देशमा चानचुने हैन शक्तिशाली दुई तिहाईको सरकार सक्तामा बिराजमान छ । यतिबेला नेपालीको महान चार्ड बिजयादशमीले धपक्कै ढाकेपछि चार्ड मनाउनको लागि राजधानीबाट जिल्ला फर्कने क्रम जारी रहेको छ । एक बर्षपछि आउने चाडपर्व मनाउन घर हिडेका नेपाली दाजुभाई दिदीबहिनीहरूको यात्रा निकै सकसपुर्ण बनिरहेको छ । दशैको यात्रा गर्ने नेपालीहरू नागढुंगाको जाममा परेर निसासिन पुगेका छन् । अहिले हरेक दिन हजारौं सवारीसाधन आ–आफ्नो गन्तव्यमा हिँडिरहेका छन् । सडकको अबस्था हेर्ने होभने कुन सवारीसाधन कतिबेला गन्तव्यमा पुग्छ भन्ने कुनै ठेगान छैन ।
एकातिर दिनहुँजसो वर्षा याममा जस्तै पानी परिरहेको छ, सडक अस्तब्यस्त छ, सडकको क्षमताभन्दा बढी सामान बोकेर सवारीसाधन राजधानीमा भित्रिरहेको छ । सडकमा यस्तो सवारीसाधन हेर्ने निकाय भए पनि थोरै लेनदेनको कारणले सधैं उन्मुक्ति पाइरहेको देखिन्छ । सडक जाम भएकोले केही दिनअघि एम्बुलेन्समा उपचारको लागि राजधानीमा ल्याउदै गरेको बिरामीको समयमै उपचार नपाउँदा मृत्युु भयो । सडक बिभागले यहीँ बेला सडक बनाउन ब्यस्त देखिन्छ । ‘अघिपछि अन्त चैतमा जन्त’ भनेझै दिन रहुन्जेल मज्जासंग सुतेर बस्ने अनि दिन बितेपछि दशैको चापमा दुनियाँलाई काम देखाउन सडक टालटुल गर्ने काम मात्रै नगरेको भए पनि सडकमा सवारीसाधन चलाउन सहज हुने थियोे । अहिले हजारौं जनताले दुःख पाउनुपर्ने थिएन ।
यस्तै सकस देखेपछि गृहमन्त्री रामबहादुर थापा बादलले सरोकारवाला निकायका ब्यक्तिहरूलाई बोलाएर सबै खालको जनशक्ति परिचालन गरेर भए पनि सडक जाम नगराउन निर्देशन दिनुभएको छ । गृहमन्त्रीको निर्देशन पालना भएको खण्डमा नेपाली जनताले अहिले जुन सडकमा सकस बेहोर्नु परेको छ त्यो भने बेहोर्न पर्ने थिएन । अहिले राजधानी भित्रिने नागढुंगा सडक साँघुरो भएको कारणले पनि यात्रा गर्ने जो कोहीले पनि कष्ट बेहोर्न बाध्य छन् । नेपाली जनतालाई रेल र पानी जहाज चाहिएको छैन, भएको सडकमा भनेको समयमै पुग्न पाएमा सबैभन्दा आनन्दको अनुभुति हुने थियो । शक्तिशाली सरकार भए पनि न त सडक चुस्त दुरूस्त राख्न सकेको छैन । सवारीसाधनबाट सडक कर पनि मज्जासंग असुल गरिरहेको छ । अहिले सडक बनाउने जिम्मेवारी लिने निर्माण कम्पनीको ठेकेदारलाई केही गर्न सक्दैन, कारण बुझ्न गाह्रो छैन ? उहीँ कमिसन, चुनावमा चन्दा लगायतका धन्दा कै कारणले चुपचाप बस्न बाध्य छन् । हो अहिले त्यसको मारमा सारा दुनियाँ परिरहेका छन्, यसबारे एक शब्द पनि बोल्न चाहन्न सरकार ।
