोहमा नेपाल सरकारका माननीय पर्यटन राज्य मन्त्री, मन्त्रालयका श्रीमान सचीव ज्यू, पर्यटन बोर्डका कार्यकारी प्रमुख ज्यू, नेपाल भ्रमण बर्ष २०२० का संयोजक सुरज वैद्य ज्यू, पर्यटन विभागका महानिर्देशक लगायत पर्यटन क्षेत्रमा काम गरिरहेका सरकारी र निजी क्षेत्रका व्यवसायीहरुको ठूलो जमघटका बीचमा नेपालको ग्रामीण पर्यटन प्रवद्र्धनमा भूमिका निर्वाह गरिरहेको राष्ट्रिय संस्था गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) ले बागलुङ काँठेखोला गाउँपालिकाको फापरखेत, धादिङ रुबि भ्याली गाउँपालिकाको चालिस र ताप्लेजुङ फत्ताङलुङ गाउँपालिकाको घुन्सा गाउँलाई नेपालका नयाँ तीन पर्यटकीय गन्तव्यको रुपमा घोषणा गरेको छ ।
नेपाल भित्रको नेपाल, झोलुंगे पुलहरुको जिल्ला, प्रशस्त लघु जलविद्युत आयोजनाहरुको जिल्ला, प्रशस्त संभावनाहरु बोकेका दर्जनौं प्रसिद्ध धुरी नै धुरीहरु भएको जिल्ला, लोकगीत र संगीतमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा स्थापित कलाकारहरुको उद्गम जिल्ला, जनजातीहरुको बाहुल्यता र विशेष गरी मगर संस्कृतिमा धनी जिल्ला, अर्गानिक उत्पादनको हिसाबले राष्ट्रिय रुपमा परिचित एवं युद्ध पर्यटनको संभावना बोकेको ताराखोला क्षेत्र रहेको जिल्ला, नेपालकै उत्कृष्ठ पर्यटकीय गन्तव्यहरु कालिका भगवती मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट, भैरवस्थान मन्दिर बलेवा, भकुण्डे, गाजादह, त्रिपुरेश्वर महादेव मन्दिर (विहुँकोट), जैमिनी, हाँडिकोट, कौडेको धुरी, बेलढुंगा, झुलेनीको धुरी, थाप्लेको धुरी, संसारकोट, दुरलेक, पाण्डवखानी, रणसिंहकिटेनी, चमेरे गुफा, वडिगाड, निसी खोला, तमान खोला, बुर्तिबाङ, ढोरपाटन जस्ता प्रशस्त पर्यटकीय क्षेत्रहरुले भरिपूर्ण बागलुङ जिल्लामा पछिल्लो समयमा पर्यटन प्रवद्र्धनको क्षेत्रमा महत्वपूर्ण पहलहरु हुँदै गएका छन् । यतिमात्र हैन विश्वका हिन्दु र वौद्ध धर्माबलम्बीहरुको संगमको रुपमा परिचित मुक्तिनाथ क्षेत्र मुस्ताङको दामोदरकुण्ड हुँदै त्रिवेणीधामसम्म बग्ने विश्वको एकमात्र धार्मिक महत्वको शालिग्राम पाईने कालीगण्डकी नदी र कालीगण्डकी सभ्यताको एउटा महत्वपूर्ण हिस्साको रुपमा पनि बागलुङ जिल्ला परिचित छ ।
ब्यापक पर्यटकीय संभावना बोकेको बागलुङ क्षेत्र नेपालको पर्यटन मानचित्रमा खासै उल्लेख नभएतापनि पछिल्लो समय मुस्ताङबाट फर्कने पर्यटकहरु ठूलो संख्यामा बागलुङ जिल्ला तर्फपनि आकर्षित हुन थालेका छन् । नेपालकै उत्कृष्ठ १०० पर्यटकीय गन्तव्यहरुको सूचीमा अटाएका कालिका भगवती मन्दिर र सर्वसिद्धिधाम पञ्चकोट क्षेत्रमा पर्यटकहरुको घुईचो नै लाग्न थालिसकेको छ । यस बाहेक पनि आन्तरिक एवं बाह्य पर्यटकहरु ढोरपाटन तर्फ पनि आकर्षिक हुँदै छन् ।
नयाँ पर्यटकीय गन्तव्यको रुपमा काँठेखोला गाउँपालिका वडा नं ४ अन्र्तगत झुलेनीको धुरीको काखमा रहेको फापरखेत गाउँ राष्ट्रिय रुपमा चर्चामा आईरहँदा यो गाउँ राष्ट्रिय स्तरमा चर्चामा आउनुका केही महत्वपूर्ण पक्षहरु यहाँ उल्लेख गर्ने प्रयास गरिएको छ ।
