बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मनाङको उच्च स्थानमा रहेको कजिन सारा तालमा महोत्सव

मनाङको उच्च स्थानमा रहेको कजिन सारा तालमा महोत्सव

तालको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गरी आन्तरिक पर्यटनमा टेवा पुराउने उदेश्य


  • ढोरपाटन संवाददाता
  • असोज १७ २०७६, शुक्रबार

मनाङ, १७ असोज – केही समयअघि मात्र पत्ता लागेको हो मनाङको ५ हजार २ मिटर उचाइमा रहेको सिंगर (कजिन सारा) ताल । यतिवेला उच्च स्थानमा रहेको सोही ताल क्षेत्रमा महोत्सव आयोजना गरिएको छ । यो ताल मनाङ सदरमुकामबाट दक्षिणपश्चिममा पर्छ।  चामेबाट २५ किलोमिटरको दूरीमा पर्ने भए पनि भौगोलिक कारण यो तालसम्म पुग्न चामेबाट तीन दिनको पैदल यात्रा तय गर्नु पर्छ। तीन दिनको कठीन यात्रा पूरा गरी मनमोहक तालमा पुगेपछि सहभागीहरू खुशीले गदगद भएका थिए।
तालको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारका लागि चामे गाउँपालिकाले ताल क्षेत्रमा महोत्सव आयोजना गरेको हो। चामे गाउँपालिकाले मनाङ जिल्लाको चिनारी र तालबारे जानकारी दिएर पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने उद्देश्यका साथ तालमै पुगेर महोत्सव आयोजना गरेको हो।
समुद्री सतहदेखि ५ हजार २ मिटर उचाइमा रहेको ताल अवलोकनका लागि र महोत्सवमा सहभागि हुन चामेका स्थानीय, आन्तरिक  पर्यटक, सुरक्षाकर्मी र सञ्चारकर्मीसहितको टोली कजिन सारा तालमा पुगेका थिए। प्राकृतिक तालको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि तालमा महोत्सवको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए। ‘भौगोलिक रूपमा विकट भए पनि मनाङ प्राकृतिक श्रोत र साधनले भरिपूर्ण जिल्ला हो। मनाङमा बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउँछन्। अनेकौँ हिमाल र हिमताल, हिमनदीको अवलोकनका लागि देश विदेशका पर्यटकको रोजाइ मनाङ हो’ अध्यक्ष घलेले भने ‘मनाङको मुख्य व्यवसाय पर्यटन नै भएकाले प्राकृतिक सम्पदाहरूको संरक्षण र प्रचार प्रसारका लागि महोत्सव आयोजना गरिएको हो।’
गत असोज १० गते चामेका आमा समूहले खादा लगाइ महोत्सवमा जान लागेका जनप्रतिनिधि, स्थानीय बासीन्दा, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई बिदा गरेका थिए। स्थानीय भाषामा यात्रा सफलताका लागि गीत गाएर उनीहरूले विदाइ गरेका थिए। महोत्सव यात्रामा १८ वर्षका युवादेखि  ७६ वर्ष उमेरका वृद्धहरूसमेत सहभागी भएका थिए। यात्राका पहिलो दिन लमजुङ हिमाल बेसक्याम्पमा र दोस्रो दिनको यात्रा यात्रा सिंगर खर्कमा पुगेर टुंगिएको थियो। तेस्रो दिन कजिन सारा तालमा पुगेर महोत्सव सम्पन्न गरिएको थियो।
असोज १० देखि १४ गतेसम्म आयोजना गरिएको महोत्सव प्रतिकूल मौसमका कारण तीन दिनमै टुंग्याइएको थियो। यात्रा आरम्भ भएकै दिनदेखि लगातार झरी परेपछि महोत्सव प्रभावित हुन पुगेको हो। यद्यपी महोत्सवले तालको प्रचारप्रसारमा टेवा पुर्‍याएको आयोजक चामे गाउँपालिकाले जनाएको छ। यसबाट नेपाल भ्रमण वर्ष र आन्तरिक भ्रमण वर्षलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष घलेले बताए।
महोत्सवमा सहभागि स्थानीय शिक्षक मिङमार लामाले महोत्सवले तालको प्रचारप्रसारमा सहयोग पुगेको प्रतिकृया दिए। ‘अब गाउँपालिकाले तालसम्म पुग्ने बाटो र ठाउँ-ठाउँमा बस्ने धर्मशालाको निर्माण गर्नुपर्छ ताकि त्यहाँ जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज होस्’ उनले भने। उनले ठाउँ-ठाउँमा बाटो र तालको बारेमा जानकारी दिन संकेत चिन्हहरूसमेत राख्न सुझाए। महोत्सवमा सहभागी भएका ७५ वर्षीयका नोर्वु लामाले आफ्नै गाउँमा ताल फेला परेपछि दंग परेको बताए। उनले आफू लामो समयसम्म सिंगर खर्कमा आउजाउ गरे पनि तालको बारेमा जानकारी नभएको भन्दै तालमार्फत चामे गाउँपालिकाले नयाँ चिनारी पाएको बताए।
चामे गाउँपालिका-५ का वडाध्यक्ष गंगा गुरूङले तालसम्म पुग्ने पदयात्रा मार्ग र पर्यटकहरूको सुविधाका लागि धर्मशालाको निर्माणमा गाउँपालिकाले ध्यान दिने बताए। महोत्सवमा चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले सिंगर खर्कमा रहेकाले तालको नाम सिंगर ताल राखिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->