बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्यार्दी खोलामा बेलिब्रिज: मनाङ आउने सडक मार्ग जोडियो

म्यार्दी खोलामा बेलिब्रिज: मनाङ आउने सडक मार्ग जोडियो

‘बल्ल सर्पले काँचुली फेरे झैं लाग्यो । पुल नबन्दा निकै खसखस लागेको थियो’


  • ढोरपाटन संवाददाता
  • असोज १० २०७६, शुक्रबार

मनाङ, १० असोज – तीन महिनादेखि सडक मार्गबाट सिधा सम्पर्क टुटेको मनाङ शुक्रवारदेखि जोडिएको छ । लमजुङ र मनाङ सिमाना म्यार्दी खोलाको बेलिब्रिज बाढीले बगाएको ३ महिनापछि बनेपछि सडक मार्गबाट मनाङ जोडिएको हो । लमजुङ र मनाङ सिमाना म्यार्दी खोलामाथि शुक्रवार नै बेलिब्रिज राखिएको छ  । पुल बगाएको ३ महिनामा अर्को पुल राख्न सफल भएको डिभिजन सडक कार्यालय दमौलीका सव इन्जिनियर सुमन अधिकारीले जानकारी दिए । १ वर्षअघि निर्माण गरिएको बेलिब्रिज म्यार्दी खोलाको बाढीले बगाएपछि लमजुङ-मनाङ सडक सम्पर्क टुटेको थियो  ।
बर्खायामको समय पुल बगाएपछि काठको फड्के बनाएर मानिस वारपार गरेका थिए । खाद्यान्न लगायत ढुवानीजन्य सामग्री ओसारपसारमा समस्या थियो ।बेलिब्रिज बनेसँगै ३ महिनादेखि मनाङ र लमजुङमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जान थालेका छन् । सवारी साधनले बेंसीसहरबाट खाद्यान्न ओसार्न थालेको स्थानीयले बताए । पुल बनेपछि दसैंमा गाउँघर आउनेलाई पनि सजिलो हुनेछ । ‘बल्ल सर्पले काँचुली फेरे झैं लाग्यो । पुल नबन्दा निकै खसखस लागेको थियो,’ मनाङको नांसो गाउँपालिका-१ का वडाध्यक्ष झलकबहादुर गुरुङले भने, ‘ढिलो भयो, राम्रै भयो भन्ने लागेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->