(१) पछिल्लो समय बागलुङ जिल्लाका विभिन्न ग्रामीण बस्तीहरुमा पर्यटन प्रवद्र्धन अभियान स्वतस्फूर्त रुपमा चलिरहेको छ । पर्यटन प्रवद्र्धन अभियान बागलुङको नाममा प्रारम्भिक रुपमा संचालन गरिएको यस अभियानलाई पछिल्लो समय धौलागिरी पर्यटन प्रवद्र्धन समितिले अत्यन्त मेहनतका साथ पर्यटन प्रवद्र्धनमा भूमिका निर्वाह गरिरहेको छ ।
(२) फापरखेत गाउँको शिरमा प्रसिद्ध धार्मिक पर्यटकीय स्थल झुलेनीको धुरी रहेको छ । यस स्थानको नाम प्रसिद्ध धार्मिक गुरुहरु स्वर्गीय छविलाल लामिछाने र बम्हालीन स्वामी १००८ प्रमानन्द सरस्वती महाराजले तपस्या गरेको पवित्र क्षेत्रको रुपमा चीर परिचित छ ।
(३) यस क्षेत्र सगग्र गण्डकी प्रदेशको मध्य भागमा अवस्थित प्रशस्त संभावना बोकेका गाउँहरु मध्य मगर संस्कृतिका मुल्य र मान्यता, कला र संस्कृतिलाई जोगाउँदै उत्पादनमूलक गतिविधिहरुमा जोडिएको एउटा सुन्दर गाउँ हो ।
(४) यो गाउँ हालै मात्र व्यापक प्रचार प्रसारमा आई गण्डकी प्रदेशमा पहिचान गरिएको नयाँ पर्यटकीय पैदल मार्ग धौलागिरी चक्रीय पदमार्ग अन्र्तगत रहेको गाउँ हो । कालिका भगवती मन्दिर, शालिग्राम संग्रहालय, पञ्चकोट, ताराजालकोट, मालिका भगवती मन्दिर, कारिकोट, माझकोट, रायरायकोट, संसारकोट, थाप्लेको धुरी, कान्छो धौलागिरी बेलढुंगा, स्वर्गाश्रम, धम्जा, झुलेनी, विहुँकोट, रामकोट, शिवधुरी, गाजको दह, लेखानी कादेश, रेश, सिगाना, तित्याङ भकुण्डे, ,भैरवस्थान मन्दिर, बलेवा क्षेत्र, कुश्मा बजार, कालीगण्डकी नदी क्षेत्र हुँदै बागलुङ कालिका भगवती मन्दिर जोड्ने झण्डै १०० किलोमिटर लामो पदमार्ग क्षेत्रमा पर्ने सुन्दर बस्ती हो ।
(५) यो क्षेत्र नेपालकै प्रसिद्ध पर्यटकीय स्थल कास्की पोखराबाट झण्डै ४ घण्टाको यात्रामा सहजै पुग्न सकिन्छ । अहिले पोखरा देखि बागलुङ र बागलुङ बजार देखि पश्चिम विहुँसम्मको बाटो निर्माण हुँदै गरेकोले केही थप समय लागेतापनि निकट भविष्यमा पोखराबाट सोझै पर्यटकहरुलाई बागलुङ जिल्लाका ग्रामीण बस्तीहरुमा लैजान सकिने संभावना रहेको छ ।
(६) ब्रम्हालीन १००८ स्वामी प्रमानन्द सरस्वती महाराज ज्यूको जन्म थलो विहुँकोट र यसको मध्यभागमा सुन्दर पहाडको शिरमा रहेको त्रिपुरेश्वर महादेव मन्दिर (रामकोट) हिन्दु धर्माबलम्बीहरुको आस्थाको केन्द्र समेत हो । यस धार्मिक महत्वको क्षेत्रको नजिकै रहेकोले पनि यस क्षेत्रमा ठूलो संख्यामा पर्यटकहरुलाई आकर्षित गर्न सकिने संभावना रहेको छ ।
(७) बागलुङ जिल्लाको उपल्लो विहुँ (रिजालचोक क्षेत्र) र फापरखेत अर्गानिक उत्पादन, मगर संस्कृति र प्राकृतिक साधन स्रोतले सम्पन्न ताराखोला क्षेत्र र म्याग्दीका विभिन्न स्थानीय ग्रामीण गाउँहरु हुँदै ढोरपाटन सम्म जाने प्रवेशद्धारको रुपमा पनि यस गाउँलाई लिन सकिन्छ ।
