लोमान्थाङ, २८ असोज – हिमालपारीको जिल्ला मुस्ताङ र चीनको सिमा कोराला नाकामा अन्तराष्ट्रिय ब्यापार मेला सुरु भएको छ । १० दिनसम्म सञ्चालन हुने ब्यापार मेला २४ असोजबाट सुरु भएको हो । ४ कात्तिकसम्म सञ्चालन हुने ब्यापार मेला कोरला नाकाबाट चीनतर्फको ७ किमी भित्र धुम्बासेनमा सञ्चालन भईरहेको लोमान्थाङ प्रहरी चौकीले जनाएको छ । उपल्लो मुस्ताङका स्थानीय र चीनका धुम्बा जिल्लाका स्थानीय वासिन्दालाई प्रत्यक्ष रुपमा लाभ हुने गरी यो ब्यापार मेला बर्षमा दुईपटक सञ्चालन गरिन्छ ।
मेलामा दुवै देशका सिमापार जिल्लामा उत्पादन भएका खाद्य सामाग्री र लत्ताकपडाहरु राखिएको छ । मेलामा नेपालबाट चामल, दाल, चौरीका छुर्पी लगायतका खाधान्न धुम्बावासीले लैजान्छन भने उपल्लो मुस्ताङवासीले उताबाट च्रक्लेट, विस्कुट लगायतका दैनिक उपभोग्य वस्तुहरु ल्याउने गरेका छन । मेलामा नेपालीले उत्पादन गरेका भेडा, च्याङग्राका उनबाट बनेका पस्मिनाका सामानहरु र चीनबाट ब्लाङकेट लगायतका सामानहरु खरिद गर्ने गरेका छन । मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार यो ब्यापार मेला दुई देशिय ब्यापारिक समान आदानप्रदान गर्ने हिसावले महत्वपूर्ण मानिन्छ । यो मेलामा नेपाली पक्षले सवारी साधान खरिद गर्नलाई रोक लगाएको छ ।

तिब्बतियनले कोराला नाका हुँदै खम्बा विद्रोह गरेपछि वन्द भएको यो नाका अहिले भने बर्षको दुईपटक खुल्ने र सोही समयमा अन्तराष्ट्रिय ब्यापार मेला हुने गरेको लोमान्थाङका स्थानीयवासीले वताए । दुई देशका उच्च अधिकारीविच बार्ता भएपछि यो नाकामा बर्षको दुई पटक मेला लाग्ने गरी खुलाउने सहमती भएको प्रजिअ अर्यालले वताए । असार र भदौ गरी दुई महिना सञ्चालन ल्याउने गरी नाका खुलाएपनि यो बर्ष भने भदौ महिनामा नखुलेका कारण असोजमा अन्तराष्ट्रिय ब्यापार मेला सञ्चालन गर्ने गरी नाका खुला गरिएको हो ।
नेपाल पक्ष र चिनिया पक्षबीच तिब्बतको धुम्बासेनमा १० असोजमा १० बुँदे सहमती भएपछि ब्यापार मेला पून सञ्चालन गरिएको हो, प्रजिअ अर्यालले भने–दुवै देशका प्रशासनिक समकक्षी सहभागी बैठकले २४ असोजदेखि दोस्रो ब्यापार मेला सञ्चालन गर्ने निर्णय गरेको थियो । यो ब्यापार मेला चिनिया भूमीमा सञ्चालन हुने भएकाले त्यहाँ सहभागी भएर खरिद विक्री गर्नका लागि सिमावार जिल्ला मुस्ताङवासीका लागि नागरिकता अनिवार्य गरिएको छ भने अन्य जिल्लाबाट जानेहरुलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङले जारी गरेको सिफारिश पत्र अनिवार्य गरिएको छ ।
यी दुई प्रमाणपत्र नभएका ब्यक्ति चिनिया भन्सार कार्यालयबाट भित्र प्रवेश गर्न पाउदैनन् । सवैलाई प्रवेश कार्डको ब्यवस्था गरिएको छ । कोरला नाकामा चीनले सुविधायुक्त भन्सार कार्यालय निर्माण गरेको छ । यो नाकामा चिनियाँहरुको कडा निगरानी रहेको छ । असारमा समपन्न भएको ब्यापार मेलामा ७ लाख राजस्व संकलन भएको थियो । 





