बागलुङ, २१ असोज – केही बर्ष पहिले दशैं भन्दा बित्तिकै टिका जमरा र पिङको याद आउने बागलुङका गाउँहरुमा पछिल्लो समय काठे पिङ र चमच्चा देखीनै छोडेका छन् ।
बसाई सराई र बैदेशीक रोजगारीका कारण गाउँघरमा युवाहरुको जमात कम छ । दशैंं मान्नकै लागि देशका ठुला शहर र बिदेशबाट आएका युवाहरु समेत पिङ बनाउने र खेल्ने काममा चासो दिँदैनन् । सहज इन्टरनेट चल्ने ठाउँको खोजीमा देखिन्छन् । युवाहरुको अभावका कारण दशैंमा खेलिने काठेपिङ र चमच्चा हराउँदै गएका छन् ।
दशैंमा बनाईने काठे पिङको लागि आवश्यक काठ समेत पछिल्लो समय लोप हुँदै गएको छ । पहिले पहिले चमच्चाको लागि प्रयोग गरीने खिर्रोको रुखहरु अहेले घरछेउका डहर हरुमा देखिँदैनन् । खिर्रोको काठ नभए सम्म काठे पिङ बनाउन कठिन हुने बागलुङको रेशका स्थानीय युवराज शर्मा बताउनुहुन्छ । काठ मात्रै होईन पिङ बनाउने ठाउँको समेत अभाव छ । निजी जमिनमा धान कोदो फलेको छभने सार्वजनिक जमिनमा कतै सामुदायीक भवन त कतै विद्यालयका भवन बनेका छन् । बाँकी रहेका सार्वजनिक जमिनको समेत उपयोग हुन नसक्दा पिङ बनाउने ठाउँमा जंगल बनेको जैमिनी नगरपालिका–१ कुश्मीशेराका शिक्षक उमाकान्त शर्मा बताउनुहुन्छ ।
घर घरमा पुग्ने सडक बनेका कारण विगतमा जस्तो बाटोहरुमा चहलपहल, पैदलयात्रीको ओहोर दोहोर छैन भने दशैंका बेला राखिने पीङ चमच्चा खेल्नेको भीड देखापर्न छोडेका छन् । गाउँघरमा बृद्ध बृद्धा र बाल बालिका मात्रै छन् । उनिहरुले काठको प्रयोग गरे चमच्चा बनाउन सक्दैनन् । काठ बोक्न सक्ने युवा कोहि रोजगारीको शिलशिलामा बिदेशमा छन भने कोही देशै ठुला शहर छिरेका छन् । दशैंको बेलामात्रै टिका थाप्न गाउँ आउने युवाले चमच्चा बनाउन समय पाउँदैनन् ।
‘अहिले त न गाउँमा पिङ बन्छन नत दशैंको रंग’ बागलुङको काठेखोला गाउँपालिका–२ का नबिन बिकले भन्नुभयो–‘अहिलेत पिङ र चमच्चा बनाउने मैदाननै सुनसान छ, गाउँघर बिरानो जस्तो ।’
पिङ हाल्नका लागि गाउँमा बाबियो समेत पाईन छोडेको छ । दशैकोलागी पीङ हाल्नलाई वस्तु बाट जोगाएर बावियो राख्ने गरिथ्यो स्थानीय दिलबहादुर थापाले भन्नुभयोे, चमच्चाकोलागि दुई महिनादेखि तयारी गर्नुपथ्र्याे अहिले हरायो । बाबियो बाटेर पिङ बनाउने र काठ काटेर चमच्चा बनाउने सिप नयाँ पस्तामा छैन् ।
गाउँमाबसोबास गर्ने अधिकांस मानिस सहर केन्द्रीतहुँदा परम्परागत सीप समेत नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको बागलुङ जैमिनी नगरपालिका १ का कृष्ण शर्माले बताउनुभयो । शहर बजारमा पाईने यतारी पिङ बाह्रै महिना खेल्न पाईने भएका कारण नयाँ पुस्तामा पिङ र चमच्चाको मोह हराएको शर्माको अनुमान छ । ‘पहिले पहिले पिङ र चमच्चा खेल्न तँछाड मछाड हुन्थ्यो’ शर्माले भन्नुभयो–‘अहिलेत न पिङ र चमच्चा देख्न पाईन्छ नत भिडभाडनै हुन्छ ।’





