मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

दशैंः उल्लास एवं उमंगको साझा पर्व

दशैंः उल्लास एवं उमंगको साझा पर्व


  • Dhorpatan News
  • असोज २१ २०७६, मंगलबार

काठमाडौं,२१ असोज – आपसी सद्भाव, एकता, उत्साह, उमंग र देश–विदेशमा भएका नेपालीलाई जोड्ने साझा पर्व हो दशैं ।

यतिबेला सर्वत्र दशैंको उल्लास छाएको छ । के गाउँ, के शहर, दशैंको रंग चढेको छ । के दुर्गम, के सुगम, दशैंको रौनक छाएको छ । कोही लिङ्गे पिङ खेलिरहेका छन्, कोही चंगा उडाइरहेका छन्, कोही मान्यजनकहाँ जादैछन्, कोही मिठोमसिना खाँदैछन्, कोही पारिवारिक जमघटमा रमाएका छन् ।
दशैं यस्तो पर्व हो, जसले नेपाली समाजलाई चलयामान बनाइदिन्छ । किनमेल गर्नेदेखि भेटघाट गर्नेसम्मको यो अपूर्व अवसर पनि हो । यसैले त दशैंसँग सामाजिक, सांस्कृतिक, आर्थिक, भावनात्मक सबै पक्ष जोडिएर आउँछ ।
दशैंको आफ्नै खास विशेषता पनि छ । यतिबेला सबैले आफ्नो घर आँगन चिरिच्याट्ट बनाउँछन् । रंगरोगन गर्छन् । गाउँघरतिर कमेरो र रातो माटोले लिपपोत गर्ने चलन पनि छ ।

दशैंमा एकसरो नयाँ लुगा फेर्नुपर्छ भन्ने मान्यता छ । यही कारण दशैंमा लत्ताकपडाको बजार उत्कर्षमा पुग्ने गर्छ ।

दशैंमा खासगरी मासुजन्य परिकार खाने गरिन्छ । यतिबेला नेपाली समाजले खसी, बोका, च्याङ्ग्रा, कुखुरा, सुँगुर, हाँस, माछा आदिको मासु अत्याधिक मात्रामा खपत गर्छ ।

दशैंमा आफन्त, इष्टमित्र भेटघाट गरिन्छ । टाढा–टाढा रहेका आफन्तहरु एकै ठाउँ भेला भएर रमाइलो गरिन्छ । मान्यजनबाट टिका थापेर आर्शिवाद लिइन्छ ।

चाहे धार्मिक कोणबाट हेरौं वा सामाजिक, दशैं एक विशिष्ठ पर्व हो ।

असोज महिनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, ब्रतसाथ मनाइन्छ, यो पर्व ।

घटस्थापनामा जमरा राखी नवमीसम्म दुर्गा सप्तासती (चन्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादको रुपमा टीका र जमरा ग्रहण गरिन्छ ।

सत्यको जीत

असत्यमाथि सत्यको जीत हुन्छ भन्ने मनो–सामाजिक सन्देश बोकेको यो पर्व बर्षदिनमा आफन्त, इष्टमित्रबीच सौहाद्र्धपूर्ण सम्बन्ध स्थापित गर्ने मेलो पनि हो । दशैंले ठूलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ । यतिबेला दुर्गा पूजा गरिन्छ । दुर्गा शक्तिको प्रतिक हो ।

कसरी मनाउने ?

माता दुर्गाको उपासना र पूजा अर्चना गरी यो पर्व मनाउने गरिन्छ । घटस्थापनादेखि सुरु हुने दशैं कोजाग्रत पूर्णिमाका दिनमा समापन हुन्छ । घटस्थापनादेखि पहिलो ९ दिनसम्म नवरात्री पूजा गरिन्छ ।

दशमी अर्थात विजयदशमीको दिन आफन्त, इष्टमित्र भेला भएर, दुर्गा पूजा गर्ने । मान्यजन तथा आफुभन्दा ठूलाबाट टीका थाप्ने, आर्शिवाद लिने गरिन्छ ।

दशैंको श्लोक

दशैंमा मान्यजनबाट टिका लगाइन्छ । यस क्रममा आर्शिवाद दिने गरिन्छ । अतः दशैंमा टिका लगाइदिइरहँदा दिइने आफ्नै श्लोक छ । उक्त श्लोकले विभिन्न पौराणिक पात्रलाई आदर्शको रुपमा उल्लेख गर्दै जीवनलाई कस्तो बनाउने भन्ने सन्देश दिन्छ ।

श्लोकको अर्थ हो, द्रोणपुत्र आश्वत्थामाको जस्तो लामो आयु, दशरथ राजको जस्तो सम्पति, रामको जस्तो शत्रु नाश, नहुष राजको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशील, दुर्यधन जस्तो मान, सूर्यपुत्र कर्ण जस्तै दानवीर, बलरामको जस्तै बल, कुन्तीपुत्र युधिष्ठरको जस्तो सत्यवाद, विदुरको जस्तो ज्ञान र भगवान नारायणको जस्तो कीर्ति प्राप्त होस् ।

टीकाको महत्व

दशैंमा मान्यजनबाट टीका थाप्ने गरिन्छ । कसैले रातो टिका लगाउँछन्, कसैले सेतो पनि । टीका लाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै रातो र सेतो शान्ति एवं समृद्धिको प्रतिक हो । यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध तुल्याउँछ ।

जमरा किन ?

टीकासँगै जमरा पनि लगाइदिने चलन छ, दर्शैमा । जमरा घटस्थापनाको दिन विधीपूर्वक राखिन्छ ।

अध्याँरो स्थान, जहाँ सूर्यको प्रकास आउँदैन त्यहाँ शुद्ध माटोमा जौं छरेर जममार उमारिन्छ । यसलाई धर्मशास्त्रमा समृद्धिको प्रतिक मानिएको छ ।

जमरा पौष्टिक खाद्यपदार्थ हो । यसमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिनहरु पाइन्छ । जमरा वा जमराको रस निकै स्वस्थ्यवद्र्धक मानिन्छ ।
अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->