यतिबेला देशमा सरकार छ, न त प्रतिपक्ष नै सडकमा भएको एउटा जाम हटाउन नसक्ने सरकारले के बेरोजगारी हटाउन सक्छ ? जनताले प्रश्न गरिरहेका छन् । हुनतः सवारीसाधन जाम हुनुको प्रमुख कारण भनेको देशको सडकको क्षमताभन्दा दशौ गुणा बढी यातायातका साधन गुड्नु नै हो । अहिले मात्रै सरकारलाई भन्सार कर राजस्व बढाउनु परेको छ, यहीँ कारणले नै देशको सडक अस्तब्यस्त भएको हो भन्ने कुरा आइरहँदा पनि सरकारले यसबारे गम्भीर भएर सोचेको छैन । सडक सुधार कसरी गर्ने, कति समयमा गर्ने भन्ने कुनै तालिका छैन । सम्बन्धित निकाय काम नगर्ने ठेकेदारलाई कार्वाही गर्ने कुरा मात्र गर्छ तर सामान्य शोधपुछ समेत गर्न सक्दैन, अबस्था यस्तो छ ।
चीन नेपाल सम्बन्ध
मुलुकमा नेपाल कम्युनिस्ट पार्टीको शक्तिशाली सरकार भएको समयमा धमाधम नयाँ नयाँ कुरा संचारमाध्यम आइरहेको छन् । हिजो पुरै दक्षिणपन्थी धारमा ढल्कने गरेको थियोे सरकार तर अहिले भने केपी ओलीको सरकार बनेपछि भने देशको सम्बन्ध ३६० डिग्रीमा परिवर्तन भएको देखिन्छ । चीनको कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिच भाइचाराको सम्बन्ध कायम राख्न दुईवटा पार्टीबीच लिखित सहमति भएको छ । अहिले मित्र राष्ट्र चीनले आर्थिक मामिलामा ठूलो फड्को मारिसकेको मात्रै छैन बिश्वकै सबैभन्दा शक्तिशाली देश बन्ने दौडमा लागिपरेको छ । बर्तमान चीनका राष्ट्रपति सिजि पिङले ब्यक्तिगत लालसा राख्ने मान्छे कम्युनिस्ट पार्टीको सदस्य हुन सक्दैन भन्ने बिचार बोकीरहेको समयमा नेपाल कम्युनिस्ट पार्टीसंग सम्बन्ध हुनुलाई सकारात्मक रूपमा लिन जरुरी छ ।
हामीले चीनसंग सिक्नुपर्ने कुरा धेरै छन् । मन वचन र कर्मले त्यो कुरा सिक्ने अनि ब्यबहारिक रूपमा लागू गर्न सकेको खण्डमा सिकाई प्रभाबकारी हुनेछ । हैन भने ‘१२ बर्ष रामायण पढ्यो सीता कसकी जोइ’ भन्दा रावणको भनेझै हुनबेर लाग्दैन । साँच्चै कम्युनिस्ट पार्टीको सदस्य आर्थिक रूपले पारदर्शी हुन जरुरी छ, सम्पत्तिको लोभ गर्ने कम्युनिस्ट पार्टीको सदस्य हुन सक्दैन भनिरहेको समयमा नेपाल कम्युनिस्ट पार्टीका नव धनाढ्यहरूलाई चीनको शिक्षा मात्रै भालुलाई पुराणभन्दा अर्कोथोक केही पनि नलाग्न सक्छ । कम्युनिस्ट पार्टी सिद्धान्त एकातिर छ व्यवहार अर्काेतिर छ, अहिले त काशी जाने कुतीको बाटोझै भएको छ । नेपालको संबिधान २०७२ मा समाजवाद उन्मुख भनेर लेखिएको छ तर हामी अहिले नांगो पुँजीवादमा रमाइरहेका छौ । देशलाई आर्थिक रूपमा समृद्ध र जनतालाई सुखी बनाउने हो भने चीनले गरेको आर्थिक प्रगतिलाई हामीले आत्मासाथ गर्नुपर्छ । र, चिनियाँ कम्युनिष्ट पार्टीले अंगालेको नीतिलाई ब्यबहारिक रूपमा लागू गरेर देशमा सयौं उद्योगधन्दा र कलकारखाना खोल्ने, कृषिलाई बैज्ञानिकरण गरेर लाखौं युवालाई देशमै रोजगारी सृजना गने सके ठूलो उपलब्धि मान्न सकिन्छ । सरकारले देश र जनताको लागि केही गर्न सक्ने वातावरण सृजना भएको छ, यसलाई उपलब्धिको रूपमा विकास गर्न जरुरी छ । जबसम्म देश आर्थिक रूपले सम्पन्न हुँदैन तबसम्म बिदेशले नेपाल र नेपालीलाई गर्ने ब्यबहरमा कुनै परिवर्तन आउदैन, यो कुराको हेक्का राखेर काम गर्न सक्नुपर्छ ।