(८) लुम्बिनी देखि मुक्तिनाथसम्म पहाडै पहाडी शृंखलाबाट जोड्ने गुल्मी शान्तिपुर, गाजादह, विहुँ , फापरखेत, धम्जा, म्याग्दी तातोपानी सडकको ट्याक खोल्ने काममा धेरै प्रगति भैसकेको अवस्थामा पनि भविष्यमा यस क्षेत्रमा ठूलो संख्यामा पर्यटकहरु भित्रिने संभावना रहेको छ ।
(९) यति मात्र हैन यस गाउमा हरेक बर्ष झण्डै एक करोडको हाराहारीमा खसी बोका र कुखुराहरुको उत्पादन हुने गर्छ । विशेष गरी फापरखेती व्यापक रुपमा हुने भएकोले यस गाउँको नाम फापरखेत रहन गएको हो ।
(१०) यस गाउँमा झण्डै ९५ प्रतिशत मगर समुदायको बसोबास रहेको, विहानीको सूर्योदय हेर्न, नजिकै रहेका प्रसिद्ध झुलेनीको धुरी र छहरा एवं अन्यन्त सुन्दर स्थानमा अवस्थित गाउँको रुपमा परिचित गाउँ हो हो फापरखेत ।
त्यसैले नेपालका नयाँ उत्कृष्ठ तीन पर्यटकीय गाउँहरुमा बागलुङ जिल्लाको फापरखेत समावेश भएको सन्दर्भमा समग्र गण्डकी प्रदेश, बागलुङ जिल्ला र विशेष गरी झुलेनीको धुरीसँग यसको प्रत्यक्ष सम्बन्ध जोडिएकोले काँठेखोला गाउँपालिका र ताराखोला गाउँपालिकाले झुलेनीको धुरीको क्षेत्रको विकासमा थप जिम्मेवार हुने वेला आएको छ ।
यति मात्र हैन नेपालको पर्यटन उद्योगको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बागलुङ जिल्लाको पर्यटन प्रवद्र्धनमा संघीय सरकारले विशेष कार्यक्रमका साथ यस क्षेत्रको ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्नु आवश्यक छ । गण्डकी प्रदेश सरकार र स्थानीय सरकारको तर्फबाट समेत यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।
विशेष गरी बागलुङ जिल्लाबाट नेपालका प्रमुख शहरहरु एवं विदेशमा ठूलो संख्यामा यूवाहरु पेशा र व्यवसायमा आवद्ध रहिरहेको सन्दर्भमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, पर्यटन प्रवद्र्धनमा लागिरहेका संघ संस्थाहरु एवं स्थानीय समुदाय निरन्तर लागिरहने हो भने यस क्षेत्रमा पर्यटनकै मार्फतबाट ठूलो लगानी भित्र्याउने संभावना रहेको छ ।
त्यसैले बागलुङ जिल्लाको फापरखेत गाउँको राष्ट्रिय स्तरमा चर्चा हुँदै गर्दा बागलुङ जिल्लाका सम्पूर्ण जनता, स्थानीय सरकार, बौद्धिक समुदाय निरन्तर लाग्दा आगामी १० बर्ष भित्रमा समग्र बागलुङ जिल्लालाई नै ग्रामीण पर्यटकीय शहरको रुपमा विकास गर्न सक्ने संभावना रहेकोले जिल्लामा होटल, रिसोर्ट, शाहसिक खेल, शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रहरुमा ठूलो लगानी भित्र्याउन हामी सबैलाई हार्दिक अपिल समेत गर्न चाहन्छौं ।
अन्तमा बागलुङ जिल्लाको सुन्दर गाउँ फापरखेतलाई नेपालका नयाँ तीन उत्कृष्ठ पर्यटकीय गन्तव्यको रुपमा घोषणा गरी बागलुङ जिल्लाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा नेपाल सरकार, नेपाल पर्यटन वोर्ड, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल लगायतका संघ संस्थाहरुलाई हामी हार्दिक धन्यवाद समेत ज्ञापन गर्न चाहन्छौं ।
अध्यक्ष, धौलागिरी पर्यटन प्रवद्र्धन समिति
प्रवद्र्धन समिति





