पोखरा,१३ असोज – मदन पुरस्कार विजेता विख्यात साहित्यकार सरुभक्तको सातौँ उपन्यास सार्वजनिक भएको छ । प्रतिगन्ध नामक सो उपन्यासको आइतबार पोखराका तीन साहित्यकार तीर्थ गुरुङ, गनेस पौडेल र सरस्वती प्रतीक्षाले लोकापर्ण गरे । तीर्थ पाठशाला, गनेस पैताला र सरस्वती नथिया उपन्यासको सर्जक हुन् ।
सरुभक्तले चुली उपन्यास प्रकाशनको १४ वर्षपछि प्रतिगन्ध सार्वजनिक गरेका हुन् । सरुभक्तले आफ्नो सातौँ औपन्यासिक कृतिलाई ‘लाहुरेको डायस्पोरा’को रुपमा अथ्र्याए । अमेरिकामा रहेका आप्रवासी नेपालीको दुःख,वेदना र उनीहरुको असंगत जीवनमा यो कृति आधारित रहेको छ । करिब १ लाख शब्द खर्चेका सरुभक्तले यो उपन्यास आफूले एकहप्त्ता अमेरिका बस्दा देखेको नेपालीहरुको कथा भएको बताए । उपन्यासमा भएको प्रमुख पात्र अमर प्रधानको वरपर घुम्ने उपन्यासमा अरु पुरक कथाहरु पनि मिसिएका छन् ।
‘म २०६१ सालतिर अमेरिका गएको थिएँ, त्यहाँ म करिब ३ महिना बसँे, खासगरी भर्जिनिया र मेरिल्याडमा’, सरुभक्तले भने,‘ एकहप्ता न्यूयोर्कमा पाहुना भएर बस्दा यो कथा लेखौँ भन्ने लाग्यो र लेखेको हुँ ।’ उनले आफू अल्छी मान्न जाँगर चलाउने लेखक भएको बताउँदै अल्छी मान्न जाँगर नलागेको पछिल्लो ४ वर्षमा उपन्यास तयार भएको जानकारी दिए । सुरुमा २ लाख शब्द भएको उपन्यासलाई आफैले सम्पादन गरेर १ लाख शब्दमा झारेको पनि उनले सुनाए ।
पुस्तक लोकापर्ण कार्यक्रममा बोल्दै सरुभक्तका समकालीन कवि तीर्थ श्रेष्ठले प्रतिगन्ध सरुभक्तको जीवनको अर्को महत्वपूर्ण कृति हुने ठोकुवा गरे । पुस्तक लोकार्पणपछि बोल्दै साहित्यकार तीर्थ गुरुङले फेरिएको लाहुरेको कथा बुनिएको यो उपन्यास विदेशिएका नेपालीको साझा कथा भएको बताए । ‘यो काका र मामा दुबैलाई अंकल भन्ने पुस्ताको कथा हो, यो हाम्रो कथा हो र न्यूयोर्कमा लेखिएकोले अन्तर्राष्ट्रिय कथा हो’, उनले भने,‘परिवार विघटन हुँदै गरेको र संस्कारविहीन भएको कथा पनि हो यो ।’
अर्का साहित्यकार गनेस पौडेलले सरुभक्तको प्रतिगन्ध दुस्साहसपूर्ण रुपले लेखिएको विश्वस्तरको कृति भएको बताए । उपन्यासमा जादूयी यथार्थवादको प्रयोग भएको बताउँदै उनले प्रयोगको हिसाबले सरुभक्त आफै यो कृतिमा ‘रिबर्थ’ भएको टिप्पणी गरे । सरस्वती प्रतीक्षाले प्रतिगन्ध अवसान र सुस्केराहरुको कथा भएको बताइन् ।‘ उपपन्यासमा ऐठन नै ऐठन छ, दुखाई नै दुखाई छ’, उनले भनिन्,‘ यहाँ घृणा, प्रेम, स्वार्थ सबै छ ।’
बुकहिल पब्लिकेसनबाट प्रकाशित यो उपन्यासको मूल्य ६ सय रुपैयाँ रहेको छ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पुस्तक लोकापर्ण भएको हो ।





