छिमेकी चीनको राष्ट्रपति सि जिपिङको दुई दिने नेपाल भ्रमण भब्य रूपमा सम्पन्न भयो । ठूलो अन्यायपूर्ण वातावरणमा भ्रमण हुन्छ कि हुँदैन भनेर चर्चा परिचर्चा बीच शक्तिशाली देशको शक्तिशाली राष्ट्रपतिको भ्रमण हुनु देशको लागि सबैभन्दा ठूलो सफलता हो भन्ने लाग्छ । नेपाल र चीनको इतिहास हेर्ने हो भने अहिले ७० बर्षको दौरानमा चीनले आर्थिक रूपमा ठूला फड्को मारिसकेको कुरा यहाँ ब्याख्या गर्न जरुरी छ जस्तो लाग्दैन । चीनका राष्ट्र प्रमुख २३ बर्षपछि नेपाल भ्रमण गरेका छन् । नेपालमा सबै तह र तप्काबाट राष्ट्रपति सि को भब्य र सभ्य रूपमा स्वागत गरियो, काठमाडौ शहर दुलहीझै सिंगारियो । हिजोको दिनमा धुलाम्मे हुने सडक रातारात कालोपत्रे गरियो । हुनुपर्ने गर्नुपर्ने सडक मर्मत सम्भारदेखि पुरै राजधानी झिलीमिली पारियो, साँच्चै राती सुतेर बिहान उठ्ने राजधानीबासीले आफ्नो वरिपरिको सडक बिहान आँखा खोलेर हेर्दा बिदेशमा छु कि भन्ने भ्रममा परेको देखियो । मनदेखि गर्ने हो भने रातारात कायापलट हुन सक्नेरहेछ भन्ने राम्रो उदाहरण दिन सफल भएको देखिन्छ ।
चीनका शक्तिशाली राष्ट्रपति सि को स्वागत र सम्मानमा राष्ट्रपति बिद्यादेबी भण्डारीले आयोजना गर्नुभएको रात्री भोजमा चीनका राष्ट्रपति सि ले दिनुभएको भाषण हाम्रो देशको लागि फलदायी छ । चीनले नेपाललाई आर्थिक रूपले समृद्ध बनाउनको लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुलाई अहिले केपी ओली सरकारको अहिलेसम्मको सफलता मान्नुपर्छ । राष्ट्रपति सिले नेपालको राजनीतिक स्थायित्व, सामाजिक सदभाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित भएको, भविश्यप्रति मेरा आशाहरु जगाएको र दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् भन्ने अभिब्यक्तिबाट नेपालले फाइदा उठाउनु पर्ने देखिन्छ । सिले नेपाललाई भूपरिवेष्टित राष्ट्रबाट भूजडित राष्ट्र बनाउन मद्दत गर्ने आश्वासन दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले दुई देशले अझ बढी बहुपक्षीय सहकार्य गर्नेछ विश्वास व्यक्त गर्नु भएको छ, यो पनि हाम्रो लागि भ्रमणको ठूलो उपलब्धि हो भन्ने लाग्छ ।
नेपालले सन् २०२० लाई पर्यटन बर्ष घोषणा देशमा २० लाख बिदेशी पर्यटक भित्र्याउने लक्ष लिइरहेको समयमा चीनका राष्ट्रपति सिले ‘भूकम्प पश्चातको पुननिर्माण परियोजनाहरुलाई सक्रियताका साथ अगाडि बढाउने, सन् २०२० नेपाल भ्रमण वर्षको अवसरमा बढीभन्दा बढी चिनियाँ पर्यटकहरुलाई नेपालमा आउन उत्प्रेरित गर्नेछौँ भन्नुभएको छ । यो अभिव्यक्तिले सरकारले राखेको लक्ष्यलाई पूरा गर्ने एउटा अर्को पाटो हो भन्ने लाग्छ । नेपाल भ्रमणका क्रमका सीले चीनमा बौद्ध धर्म मान्ने मान्छेहरुको संख्या विश्वमै सबैभन्दा बढी उल्लेख गर्दै भने, ‘बौद्ध धर्म नेपाल र भारतमा पनि धेरै चर्चित छ । मेरो विचारमा आगामी दिनमा बढीभन्दा बढी मान्छे नेपालमा पर्यटन गर्नेछन् । र, धर्मको आदानप्रदानका लागि पनि आउनेछन् ।’ सी ले लुम्बिनी भगवान बुद्धको जन्मस्थल भएको बताउनु भएर अहिलेसम्म पनि लुम्बिनी नेपालको हैन भारतको हो भनेर श्वेत भ्रम फैलाउने अर्को छिमेकी मुलुक भारतको लागि गतिलो जवाफ हो भन्ने लाग्छ ।
सिले चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्ने, अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्ने, केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्गको परियोजनालाई अगाडि बढाउने जुन प्रतिबद्धता आएको छ यो पनि अहिलेको भ्रमणको उपलब्धि हो भन्दा केही फरक पर्ने छैन । चीन नेपाल बीच बढीभन्दा बढी नाकाहरु खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माण गर्ने कुरा र नेपालको भूपरिवेष्ठित देशबाट भूजझडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्ने कुरालाई ब्यबहारिक रूपमा उतार्न सकेको खण्डमा मात्रै भ्रमण साँच्चिकै उपलब्धि मान्न सकिन्छ ।
चीनको सहयोगमा काठमाडौ कलंकी–कोटेश्वर सडक बिस्तार, पोखरामा बन्दै गरेको क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थलको काम प्रगतिलाई हेर्दा भने भबिस्यमा मित्र राष्ट्र चीनबाट नेपालले अधिकतम् फाइदा लिनसक्ने देखिन्छ । साँच्चै चीनमा विकास भएको सबै जनता, नेता र सरकार इमान्दार भएर नै हो । हामीले दुईवटा कुरामा प्रतिबद्धता जाहेर गर्ने हो भने हामीले पनि चीनको जस्तै तिब्र गतिमा विकास गर्न सक्ने छौ । एउटा इमान्दारिता र अर्को भ्रष्टाचार कसैले पनि नगर्ने हो भने समस्या केही पनि छैन । अहिले इतिहास कै शक्तिशाली कम्युनिस्ट सरकार छ, अझै ३ बर्ष यसलाई काम गर्ने मौका छ यसलाई सहि सदुपयोग गर्न सक्ने हो भने समस्या केही पनि छैन । अहिले चीनको राष्ट्रपतिको इतिहास एकपटक हामीले खोजेर पढ्न जरुरी छ । चीनको बिकास कसरी भयो आर्थिक रूपले देश कसरी समृद्ध बन्यो, अहिले कसरी बिश्वलाई चुनौती दिने अबस्थामा कसरी पुग्यो त्यो कुरा बुझ्न सक्यौं भने हामी पनि प्रधानमन्त्री केपी ओलीले भनेझै समृद्ध नेपाल सुखी नेपाली हुने दिशामा उन्मुख हुने छौ । त्यसको लागि हामीले हामीसंग भएको जनशक्ति यहीँ परिचालन गरेर कृषिमा आत्मानिर्भर बनाउन सक्यौं भने पनि अहिले भइरहेको ब्यापार घाटा कम गर्न सक्छौ जबसम्म आयात घटाउने निर्यात बढाउने काम गर्ने कार्यक्रम सरकारले बनाउन सक्दैन । तबसम्म भाषणको भरमा देश समृद्ध बन्न सक्दैन चीन बाट सिक्नुपर्ने कुरा धेरै छन् यसलाई सिकेर ब्यबहारिक रूपमा उतार्न सकेको खण्डमा हामी सफल हुनेछौ भ्रमण सफल भएको मानिने छ ।




