गलकोट,२९ असोज – गलकोटमा पहिलोपटक व्यावसायिक फूलखेती सुरु गरिएको छ । स्थानीय महिलाले समूह बनाएर फूलखेती गरेका हुन् ।पहिलोपटक गरिएको फूलखेती सफल भएको समूहका सदस्य कमला थापा बोहोराले बताइन ।
महिलाहरुले अहिले एउटा प्लास्टिक टनेलमा फूल खेती गरेको छ ।मासिक एक हजारमा जग्गा भाडामा लिई सयपत्री फूल फूलखेती गरिएको समूहले जनाएको छ । ३५ हजार लगानी गरेर तिहारलाई लक्षित गरेर सयपत्री फूल उत्पादन गरेको बोहोराले बताइन ।
मौसमअनुसार अरु फूलको पनि व्यावसायिक खेती गर्ने योजना समूहको छ । फूलखेतीमा आकर्षण बढाउन गलकोट नगरपालिका–३ ले गत जेठमा १५ दिने तालीम दिएको थियो । सुर्खेतदेखि आएका प्रशिक्षकले स्थानीय १५ जनालाई फूलखेतीसम्बन्धी सीप सिकाएका थिए ।
“तालीम र अनुदानमा बीउ पाएपछि व्यावसायिक रुपमा फूलखेती शुरु ग¥र्यौँ”, समूहका सदस्य मीना श्रेष्ठले भनिन् , “फूलखेतीलाई थप विस्तार गर्छौं, गलकोटलाई फूलबाट चिनाउँछौँ ।” समूहमा आबद्ध चार महिला मिलेर व्यावसायिक ‘फार्म’ ‘गलकोट फ्लोरी कल्चर एण्ड नर्सरी’ दर्ता गर्ने तयारीमा छन् ।
चार÷पाँच रोपनी जग्गा व्यवस्थापन गरेर फूलखेती र नर्सरी व्यवसायलाई विस्तार गरिने सदस्य श्रेष्ठको भनाइ छ । सयपत्री फूल प्रतिकिलो रु दुई सय, तयारी माला रु एक सय र बिरुवा रु २० मा बेच्ने गरिएको छ । बागलुङ सदरमुकामसहित बजार क्षेत्रलाई लक्षित गरी फूलखेती गरिएको समूहले जनाएको छ ।
समूहबाट पहिलोचोटि बागलुङ कालिका भगवती मन्दिरले दश किलो फूल खरीद गरेको थियो । बागलुङमा हुने शुभकार्य र सार्वजनिक समारोहमा अहिले पनि पोखरादेखि फूल ल्याउनुपर्ने बाध्यता छ । अहिलेसम्म फूलको व्यवस्थित र व्यावसायिक खेती हुन सकेको थिएन । जिल्लाको माग धान्ने गरी उत्पादन गर्ने लक्ष्य समूहले बनाएको छ ।
खादाको सट्टा स्थानीय फूलको प्रयोग बढाउने र उद्यमशीलतामा टेवा पु¥याउने उद्देश्यले फूलखेतीमा सहयोग गरेको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । फूलखेतीसम्बन्धी तालीमका लागि गत आवमा वडाले एक लाख बजेट छुट्टाएको थियो ।
“समूहले परीक्षणस्वरुप गरेको फूलखेती सफल भएको छ”, अध्यक्ष भण्डारीले भने, “फूलखेतीलाई व्यावसायिक रुपमै विस्तारका लागि वडा थप सहयोग गर्न तयार छ ।”





